३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तरकारी ५०० महँगियो

तराईमा उत्पान कम भएपछि व्यापारी पहाडी क्षेत्रमा     
टोलटोल पुगेर संकलन गर्नुपर्ने बाध्यता  
कान्तिपुर संवाददाता

(महोत्तरी) — चाडपर्व सुरु भएदेखि जिल्लामा हरियो तरकारीको मूल्य आकाशिएको छ । दसैंदेखि हरियो तरकारीको भाउ ५ सय प्रतिशतसम्म बढेको छ । असहज आर्पूर्ति र नजिकिँदै गएको तिहार र छठको मागलाई हेर्दा तत्कालै मूल्य घटने सम्भावना कम रहेको कारोबारी बताउँछन् । 

तरकारी ५०० महँगियो

दैनिक आवश्यक पर्ने तरकारीको अस्वाभाविक मूल्य वृद्धिले उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । तरकारीको मूल्य बढ्नुमा असोज पहिलो साता परेको अविरल वर्षालाई मूख्य कारक मानिएको छ ।


जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा वर्षाअघि किलोको १५ रुपैयाँमा बिक्री हुने भिन्डीको भाउ अहिले ८० रुपैयाँ पुगेको छ । किलोको ३० देखि ४० रुपैयाँ पर्ने तिते करेला २ सय ४० प्रति किलो भएको छ । मुठाको ५ रुपैयाँ पर्ने रायो साग १५ देखि २० रु प्रति मुठा भएको छ । मुला २० बाट बढेर ४० रुपैयाँ, ६० पर्ने बोडी सय, फर्सी ३५ बाट बढेर ९० रुपैयाँ, प्याज किलोको सय, काउली १ सय ८० र गोलभेडा १ सय २० देखि १ सय ५० र बन्दा कोवी ३५ रुपैयाँ प्रति किलो भएको छ ।


‘अचाक्ली मूल्यवृद्धिले हामीलाई नै चकित पारेको छ,’ गौशाला बजारमा तरकारीको पसल गर्दै आएकी इसाले बताइन् । महोत्तरीको गौशाला तथा वर्दिवास नगरपालिका, मटिहानीको धिरापुर, धमौरा, भंगाहाका केही वडा तरकारीका पकेट क्षेत्र हुन् । यी क्षेत्रका ८ हजार २ हेक्टरमा व्यावसायिक तरकारी खेती हुने गरेको तथ्यांक छ । जनकपुरस्थित प्रदेश कृषि मन्त्रालयअन्तर्गत खाद्य सुरक्षा प्रविधि विस्तार महाशाखाका अधिकृत मनीष पालका अनुसार वर्षाले महोत्तरीमा लगाइएको ७ सय ४२ हेक्टर तरकारी बालीमा क्षति पुर्‍याएको छ । अविरल वर्षाले उत्तरी भेगका ५ सय ७० हेक्टर क्षेत्रफलका परवल उत्पादनमासमेत ह्रास ल्याएको छ ।


लगाएको बालीमा क्षति पुगेपछि अहिले तरकारी उत्पादक कृषकसमेत किनेर खान बाध्य छन् । यसले उपभोक्ताको संख्यामा वृद्धि भएकोले पनि तरकारी मूल्य वृद्धि हुने अर्को कारण भएको स्थानीय व्यापारी बताउँछन् । स्थानीय बालीमा क्षति भएपछि बाहय जिल्लाबाट आयातित तरकारी खान उपभोक्ता बाध्य छन् ।


अहिले हिलेबाट दैनिक ६ गाडी र हेटौंडा क्षेत्रबाट १ गाडी अर्थात् करिब ५० क्विन्टल तरकारी गौशाला बजार भित्रिने गरेको व्यापारीले बताएका छन् । पहाडी भेगमा पनि पहिले झै सहजढंगमा तरकारी पाउन छाडेको हिलेबाट तरकारी आयात गर्दै आएका व्यापारी सुरेन्द्र झाले बताए ।


‘अब पहाडमा पनि सजिलै तरकारी पाउन छाडेको छ,’ झाले भने, ‘टोल टोलमा पुगेर कलेक्सन गर्नुपर्छ । यसले समय र खर्च बढेपछि थोकमै मूल्यवृद्धि भएको छ । थोक मूल्यमा थपेर खुद्रा पसलेले रेट निर्धारण गर्दा आम उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् ।’


कृषकले दोस्रोपटक लगाएको तरकारी बजारमा आउन ढिला हुने भएकाले तत्काल यसको मूल्यमा गिरावट आउने सम्भावना नरहेको गौशाला नगरपालिकास्थित कृषि सेवा कार्यालयकी प्रमुख कमला पौडेलको अनुमान छ । उनकाअनुसार गत असारको बाढीले नगर क्षेत्रका ८० बिघा क्षेत्रफलका तरकारी पूर्ण नष्ट भएको थियो । यसको असर आपूर्तिमा परेकै थियो ।


‘दोस्रोपटक लगाएको तरकारी बाली पनि क्षति भएपछि किसान र उपभोक्ता सबै मारमा परेका हुन,’ पौडेलले भनिन् ।

प्रकाशित : आश्विन ३०, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?