३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बिदाले राजस्व प्रभावित

कान्तिपुर संवाददाता

पर्सा — असोज महिनामा धेरै पर्व विदा परेपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको छ  । कार्यालयले शनिबारसम्ममा मासिक लक्ष्यको केवल ५३ प्रतिशत मात्र राजस्व असूली गर्न सकेको छ  ।

असोज महिनामा ४ अर्ब २० करोड रुपैयाँ असूलीको लक्ष्य पाएको यो भन्सारले शनिबारसम्ममा जम्मा २ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । असोज महिनामा जम्मा ५ दिन बाँकी रहँदा यो भन्सारले दैनिक औसत ७ करोडको दरले राजस्व असुल गरे पनि अब थप ३५ करोड मात्र राजस्व असुल गर्न सक्ने छ ।

कार्यालयका सूचना अधिकृत विकास साहले लामो विदा परेकै कारण कार्यालयको राजस्व असुलीमा कमी आएको बताए । दसैं बिदा लगत्तै असोज २२ देखि २५ सम्म दैनिक ४ देखि १२ करोडसम्म राजस्व संकलन भएको उनले बताए । ‘४/५ दिन बिदा परेकै कारण राजस्व असुलीमा गिरावट आएको हो,’ उनले भने, ‘हालकै अनुपातमा राजस्व असूली भए असोज महिनामा लक्ष्यको ६५ प्रतिशतको हाराहारीमा राजस्व संकलन हुने छ ।’

असोज महिनाभरि कुनै विशेष वस्तुको आयात नबढेको र फलाम, मदिरा, गेडागुडी आदि वस्तुहरूकै आयात नियमित रूपमा भइरहेको उनले बताए । राजस्व संकलनको दृष्टिले यो भन्सार मुलुककै उत्कृष्ट ५ भन्सारभित्रमै पर्छ । भारतको रेल सञ्जालसँग जोडिएको मुलुककै पहिलो सुक्खा बन्दरगाहमा भारतको कोलकाता, हल्दिया तथा विशाखापटनम बन्दरगाहबाट समेत तेस्रो मुलुकबाट आयातित वस्तु रेल मार्गबाट आइपुग्छ । यसबाहेक भारतको विभिन्न राज्यबाट समेत रासायनिक मल, चिनी, फलामलगायतका वस्तु आयात हुने गरेको छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?