कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बढ्यो पटकाको चोरीपैठारी

कान्तिपुर संवाददाता

(महोत्तरी) — चाडपर्व सुरु भएसँगै चोर नाकाबाट प्रतिबन्धित पटका भित्रिने क्रम बढेको छ । तर, सुरक्षाकर्मीको कडा निगरानीले पटका बरामद पनि बढेको छ । 

दसैं–तिहारका बेला पटकाको तस्करी तीव्र बन्छ । सुरक्षा निकायले दिनहुँजसो विविध खाले पटका बरामद गर्न थालेको छ ।


भन्सार नाका भिट्ठामोडस्थित सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मले मटिहानी र जलेश्वरस्थित लचकाबाट ठूलो परिमाणका पटका बरामद गरेको छ ।


गुल्मका डीएसपी विष्णु धितालका अनुसार बरामद पटकामा कलर बम, हुमन बम, सिलभर क्र्याकलिङ सट, रकेट बम, कमान्डो बम, नागिन क्र्याकरलगायत २३ प्रकारका २ सय ४७ थान पटका छन् । बेवी पेस्तोल नै १ सय ३८ थान पक्राउ परेका छन् । बरामदमध्ये कतिपय त अनौठा नाम गरेका पटकासमेत रहेको धितालले जनाए । लुनिक एक्सप्रेस रकेट, क्लासिक टुइङक्लिङ स्टार, हाइड्रो फोइल्सजस्ता नामका पटका त पहिलोपटक देखिएको उनले बताए ।


पटका तिहार, छठ, सामाचकेवाजस्ता पर्वमा रमाइलोका लागि पड्काउने चलन छ । यो पटक भने दसैंअघि नै पटका पक्राउ पर्न थालेका घटनाले सुरक्षा निकायलाई चकित बनाएको छ । सशस्त्र प्रहरीका डीएसपी धितालका अनुसार पटका साउनदेखि नै पक्राउ पर्न थालेका हुन् । भारत झारखण्डको बाबाधाम पुगेर फर्किएका तीर्थयात्री चढेको गाडीबाट सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मले साउन २१ गते दर्जन प्रकारका ५० हजार मूल्यका पटका बरामद गरेको थियो ।


पर्व लगेपछि जाँच कडा हुने भएकाले तस्करले मौका छोप्न अगाडिदेखि नै पटकाको ओसारपसार सुरु गरेको प्रहरीको अनुमान छ । अहिलेसम्म महोत्तरीमा सशस्त्र र नेपाल प्रहरीले ४ लाख रुपैयाँभन्दा बढीको पटका बरामद गरिसकेका छन् । सशस्त्र र नेपाल प्रहरीले बरामद गरेकामध्ये सबैभन्दा बढी नागिन पटका छन् । त्यस्तै, राकेट बम, मुर्गा छाप पटका, अशोक स्पार्क, ककटेल कलर, फलावर पोर्टलगायत विभिन्न नाम र ब्रान्डका पटका फेला परेका छन् ।


ठूलो आवाजसाथ विस्फोट हुने पटकाकाले मानव स्वास्थमा हानी पुर्‍याउने, गाउँ–समाजमा आतंक सिर्जना गर्ने, आपराधिक गतिविधिमा प्रयोग हुने र धनजनमा क्षति पुग्ने भएकाले नेपालमा पटका आयात, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।


प्रकाशित : आश्विन २६, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?