कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रयोगमा नआउँदै भासियो कालोपत्रे

वीरगन्ज बस टर्मिनल सञ्चालनका लागि ठेकेदारले सरसफाई गर्ने क्रममा कालोपत्रे उप्केको र भाँसिएको पाइएको हो
भूषण यादव

वीरगन्ज — वीरगन्जमा हालै निर्माण भएको बस टर्मिनलको कालेपत्रे भासिएको छ  । बसमा यात्रु चढाउने/ओराल्ने क्षेत्रमा कालोपत्रे भासिएको हो  ।

प्रयोगमा नआउँदै भासियो कालोपत्रे

बस टर्मिनल सञ्चालनका लागि ठेकेदारले सरसफाइ गर्ने क्रममा कालोपत्रे उप्केको र भासिएको थियो । असोज पहिलो साता महानगरपालिका कार्यालयले सार्वजनिक निजी साझेदारीअन्तर्गत एनके इन्टरनेसनललाई ५ वर्षका लागि ७ करोड ५० लाख रुपैयाँमा बस टर्मिनल सञ्चालनका लागि सम्झौता गरेको थियो ।

‘ठेक्का परेपछि सञ्चालनका लागि सरसफाइ गरिंदैथियो,’ एनके इन्टरनेसनलका निर्देशक केशव नेपालले भने, ‘प्रयोगमा नआउँदै यात्रु चढाउने/ओराल्ने क्षेत्रको कालोपत्रे ठाउँ/ठाउँमा भासिएको पाइयो ।’

नेपालका अनुसार बस टर्मिनलको नवनिर्मित भवनमा समेत समस्या देखिएका छन् । ‘छतमा जम्मा भएको वर्षातको पानीको निकास निकालिएको छैन,’ उनले भने, ‘ट्यांकीमा पानी भर्ने पाइप जडान गरिएको छैन, पानी बाहिरिने पाइप मात्र छ । अन्य दुईवटा ट्यांकीमा पाइप जडान गरिएको छैन ।’ नाला सफा नगरी ढक्कन लगाइएको छ, जसले गर्दा ढलको पानी ‘ओभर फ्लो’ भइरहेको छ । ‘बिजुली जडानमा समेत कैफियत छ,’ उनले भने, ‘मोज्याक र टाइल्सको ‘फिनिसिङ’ समेत गरिएको छैन ।’

गत भदौ १० मा उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतले बस टर्मिनलको उद्घाटन गरेका थिए । १५ करोड ७० लाख ८६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको बस टर्मिनलको ठेक्का आशिष/पप्पु/रोशन जेभीले पाएका थिए । २ वर्षभित्र निर्माण गर्ने गरि २०७१ माघ २२ मा सम्झौता भए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ । ९० प्रतिशत सफ लोन, साढे ७ प्रतिशत सरकारी अनुदान र दुई दशमलव पाँच प्रतिशत महानगरपालिकाको म्याचिङ फन्डबाट ५ बिघा ५ कट्ठामा बस टर्मिनल निर्माण भएको हो ।

बस टर्मिनल निर्माणका लागि १९ करोड ८ लाख ९५ हजार रुपैयाँ इस्टिमेट गरिएको थियो । ठेकेदार कम्पनीले १७ करोड ७३ लाख ५० हजार रुपैयाँमा ठेक्का सकार गरे पनि १५ करोड ७० लाख ८६ हजार मात्र खर्च भएको महानगरपालिकाले जनाएको छ ।

बस टर्मिनल प्रयोगमा नआउँदै पिच भासिएको र भवनमा समेत विभिन्न कैफियत देखिएपछि के आधारमा ठेकेदारलाई भुक्तानी गरियो भन्ने विषयमा महानगरवासीले चासो लिएका छन् । वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईंले बस टर्मिनल निर्माणमा भएको अनियमितताबारे छानबिन गर्नुपर्ने बताए ।

महानगरपालिकाको योजना शाखाका इन्जिनियर कुमारकान्त झाका अनुसार कन्सल्ट्यान्टले बिल पेस गरेपछि भुक्तानी दिने हो । ‘कन्सल्ट्यान्ट २४ औँ घन्टा निर्माणस्थलमै हुन्छ,’ उनले भने, ‘उसैले फाइनल गरेको बिलको आधारमा भुक्तानी गरिन्छ ।’ झाका अनुसार बस टर्मिनल निर्माण भएको क्षेत्र पहिले दलदल थियो । ‘दलदल क्षेत्र भएकाले ठेकेदारले कटिङ गरेर नयाँ माटो फिलिङ गर्नुपर्थ्यो,’ उनले भने, ‘बेस राम्रो नभएकाले पिच भासिएको हो ।’ यस अघि ठेकेदारलाई पटकपटक भन्दा पनि भवनको छतको काम गरेनन् ।

महानगरपालिकाले २ दिन अगाडि योजनाका कन्सल्ट्यान्ट र ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर स्थलगत अनुगमन गरेको थियो । ‘हस्तान्तरण गरेको एक वर्ष भित्रसम्म योजनाको मर्मत सम्भारको जिम्मेवारी ठेकेदार कम्पनीकै हुन्छ,’ इन्जिनियर झाले भने, ‘यथाशीघ्र मर्मत गर्न निर्देशन दिएका छौँ ।’

ठेकेदारले बस टर्मिनल हस्तान्तरण गरेको झन्डै ८ महिनापछि महानगरपालिकाले गत भदौमा उद्घाटन गरेको हो । ‘पैसा भुक्तानीका लागि ठेकेदारले गत पुसमै बस टर्मिनल हस्तान्तरणको कागजात बुझाएको थियो,’ नाम उल्लेख नगर्ने सर्तमा महानगरका एक अधिकृतले भने, ‘मर्मत सम्भारको अवधि अब तीन महिना मात्र बाँकी छ ।’ महानगरपालिकाले सितारा कन्सल्ट्यान्टलाई बस टर्मिनलको कन्सल्टयान्ट नियुक्त गरेको थियो ।

कन्सल्ट्यान्टका इन्जिनियर अमित श्रीवास्तवका अनुसार वर्षातमा पानी जमेकाले पिच भासिएको हो । ‘पानी जम्यो,’ उनले भने, ‘महानगरपालिकाको निर्देशन दिएबमोजिम मर्मत सम्भारका लागि ठेकेदार कम्पनीलाई भनेका छौँ ।’ मर्मत सम्भार नगरे निर्माण कम्पनीले राखेको करिब डेढ करोड धरौटी रकम फिर्ता नगर्ने महानगरपालिकाले जनाएको छ ।

मुख्य भवन भएको बस टर्मिनलमा ५५ वटा सटर, रेस्टुरेन्ट, यात्रु प्रतीक्षालय, चालकलाई आराम कक्ष र प्राथमिक स्वास्थ्य कक्षको पनि व्यवस्था छ । लामो दूरीका ५९ बसका साथै ट्याक्सी, लोकल बस, मिनी बस, रिक्सा, मोटरसाइकलको छट्टाछुट्टै पार्किङको व्यवस्था गरिएको छ । बैंक एटीएम, सैलुन र ब्युटीपार्लरको समेत सुविधा रहने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?