कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेलबाट स्क्रयाब संकलन

कान्तिपुर संवाददाता

पर्सा — सिर्सिया सुक्खा बन्दरगाहमा आउने मालवाहक रेलबाट स्थानीय महिला तथा बालबालिकाले जोखिमपूर्ण रूपमा स्क्रयाब संकलन गर्दा जुनसुकै बेला दुर्घटनाको सम्भावना रहेको छ  । गुडिरहेको मालवाहक रेलबाट महिला तथा बालबालिकाले जोखिमपूर्ण रुपमा काठ र फलामका पाता संकलन गर्छन्  ।

उनीहरू रेलमा चढेर स्क्रयाब भुइँमा फाल्ने र पुनः आफू पनि हाम फाल्ने गरेकाले दुर्घटनाको सम्भावना बढेको हो ।

भारतबाट फलाम उद्योगका कच्चा पदार्थ बोकेर आउने रेल्वे र्‍याकमा कच्चा पदार्थलाई सुरक्षित रुपमा राख्न फलाम र काठको प्रयोग गरिएको हुन्छ । नियम अनुसार त्यस्ता सामग्री आयातकर्ताले नै लग्नु पर्नेमा उनीहरूले त्यसलाई झन्झट मानेर लग्दैनन् । त्यस्ता सामग्री ठूलो परिमाणमा रेलमै फिर्ता जान्छन् । स्थानीय सिर्सिया खल्वाटोलाबासी महिला र बालबालिका काठ र फलामका पाता संकलन गरेर बिक्री गर्ने गर्छन । उनीहरू रेल बन्दरगाहबाट बाहिरिएलगत्तै रेलमा चढ्ने गर्छन् ।

बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरी पछिल्लो केही महिना यता यसरी जोखिमपूर्वक महिला तथा बालबालिका रेलमा चढेर स्क्रयाब संकलन गर्ने प्रवृत्ति झनै बढ्दो क्रममा रहेको बताउँछन् ।

‘यो समस्या बढ्दो छ, रेल बन्दरगाहबाट बाहिरिएलगत्तै स्थानीयको ठूलो झुन्ड गुडिरहेको रेलमा चढ्छन्, कतिपय स्थानीय बन्दरगाह परिसरको कम्पाउन्डवाल नै नाघेर भित्र छिर्न खोज्छन्,’ उनले भने, ‘समयमै यो समस्या नियन्त्रण भएन भने जुनसुकै बेला दुर्घटना हुन सक्छ ।’

बन्दरगाहस्थित इन्टरमोडल यातायात विकास समितिका प्रमुख हेमेन्द्रमोहन शाहीले आफूले पनि यो समस्या बढ्दै गएको अनुभव गरेको बताए । ‘पछिल्लो समय यो समस्या झनै बढ्दै गएको छ, यो अराजकता हो, यसलाई समयमै नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘मैले यो समस्याबारे हिमालयन टर्मिनल्सका प्रमुख र सशस्त्र प्रहरीका इकाई प्रमुखलाई पनि भनेको छु ।’

बन्दरगाहस्थित सशस्त्र प्रहरीको इकाई प्रमुख प्रहरी निरीक्षक गान्डिवराज स्याङतानले यो समस्या बेलाबेलामा देखिए पनि विकराल रूप भने लिई नसकेको दाबी गरे । ‘बेलाबेलामा स्थानीयले काठ संकलन गर्ने प्रयास गर्छन्,’ उनले भने, ‘हामी सक्दो रोक्ने प्रयास गर्छौ ।’

प्रकाशित : आश्विन १८, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?