१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोसीमा उच्चस्तरीय बैठक :  भारतीय पाइलट च्यानल मुख्य मुद्दा

अवधेशकुमार झा

(राजविराज) — कोसी ब्यारेजभन्दा दक्षिण भारतीय पक्षले नेपाली भूमिमा बनाएको पाइलट च्यानलले नदीको बहाब पश्चिमतर्फ मोडिन गई नेपाली भूभाग खतरामा परेको भन्दै नेपाली पक्षले भारतीय पक्षसितको छलफलमा पाइलट च्यानलको विषयलाई प्रमुखताका साथ उठाउनुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । आउँदो शुक्रबार नेपाल तथा भारतका उच्च स्तरीय प्राविधिक टोलीद्वारा कोसी क्षेत्रको निरीक्षण र संयुक्त बैठक हुने कार्यक्रम छ । 

विगतमा दुवै देशका प्राविधिकबीच हुने छलफलमा भारतीय पक्षले आफूखुसी कोसीका विषयमा निर्णय थोपार्ने गरेकाले नेपाली भूभाग डुबानमा पर्ने र सर्वसाधारण जनताको उठिवास हुने स्थिति सिर्जना भइरहेको अवस्थामा नेपाली पक्षले अब उच्चस्तरीय छलफलमा नेपाली जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको माग छ । भारतीय पक्षले ब्यारेज नजिकै रहेको भारतीय सीमाक्षेत्रका जनतालाई जोगाउन नदीको बीच भागमा पाइलट च्यानल खनी बहावलाई पश्चिम तर्फ मोडेपछि पछिल्लो दुईवर्ष पश्चिमी तटबन्ध छोएरै कोसीको बहाब भएको छ । जसका कारण पश्चिमी तटबन्ध पूर्ण रूपमा जोखिमपूर्ण बनेको छ भने सिपेजकै पानीका कारण हनुमाननगर कंकालिनी र तिलाठी कोइलाडी गाउँपालिकाका केही भूभाग डुबानमा परि सर्वसाधारणको उठिवास हुने गरेको छ ।


कोसी ब्यारेजभन्दा तल पूर्वी भागमा नजिकै भारतीय सीमा छ भने पश्चिमी भागमा ब्यारेजदेखि १८ किमिसम्म नेपाली भूभागमा तटबन्ध छ । सोही १८ किमि तटबन्धमध्ये सन १९८८ मा सप्तरीको योगिनियामा कोसीको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा ठूलो धनजनको क्षति भएको थियो । सन १९८८ मा कोसी नदीले पश्चिमी तटबन्ध सप्तरीको योगिनियामा भत्काएदेखि सन् २००० सम्म नदी पश्चिमी तटबन्ध छेउबाटै बग्दै आएको थियो । सन् २००० मा कोसी नदीले बहाव परिवर्तन गर्दे पूर्वी तटबन्ध छेउ भएर भारततर्फ सोझिएको थियो । तर, पूर्वी तटबन्ध नजिकबाट बगिरहेको कोसी नदीलाई ब्यारेजभन्दा तलको भागमा पाइलट च्यानल खन्दै नदीलाई पश्चिमी तटबन्धमा दबाब हुने गरी फर्काइएको छ ।


चार वर्ष अघिदेखि कोसी ब्यारेजको २८ नम्बर ढोका अगाडि दक्षिणी भागमा भारतीय पक्षले नदीमा पाइलट च्यानल खन्न सुरु गरेको थियो । यस वर्ष उक्त च्यानल खन्दै पानी च्यानलका माध्यमबाट निकास गर्ने देखाइए पनि अहिले कोसीको मूलधार पूरै पश्चिम तर्फ फर्किएको छ । कोसीको धारले सीधा पश्चिमी तटबन्धलाई जोखिममा पारेको कोसी पीडित समाजका अध्यक्ष देवनारायण यादवले बताए । भारतीय पक्षले नदीको प्राकृतिक बहावलाई परिवर्तन गरी नेपालतर्फ जोखिम हुनसक्ने स्थिति सिर्जना गरे पनि नेपाली अधिकारीहरू भने यस विषयमा मौन रहन नहुने यादवको भनाइ छ । ‘शुक्रबार हुने निरीक्षण र बैठकमा पाइलट च्यानलका विषयमा नेपाली पक्ष जोडदार रूपमा उभिनुपर्ने हुन्छ,’ यादवले भने ।


हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले कोसी नदीका विषयमा नेपाल र भारत दुवै देशका प्रतिनिधि र प्राविधिकहरूले पाइलट च्यानलको विषयको गम्भीरता बुझ्नुपर्ने बताए । भारततर्फ जोगाएर नेपाली भूभाग डुबानमा पार्ने काम जायज हुन नसक्ने भन्दै उनले पानीको बहावलाई पश्चिमतर्फ मोडेर कोसी योजनाका अधिकारीहरूले नेपाली भाग डुबानमा पार्न खोजेको आरोप लगाए । ‘शुक्रबारको बैठकमा पाइलट च्यानलको विषयमा भारतीय पक्षका अधिकारीलाई नेपाली पक्षका अधिकारीले प्रमुखताका साथ स्थितिको गम्भीरता बुझेर आफ्ना कुरा राख्न सक्नुपर्छ,’ मेयर साहले भने । उनले उच्चस्तरीय छलफलमा कोसी नदीको नेपालतर्फ रहेको तटबन्ध र स्परहरूको जीर्ण अवस्थाबारे गम्भीर हुन दुवै देशका अधिकारीलाई आग्रह गरे । ‘सन् १९८८ मा योगिनियामा कोसी भत्केपछि हालसम्म तटबन्धको मर्म्मत हुन सकेको छैन,’ मेयर साहले थपे, ‘मर्मतको अभावमा तटबन्ध जीर्ण छ अनि पानीको चाप पनि तटबन्धतर्फ सोझ्याएकाले वर्षामा तटबन्ध भत्किन सक्ने खतरा बढेको छ ।’ कोसीको पश्चिमी तटबन्ध भत्के १ लाख नेपाली नागरिकको उठिवास हुने मेयर साहले जानकारी दिए । तटबन्धलाई सुरक्षित बनाउन निर्माण गरिएका स्परहरू वर्षौंदेखि क्षतिग्रस्त भए पनि भारतीय कोसी योजनाका कर्मचारीले नयाँ स्पर निर्माण वा पुरानोको मर्म्मत सम्भार तर्फ कुनै ध्यान नदिएको मेयर साहले आरोप लगाए ।


कोसी सम्झौता अनुसार तटबन्ध लगायतका पूर्वाधारको निर्माण र मर्मतको जिम्मा भारतीय पक्षको हो । मेयर साहले आफूले पटक–पटक कोसी योजनाका अधिकारीलाई पश्चिमी तटबन्धको समस्या र जोखिमबारे जानकारी दिए पनि ध्यान नदिएको गुनासो गरे ।

प्रकाशित : आश्विन ३०, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?