संस्कृति सिकाउन विद्यालयमै टीका

कान्तिपुर संवाददाता

(रौतहट) — बालबालिकालाई दसैं, तिहार तथा छठ पर्वबारे जानकारी गराउने उद्देश्यले यहाँको एक विद्यालयले विद्यार्थीलाई टीका लगाइदिने कार्यक्रमको आयोजना गरेको छ । टीका लगाएपछि अग्रजहरूले पर्वको सांस्कृतिक पक्षबारे विद्यार्थीलाई जानकारी गराए । 

संस्कृति सिकाउन विद्यालयमै टीका

चन्द्रपुर–६ को बाल निकेतन माविले शनिबार विद्यार्थीलाई टीका कार्यक्रम गरेको हो । दोस्रो त्रैमासिक परीक्षाको अन्तिम दिन पारेर विभिन्न सामाजिक अगुवाका हातबाट टीका लगाइएको थियो । छठ पर्वसम्म विद्यालय बिदा हुने हुँदा विद्यार्थीलाई चाडपर्वको महत्त्व र यसको सांस्कृतिक पक्षबारे जानकारी दिन पहिलो पटक यस्तो कार्यक्रम राखिएको विद्यालयका कार्यकारी निर्देशक दीपक रेग्मीले बताए ।


‘विद्यार्थीलाई सानै उमेरबाट आफ्नो मौलिक संस्कृतिबारे जानकारी गराउनाले यसको संरक्षण र विकासमा टेवा पुग्छ,’ उनले भने, ‘जिल्लामा पहिलो पटक बालबालिकालाई सामूहिक टीका लगाउने कार्यक्रमको थालनी गरेका छौं ।’

नगरपालिकाका उपप्रमुख रामरत्ति चौधरीले पनि बालबालिकालाई टीका लगाइदिएकी थिइन् । पत्रकार, नेपाली सेनालगायतले टीका लगाइदिएका थिए । दसैंमा आफन्तको हातबाट सदैव टीका लगाउने गरेकोमा यसपालि विद्यालयमा शिक्षक तथा अग्रजको हातबाट आशीर्वाद थाप्न पाउँदा निकै खुसी लागेको कक्षा ६ का छात्र कौशल धितालले बताए । ‘घरमा प्रतेक दसैंमा अभिभावकको हातबाट टीका लगाउँछौं,’ उनले भने, ‘यसपालि गुरु र अग्रजहरूबाट टीका थाप्ने अवसर मिल्यो । निकै खुसी लागेको छ ।’


सबै साथीहरू एक ठाउँमा जम्मा भएर टीका लाउँदा रमाइलो भएको र आफ्नो संस्कृतिबारे धेरै कुरा सिक्न पाएकोमा विद्यार्थीले खुसी व्यक्त गरे । सामूहिक टीका लगाउँदा अन्य समयभन्दा बेग्लै अनुभव भएको र आपसी मेलमिलाप बढ्ने उनीहरूको भनाइ थियो । सामूहिक टीका लगाएर सबै विद्यार्थीहरू समान रहेको सन्देश दिने प्रयास गरिएको विद्यालयका सामाजिक शिक्षक श्याम कार्कीले बताए ।


‘बालबालिकालाई प्रमुख चाड दसैं, तिहार र छठको महत्त्वबारे जानकारी दिँदै यसलाई कसरी सभ्य तथा मौलिक ढंगबाट मनाउने भन्ने सिकाएका छौं,’ उनले भने, ‘समाजका अग्रजबाट विद्यार्थीले प्रेरणा पाउने र केही नयाँ कुराहरू सिक्न पाउँछन् ।’

प्रकाशित : आश्विन १९, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?