२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

१३ वर्षदेखि बीचसडकमै पोल

गाउँपालिकाले यस वर्ष यो पोलसम्म सडक ढलानसमेत गरेको छ । ढलान गर्नुअघि पोललाई त्यहाँबाट सार्ने कामसमेत गरिएन ।
शंकर आचार्य

पर्सा — जगरनाथपुर गाउँपालिका–६, माधोपुर सडकको बीचमा १३ वर्षदेखि बिजुलीको पोल रहेको छ  । सवारीसाधन, बटुवादेखि विद्यालयका बालबालिकाका लागि जोखिम भए पनि कुनै निकायबाट सार्ने प्रयास भएको छैन  ।

१३ वर्षदेखि बीचसडकमै पोल

गाउँपालिकाले यसै वर्ष यो पोलसम्म सडक ढलानसमेत गरेको छ । सडक ढलान गर्नुअघि पोललाई त्यहाँबाट सार्ने कामसमेत गरिएन । स्थानीय श्रीराम गिरी २०६४ सालतिर विद्युतीकरणको क्रममा यहाँ पोल गाडिएको बताउँछन् । ‘त्यतिबेला विद्यालय भवन निर्माण भएको थिएन, खाली जग्गा हुँदा बाटोको चौडाइ भेउ नभएर चलनचल्तीको बाटोभन्दा पूर्वतर्फ पोल गाडिएको थियो,’ उनले भने, ‘तर विद्यालयले आफ्नो भवन निर्माण गरेपछि उक्त पोल सडकको मध्यभागमै पर्‍यो ।’

अत्यन्त जोखिमपूर्ण रहेको यो पोललाई सडक छेउ सार्न आफूहरूले झन्डै एक दशकदेखि विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्र धाए पनि पोल जहाँको त्यही उभिएको उनले गुनासो गरे । ‘प्राधिकरणमा प्रमुख फेरिएपिच्छे हामी डेलिगेसन लिएर पुग्छौं, तर पोल सार्ने आश्वासन मात्र पाउछौं, हाकिम साबहरू सरुवा भएर जानुहुन्छ, आश्वासन पनि कतै हराएर जान्छ,’ उनले भने, ‘प्राविधिक कुरो भएको र हाई भोल्टेजको तार भएकाले हामी आफैंले पोल सार्न पनि सक्दैनौं ।’

शंकरसरैया निवासी सामाजिक अभियन्ता प्रकाश थारू पोखरिया नगरपालिका हुँदै बनकटवा, बहुअरी प्रसौनी, माधोपुर, निचुटा, पटेर्वासुगौली भएर धार्मिकस्थल रामभौरीभाठासम्म पुग्ने यो बाटो जिल्लाको उत्तर–पश्चिमी भेगका दर्जन बढी गाउँलेको आवागमनको प्रमुख बाटो रहेको बताउँछन् । अत्यन्त व्यस्त यो सडक यात्रु आवागमनका लागि मात्र नभई जिल्लाको उत्तरी भेगका खोलानालाबाट बालुवा झिकेर ढुवानी गरिने प्रमुख सडक पनि हो ।

समयमै पोललाई बाटोबाट नहटाउने हो भने जुनसुकै बेला यात्रु मात्र नभई पोलकै छेउमा रहेको विद्यालयका विद्यार्थी पनि जोखिममा पर्न सक्ने उनले बताए ।जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ तत्काललाई उक्त पोलबाट कुनै जोखिम नरहेको जिकिर गर्छन् । ‘पोलबाट तत्कालै म जोखिम देख्दिन,’ उनले भने, ‘तर पोल सार्न हामी प्रयासरत छौं, छिट्टै सारिन्छ पनि होला ।’

प्रकाशित : आश्विन २८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?