कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जिल्ला प्रहरी कार्यालयमा १७ जना थुनुवाद्वारा अनसन, राष्ट्रिय गान गाउँदै विरोध

अवधेशकुमार झा

राजविराज — सप्तरी प्रहरीले प्रर्दशन गर्न पाउने संविधान प्रदत्त अधिकारमाथी अंकुश लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका १७ जना थुनुवाले बुधवार बिहानदेखी अनसन सुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा १७ जना थुनुवाद्वारा अनसन, राष्ट्रिय गान गाउँदै विरोध

दुईदिन अघि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा समयमा चिकित्सक नआएको आक्रोशमा केही युवाहरुले डाक्टरको नेमप्लेट तोडफोड गरेपछि प्रहरीले राजविराज–१ का युवा गुन्जन झालाई नियन्त्रणमा लिएको थियो । गुन्जनलाई प्रहरीले पक्राउ गरेको विरोध गर्दै उनको रिहाइको मागसहित मंगलवार साँझ प्रर्दशनमा उत्रेका युवाहरु मध्ये प्रहरीले १६ जनालाई नियन्त्रणमा लियो । गुन्जन र मंगलबार पक्राउ परेका १६ जना गरी कुल १७ जनालाई नै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।


पक्राउ गरिएकाहरुले बुधबार बिहानदेखी खाना मानेका छैनन् । आफूहरुले संविधानले दिएको अधिकार प्रयोग गर्दै प्रर्दशन गर्दा प्रहरीले जबरजस्ती पक्राउ गरेको हिरासतमा रहेका दिलिपकुमार झाले बताए । पक्राउ परेका मध्ये केही दिर्घरोगी समेत छन् । उनीहरुले आफूहरुले नियमित औषधि सेवन गनुपर्ने भएपनि प्रहरी हिरासतमा त्यो सुबिधा उपलब्ध नभएको आरोप लगाए ।

मंगलबार साँझ पक्राउ गरिएकाहरुले आफूहरुलाई पक्राउ गर्नुपुर्व वा पछि पनि अदालतको आदेश नलिईएको, हिरासतमा राखेपनि पक्राउ पुर्जी नदिएको तथा विना कारण पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएकोले प्रहरी अधिकारीहरु उपर कारवाहीको माग समेत गरेका छन् ।


‘प्रहरीले ज्यादती गरेको छ, पक्राउ गरेर ल्याएदेखी गालीगलौजको सीमा छैन । हामी हिरासत भित्रै अनसनमा छौं, राष्ट्रिय गान गाउँदै प्रहरी ज्यादतीको विरोध गरिरहेका छौं,’ हिरासतमा रहेका दिलिपले भने ।


‘समयमा अस्पताल नआएर लापरवाही गर्ने चिकित्सकलाई केही नगर्ने अनि लापरवाहीका विषयमा आवाज उठाउँदा थुनिनुपर्ने, यो कस्तो न्याय हो ?’ हिरासतमा रहेका युवा गुन्जनले भने ।


निमित जिल्ला प्रहरी प्रमुख डिएसपी तिलक भारतीले अस्पतालमा तोडफोड गरेका कारण गुन्जन झालाई नियन्त्रणमा लिइएको बताए । उनले गुन्जनको रिहाईको मागसहितको प्रर्दशन उग्र हुनसक्ने सूचनाका कारण शान्तिसुरक्षा कायम गर्न अन्य १६ जनालाई पक्राउ गरिएको बताए ।


गुन्जनमाथी अभद्र व्यवहार अन्तरगत म्याद थप भईसकेको र पछि पक्राउ परेका १६ जनालाई अनुसन्धान पछि आजै छाडिने डिएसपी भारतीले बताए ।


प्रकाशित : आश्विन २९, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?