कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

धानमा फौजी कीरा

लक्ष्मी साह

बारा — किसानलाई भदैया धान भित्र्याउनु पर्ने बेलामा फौजी कीराको प्रकोपले चिन्तित बनाएको छ  । कीराको प्रकोप निरीक्षण गर्न कृषि ज्ञान केन्द्रले दुई सदस्यीय कृषि प्राविधिक टोलीसमेत परिचालन गरेको छ  ।

‘खेतमा धान काट्न भ्याइनभ्याइ हुनुपर्ने बेलामा फौजी कीराको आतंक बढेको छ, जसले किसान सताइएका छन्,’ सिम्रौनगढ नगरपालिका–९ का सिकान रामविलास साह तेलीले भने, ‘धान उत्पादनका लागि गरेको खर्च पनि निस्किन मुस्किल छ । सबै बाला कीराले काटेर भुईंमा असरल्ल पारेको छ ।’ झुलिसकेको बालालाई उक्त कीराले काटेर तहसनहस बनाएपछि किसानलाई चिन्तित बनाएको उनको भनाइ छ । यो प्रजातिको कीराले रातारात विघाको विघा पाकेको धान बाली नोक्सान गरिरहेको उनले बताए ।

कीराले कतिपय किसानको ७५ प्रतिशत भन्दा बढी धान नोक्सान गरेको निरिक्षण टोलीमा खटेका कृषि ज्ञानकेन्द्रको बाली विकास अधिकृत राजनारायण साहले बताए । करोडौंको धानबाली नष्ट भएको अनुमान गरिएको उनले बताए । कीराले काटेर सिकानको सयौ विघाको धान सखाप गरिरहेको छ ।

किसानहरूले कृषि ज्ञान केन्द्र वा स्थानीय तहबाट प्रावधिक सहयो पाएका छैनन् । जिल्लाभरि फैलिएको यो कीराले पाकेको बाला काटेपछि किसानको उत्पादनमा कमी भई निकै नोक्सानी बेहोर्नु परिरहेको उनले बताए । यस्तो फौजी कीराको आतंक जिल्लाभरि फैलिएको छ । बाढीपछि एकाएक सुख्खा मौसम हुँदा यस्तो कीराको प्रकोप बढ्ने गरेको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरू बताउँछन् । ‘तापक्रम जति बढ्दै गयो उति यी कीराको प्रकोप बढ्छ, तापकक्रम जति घट्दै जान्छ त्यतिकै यो फौजी कीराको आतंक घट्दै जान्छ,’ कृषि ज्ञान केन्द्रका एक कृषि प्राविधिकले भने, ‘यसपालिको बाढीपछि १६ डिग्रीसेल्सियस भन्दा कम तापक्रम नभएकाले यो कीराको प्रकोप जिल्लाभरि फैलिएको हो ।’

प्रकोप यतिसम्म बढेको छ कि नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । कीराको प्रकोप बढेपछि कतिपय ठाउँका किसानहरू रातारात धान काटिइरहेका छन् । यो कीराले धानमा राती आक्रमण गरी नोक्सानी पुर्याउने गरेको छ । दिउँसो जरामुनि जमिनमा लुकेर बस्ने गरेकाले औषधि छरेर पनि नियन्त्रण गर्न अप्ठ्यारो भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवको भनाइ छ । ‘कार्यालयमा जनशक्ति अभाव भएकाले क्षतिको विवरण संकलन गर्न समस्या छ, उनले भने, ‘२/३ दिनमा विवरण आएपछि माथि मन्त्रालयमा जानकारी गराउँछौं ।’

कालो रंगको पुतली झैं रहेको उक्त कीराले एकै पल्टमा सयौंको संख्यामा लार्भा फाल्ने गरेकाले बालामा बढी नोक्सानी गरिरहेको उनले बताए । ‘फौज (आर्मी) जस्तै झुण्ड बनाएर एकै चोटी आक्रमण गर्ने गरेकाले यसलाई फौजी कीरा भनिएको हो,’ उनले भने, ‘उक्त कीराको प्रकोप जिल्लाभरि फैलिएकाले किसानलाई सताएको छ ।’ जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा १३ हजार हेक्टर क्षेत्रफलमा भदैया धान बाली लगाइएको छ । मौसममा चिसोपना नभएसम्म (तापक्रम नघटेसम्म) यो कीराको आक्रमण जारी रहने उनले बताए ।

मौसम चिसो नभए अगहनी धानमा पनि यो कीराले नोक्सानी पुर्याउने उनले बताए । १५ कठ्ठामा लगाएको राधा–४ जातको धान कीराले भसक्कै पारेको जितपुरसिमरा उपमहानगरपालिका–१८, कुस्माडीका हर्क लामाले बताए । ‘पाकेको धान कीराले सखाप पार्दा सर्वस्व गएजस्तो भएको छ,’ उनले भने, ‘बर्षभरि खाने अन्न एक दुई रातमै कीराले सखाप पारेको छ । दशैं बनाउन ब्यस्त भएका बेला कीराले बाली ध्वस्त पारेछ ।’

पाकेको धान जति सक्दो छिटो खेतबाट निकाल्नु नै अहिलेका लागि उपयुक्त हुने कृषि ज्ञान केन्द्रका अर्का कृषि प्राविधिक राजबंशी चौधरीले सुझाए । पाक्नै बाँकी रहेको बालीमा भने फलामिन वा फेनाईल प्रतिलिटर २ एमएलका दरले छरेपछि कीराको प्रभाव कम हुने उनले बताए । ‘धान काटेपछि खाली जग्गामा अर्को बाली लगाउनु पूर्व भने जोतेर डस्टवान नामक पाउडर खरानीमा मिलाएर छर्नुपर्छ । त्यसपछि पुनः जोतेर केही दिनपछि मात्रै अर्को बाली लगाउनुपर्छ ।’

प्रकाशित : आश्विन २८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?