१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पर्खालले किचिएर छात्राको मृत्यु

कान्तिपुर संवाददाता

जनकपुर — तीन घण्टी पढाएर शिक्षक बब्लु पाण्डे कक्षाकोठाबाट बाहिरिए । बालविकास केन्द्रमा पढ्ने साना विद्यार्थी कोठामै थिए । पलेँटी कसेर भुइँ छुने डेस्कमा पढ्ने उनीहरू शिक्षक नभएको मौकामा खेल्न व्यस्त भए । त्यतिकैमा झ्यालतिरको पक्की पर्खाल झर्‍यो । दुई विद्यार्थी किचिए । एकको मृत्यु भयो । अर्का गम्भीर छन् । 

धनुषाको जनकनन्दी गाउँपालिका–४ स्थित काजी स्वरूपसिंह हजारी साह बौएलाल उच्च माविमा ३२ वर्षअघि निर्माण गरिएको बालविकास केन्द्रको पर्खाल बिहीबार भत्किँदा ७ वर्षीया चञ्चला सदाको मृत्यु भएको हो । ४ वर्षीय समीर साफी गम्भीर घाइते छन् । टाउकामा गहिरो चोट लागेका उनलाई उपचारका लागि विराटनगर लगिएको छ ।


विद्यालयको लापरबाहीले पर्खाल भत्किएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् । झ्यालसँगै रहेको पर्खालको ठूलो टुक्रा सदा र साफीमाथि खसेको थियो । कक्षाकोठामै अचेत भएका दुवैलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएकामा चिकित्सकले सदालाई मृत घोषित गरे । तेस्रो घण्टी पढाइ सकिएपछि अचानक पर्खाल ढलेको शिक्षक योगनारायण झाले बताए । ‘चौथो घण्टी सुरु हुनुअघि पर्खाल झर्‍यो । कक्षामा शिक्षक नहुँदा विद्यार्थीलाई जोगाउन सकिएन,’ उनले भने ।


जिल्ला शिक्षा कार्यालयको अनुदानमा बनेको ट्रस्टको कक्षाकोठामा ढोका र झ्यालबीचको पर्खाल खसेको प्रधानाध्यापक रामकिशोर यादवले बताए । ‘प्लास्टर चर्केको पनि थिएन । अचानक पर्खाल झर्दा मानवीय क्षति भयो,’ उनले भने । विद्यार्थीहरू कार्पेटमा टेबलको चारैतर्फ घेरिएर बसेको अवस्थामा पर्खाल खसेको थियो ।


प्रकाशित : कार्तिक १, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?