३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

धान भित्र्याउन चटारो

पवन यादव

(सिमरा) — दसैं सकिएलगतै यहाँका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई छ । पाकेको धानमा समेत किराको प्रकोप देखिएपछि किसानहरू हतारमा धान काट्न थालेका हुन् । 

‘एकातिर किराले पाकेको धानको बाला काटेर नोक्सान पार्न थालेको छ,’ बारा सखुईका किसान महेश यादवले भने, ‘अर्कोतिर बेमौसमी बर्खाले भिजाएर काटेको धान बिगार्ने चिन्ता सबै किसानमा छाएको छ ।’ त्यही भएर हतार–हतार सबैले धान भित्र्याउन थालेको उनले जानकारी दिए ।


दैनिक ज्यालादारीमा मजदुर नपाएपछि मजदुरहरूको समूहलाई नै धान काट्न र दाई गर्न अधिकांश किसानले ठेक्का दिने गरेको उनले जानकारी दिए । झन्डै ५ बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गरेका यादवले धान काट्न गाउँमा अहिले मजदुर नै पाउन मुस्किल परेको गुनासो गरे । ‘दैनिक ज्यालामा धान काट्न लगाउँदा सस्तो पर्छ,’ उनले थपे, ‘तर मजदुर नपाउने समस्याले ठेक्कामा दिन बाध्य हुनु परेको छ ।’


सोही ठाउँमै १४ कठ्ठामा धान खेती गरेका अर्का किसान विनोद यादवले अहिलेको खेती मजदुर अभावले धेरै महँगो पर्न थालेको बताए । ‘दैनिक ज्यालामा काम गर्ने मजदुर पाइँदैनन्,’ उनले भने, ‘तर ठेक्कामा दिने भनेपछि तिनै मजदुर आफ्नो हिसाबले ठेक्का सकार गरी छिटो काम गर्छन् ।’ ठेक्कामा लिएपछि चाँडै काम सकिदिन्छन् । ज्यालामा दिएपछि धेरै समय लगाउने गरेको उनले बताए ।


धान खेती सिँचाइ अभावमा अहिले बिस्तारै घट्दै गएको उनले बताए । ‘भूमिगत सिँचाइको सुविधा भएकाले मात्र धाने खेती गरिरहेका छन्,’ उनले भने, ‘सिँचाइ सुविधा नभएको खेतमा यो बाली लाउने चलन हट्दै गएको छ ।’ पहिला नदीमा पानी आउँदा अधिकांशले वर्षमा दुई बाली धान उमार्थे । अहिले मजदुर समस्या, सिँचाइ अभावमा धान खेती घटदै गएको किसानले बताए । चुरे क्षेत्रको विनाशसँगै नदीहरूको मुहान सुक्न थालेको र नदीमा थोरै पानी आए पनि उद्योगहरूले नदीमै फोहोर पानी हालेपछि सिँचाइ सुविधा गुमेको किसानहरूको भनाइ छ ।


दैनिक ज्यालामा काम गर्दा आफूहरूलाई घाटा लाग्ने भएकाले ठेक्कामा काम लिएर गर्नुपरेको धान काट्न ठेक्का लिएका मजदुर हरेन्द्र कुर्मीले बताए ।


‘दैनिक ज्यालामा काम गर्दा ५ किलो धान ज्याला पाउँछौं,’ उनले भने, ‘त्यसले परिवार चलाउन मुस्किल पर्छ ।’ ठेक्कामा लिएपछि एउटा मजदुरको भागमा झन्डै २५ किलो (पाँच पसेरी) धान आम्दानी हुन्छ । त्यसैले महंगाईको सामना गर्न र परिवारलाई खान लाउन पुग्ने गरी आम्दानी गर्न ठेक्कामा लिएर धान काट्नु परेको जिकिर गरे । सबै क्षेत्रको मनजदुरको ज्याला बढे पनि हाम्रो ज्यालामा त्यसो नभएपछि ठेक्का विधिलाई कार्यान्वयन गर्नुपरेको अर्का

मजदुर फागु महतो धानुकले बताए ।


‘बढ्दो प्रविधिको प्रयोगले हामी निरक्षर मजदुरको रोजगारी समेत गुम्दै गएको छ,’ उनले भने, ‘किसानी मजदुरको काम घटे पनि थौरै कामबाट कामचलाउ आम्दानीका लागि ठेक्कामा काम गर्न मजदुरका लागि फलदायी सावित भएको छ ।’ धान काट्न मजदुरलाई पूरै घाममा शरीर जलाएर काम गर्नुपर्छ । धेरै मजदुर घाम सह्न नसकेर बिरामी पनि पर्छन् । त्यसैले धान काट्न मजदुर अभाव रहने गरेको उनको ठम्याइ छ ।


सिँचाइ समस्या र मजदुर अभावका कारण धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ । किसानले लगाएको धानको उत्पादन बढाउन नसकिएको र भएको उत्पादन अनुसार लगानी नउठ्ने भएपछि सबभन्दा बढी खेत धनी किसान मारमा परेको किसानको भनाइ छ ।


प्रकाशित : आश्विन २६, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?