२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राजमार्गका बसमा प्रहरी गस्ती

कान्तिपुर संवाददाता

सर्लाही — चाडका बेला सुरक्षा चुनौती रहेकाले सर्लाहीको राजमार्ग क्षेत्रमा प्रहरीले गस्ती बढाएको छ । रात्रिकालीन समयमा यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्‍याउनका लागि प्रहरीले गस्ती बढाएको हो । सर्लाहीस्थित पूर्व–पश्चिम राजमार्गका केही भाग जंगल क्षेत्र रहेकाले प्रहरीले मोबाइल गस्तीसहित राति सार्वजनिक बसमा समेत गस्ती गर्न सुरु गरेको छ ।

दसैं सुरु भएसँगै प्रहरीले राजमार्गलाई विशेष निगरानी बढाएपछि यात्रुहरू सुरक्षित तरिकाले गन्तव्यमा पुगिरहेका छन् । दुई वर्षअघि दसैंका बेला काठमाडौंबाट छुटेका एक यात्रुवाहक बसलाई हतियारधारी समूहले नियन्त्रणमा लिई जंगलभित्र लगेर लुटपाट गरेका थिए । त्यस्तो घटना नदोहोरिन प्रहरीले सार्वजनिक बसमा गस्ती बढाउँदै सजगता अपनाएको हो ।

चाडबाडका बेला राजमार्ग तथा जंगल क्षेत्रमा प्रहरीको उपस्थितिले यात्रा सुरक्षित बनेको यात्रुको भनाइ छ । यसअघि रात्रिकालीन समयमा सर्लाहीको राजमार्ग असुरक्षित बनेको थियो । चाडबाडका बेला रात्रिकालीन समयमा यात्रुहरू डर र त्रासमा यात्रा गर्न बाध्य थिए ।


बुधबार रात्रिबसमा जनकपुरबाट काठमाडौं जाँदै गरेको रोशन साह सर्लाहीको बाँके जंगलमा आइपुगेपछि डरले थर्कमान बनेका थिए । साह मात्र हैन बसमा सवार सबै यात्रु लुटपाट हुने हो कि भन्ने त्रासमा यात्रा गरिरहेका थिए । तर जंगलभित्र केही पर पुग्दा सशस्त्र प्रहरीको एक टोली बसमा चढेपछि आफूहरू ढुक्क बनेको साहले बताए । बर्दी र हतियारसहित प्रहरी बसमै चढेपछि कतिपय यात्रु निदाएको साहले बताए ।

‘सर्लाहीको बाँके जंगलमा पहिलादेखि नै आपराधिक क्रियाकलाप हुने गरेको सुन्दै आएको थिएँ, कुनै वर्ष चाडबाडकै समयमा हतियारधारी समूहले लुटपाटसमेत गरेको थियो,’ साहले भने, ‘तर अहिले सर्लाहीको राजमार्ग पूर्णरूपमा प्रहरीको नियन्त्रणमा छ, प्रहरीको उपस्थितिले हामी ढुक्क भएर यात्रा गर्दैछौं ।’

राजमार्गमा प्रहरीको बाक्लो उपस्थिति भएपछि यातायातका साधन रात्रिकालीन समयमा निर्बाधरूपमा चल्ने गरेको छ । राजमार्ग र जंगल क्षेत्रमा चालक पनि निर्धक्क रूपमा यातायातका साधन चलाउने गरेका छन् । यसभन्दा अघिका वर्षमा राजमार्गमा प्रहरीको सक्रियता कम भएका बेला समूह बनाएर मात्र गाडी चलाउनुपरेको चालकले बताए । तर यसवर्ष त्यस्तो बाध्यताको अन्त्य भएको जनकपुरबाट काठमाडौं जाँदै गरेको ना५ख ३०९८ नम्बरको यात्रुवाहक बसका सहचालक रासनन्दन भण्डारीले बताए ।

‘पहिलाका वर्षमा प्रहरीको उपस्थिति कम भएका बेला जंगल क्षेत्र कटाउन निकै कठिन हुन्थ्यो, हरिवन तथा लालबन्दी बजारमा बस रोकेर समूहमा जम्मा भएपछि मात्र बाँके जंगल पार गर्ने गरेको थिएँ तर अब त्यो बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘राजमार्गमा प्रहरीको उपस्थितिले हाम्रो तथा यात्रुको यात्रा सुरक्षित बनेको छ ।’ राजमार्गको जंगल क्षेत्रमा प्रहरीले विशेष निगरानी बढाएको छ । आपराधिक किसिमको गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र आवश्यक परे गोलीसमेत प्रहार गर्न सक्ने आदेश पाएको छ ।


जिल्लाका सुरक्षा अधिकारीहरूले चाडबाडका बेला राजमार्गमा घटना घट्नै नदिने योजना बनाएका छन् । चाडबाडका वेला राजमार्गमा कुनै अप्रिय घटना नघटोस् त्यसका लागि मोबाइल गस्ती र सार्वजनिक बसमा प्रहरीले गस्ती गरिरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए ।

उनले सार्वजनिक बसमै चढेर गस्ती गर्न केही टोली नै बनाएर यात्रुलाई सुरक्षा प्रदान गरिरहेको जानकारी दिए । यात्रु बोकेको बसमा चढेको प्रहरीको गस्ती टोलीले राजमार्ग र जंगलक्षेत्र कटाएपछि फेरि फर्कने गरेको प्रहरीले जनाएको छ । चाडबाडमा घर हिंडेका यात्रु कुनै पनि बहानमा पीडा खेप्नु नपरोस् भनेर राजमार्गमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

प्रकाशित : आश्विन १७, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?