कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

डायलाइसिस कक्षमै २ मेसिन थन्किए

शंकर आचार्य

पर्सा — नारायणी अस्पतालको डायलाइसिस कक्षमा ९ मध्ये ७ मेसिन मात्र प्रयोगमा छन्  । बाँकी दुई मेसिन थन्किएको थन्कियै छन्  ।

एक वर्षअघि साँघुरो कक्षको कारण त्यहाँ २ वटा मेशिन मात्र सन्चालन भएका थिए । गत बर्षको भदौको तेश्रो सातादेखि साबिकको आइसियु कक्षमा डायलाइसिस कक्ष सन्चालन गर्न थालिएको हो । तर नया कक्षमा पनि सबै डायलसिन मेशिन सन्चालन गर्नका लागि पर्याप्त हुन सकेको छैन ।

आईसीयू कक्ष हाल इमर्जेन्सी कक्षको माथिल्लो तल्लामा नवनिर्मित भवनमा सञ्चालनमा रहेको छ । डायलाइसिस कक्षकी इन्चार्ज स्टाफ नर्स ज्योति गुप्ता बाँकी रहेका २ वटा डायलाइसिस मेसिन प्रयोगमा ल्याउन हालको कक्ष पनि सानो भएको बताउँछिन । ‘हामीलाई अझै पनि आवश्यक आकारको कक्षको अभाव छ,’ उनले भनिन, ‘२ वटा मेसिन चलाउन सकेका छैनौं, दुबै मेसिनको नियमित सरसफाइ गरेर राखेका छौं ।’

कुल ९ मध्ये २ दाताले र बाँकी सरकारले उपलब्ध गराएको मेसिन हो । एकै साथ ७ मेसिन सञ्चालनमा आएपछि विगतको जस्तो डायलाइसिसका लागि आउने बिरामीले उपचारका लागि प्रतीक्षा गर्नुपर्ने बाध्यताको भने अन्त्य भएको गुप्ता दाबी गर्छिन् ।

‘विगतमा मेसिन कम हुँदा बिरामीले लामो समय उपचारका लागि कुर्नुपर्थ्यो, अहिले त्यो स्थिति छैन,’ उनले भनिन्, ‘दैनिक १४ बिरामीको उपचार गरिरहेका छौं, हाल नियमित उपचारका लागि आउने बिरामी ४० छन, अहिले प्रतीक्षामा बस्ने बिरामीको संख्या ८ देखि १० मात्र छ ।’

बाँकी रहेका २ मेसिन पनि सञ्चालनमा आए कुनै बिरामीले पनि उपचारका लागि प्रतीक्षा गर्न नपर्ने स्थिति आउने उनले बताइन् । हाल एक बिरामीलाई ३ देखि साढे ३ घण्टाको सेसनमा डायलाइसिस गरिन्छ । २०७१ असोज १३ बाट यो अस्पतालमा डायलाइसिस सेवा सुरु गरिएको हो । उपचार गराउन आउने अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका हुने गरेका छन् । बिरामीमध्ये महिलाको तुलनामा पुरुष बढी हुने गरेका छन् ।

बिरामी ३० देखि ८५ वर्ष उमेरसम्मका हुने गरेका छन् । बिरामीलाई सरकारले निःशुल्क उपचार सेवा उपलब्ध गराउँछ । तराईका सरकारी अस्पतालमध्ये वीरगन्जपछि भरतपुर र जनकपुरमा मात्र डायलाइसिस सुविधा उपलब्ध रहेको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?