कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कागज बोकेको ट्रकमा कपडा !

कान्तिपुर संवाददाता

पर्सा — फोटोकपी कागज बोकेको गाडीबाट तस्करीका कपडा बरामद भएको घटनामा आन्तरिक राजस्व कार्यालय पथलैयाले थप एकजनाको नाममा ‘जरुरी पक्राउ पुर्जी’ जारी गरेको छ । 

कार्यालय प्रमुख राजनकुमार बिसीले पक्राउ पूर्जी जारी गरिएका व्यक्तिको नाम खुलाउन नचाहेको बताए । ‘हाल सम्मको अनुसन्धानपछि ती व्यक्तिलाई पक्राउ गर्नु आवश्यक देखिएको छ,’ बिसीले भने, ‘तर नाम सार्वजनिक गर्दा उनी भागेर अनुसन्धाननै प्रभावित हुने भएकाले हाललाई नाम सार्वजनिक गर्न नचाहेका हौं ।’


भदौ ११ गते सशस्त्र प्रहरीले वीरगन्जबाट ओआरएक्स २१९६ नम्बरको भारतीय गाडीलाई तस्करीको सामान रहेको आशंकामा नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको थियो । उक्त ट्रकबाट फोटोकपी पेपरभित्र लुकाएर राखिएको अवस्थामा २ दर्जन कपडाका बन्डल बरामद भएका थिए । बरामद भएका कपडामा सुटिङ, टप्स, सारी आदि रहेको बिसीले बताए ।


इन्टरनेसनल ट्रेडिङ हाउस काठमाडौं आयातकर्ता रहेको फोटोकपी पेपर बोकेको ट्रक वीरगन्ज भन्सारबाट नन्दकिशोर मल्ल मुख्य एजेन्ट रहेको बत्सल क्लियरिंग एन्ड फरवार्डिंग एजेन्सीले जाँचपास गराएको थियो । भन्सार एजेन्ट मल्लले जाँचपास गराउने मालवस्तुलाई भन्सार विभागको ‘एल्लो च्यानल’ को सुविधा दिएको छ । यो च्यानलमा रहेका भन्सार एजेन्टले भन्सार कार्यालयमा बुझाउने आयातको डकुमेन्टको भरमा भन्सार कार्यालयले मालवस्तु जाँचपास गर्ने गर्छ ।


भारतीय ट्रान्सपोर्ट एजेन्ट राकेशकुमार श्रीवास्तवले कपडा तस्करीमा प्रयोग भएको ट्रक कागज आयात उद्देश्यले उपलब्ध गराएको देखिन्छ । ट्रक धनी भारतीय नागरिक सन्जय सिंह पक्राउ परेको कार्यालय प्रमुख बिसी बताउँछन् । स्रोतका अनुसार तस्करहरूको समूह तथा शक्ति केन्द्रबाट आन्तरिक राजस्व कार्यालयलाई यो मुद्दा मिलाउन चर्को दबाब आइरहेको छ । बिसीले यस बारेमा केही बताउन चाहेनन् ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले घटना प्रकृति हेर्दा एल्लो च्यानलबाट छुटेको गाडीमा बाटोमा चालकले कपडा हालेको जस्तो देखिएको बताए । ‘भन्सार एजेन्ट मल्ल पुराना र विश्वसनीय एजेन्ट हुन्, उनको काममा आजसम्म यस्तो त्रुटि भएको हामीले पाएका छैनौं,’ महतो भन्छन् ।


प्रकाशित : आश्विन ३०, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?