१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हुलाकी सडक निर्माण सुस्त

भूषण यादव

वीरगन्ज — वीरगन्ज–ठोरी हुलाकी सडकको निर्माण सुस्त गतिमा भइरहेको छ । २२ महिना अगाडि सम्झौता भई निर्माण सुरु भएकोमा हालसम्म ६० प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा करिब २३ प्रतिशत मात्र निर्माण भएको हुलाकी सडक आयोजनाको वीरगन्ज कार्यालयले जनाएको छ । ६० किलोमिटरको वीरगन्ज–ठोरी सडक खण्ड २ अर्ब ११ करोड ८९ लाख रुपैयाँमा दुई भागमा अमर/पप्पु/कनटेक जेभीलाई ठेक्का लगाइएको थियो ।

२०७४ मंसिर १ मा सम्झौता भएको आयोजना ०७७ जेठ २० सम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । आयोजनाका इन्जिनियर सुनिलकुमार गुप्ताका अनुसार ठेकेदार कम्पनीले विभिन्न बहाना देखाएर निर्माणमा ढिला सुस्ती गर्दै आएको छ । वीरगन्जदेखि चमरीटोलसम्मको ठेक्का २१.३८ र चमरी देखि ठोरीसम्मको ठेक्काको २५.७ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका प्रवक्तासमेत रहेका गुप्ताले जनाए ।


भारतीय अनुदानमा निर्माण भइरहेको हुलाकी सडकको प्राविधिक कन्सल्ट्यान्टसमेत भारतीय कम्पनी नै नियुक्त भएको छ । परियोजनाको प्राविधिक कन्सल्ट्यान्ट भारतीय कम्पनी नेसनल हाइवेज एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन लिमिटेड हो । ठेकेदारको ढिला सुस्ती र पटक पटकको बहानाले भारतीय कन्सल्ट्यान्टसमेत आजित बनेका छन् । ‘समस्या नभएका ठाउँमा समेत ठेकेदारले काम गरेका छैनन्,’ एक भारतीय कन्सल्ट्यान्ट भन्छन्, ‘हरेक ७/८ दिनमा म्याद थपको गुनासोसहित एउटा पत्र ठेकेदारबाट आउँछ ।’


कन्सल्ट्यान्टका अनुसार जग्गा अधिग्रहण नभएको, विद्युतको पोल नहटेको, समयमा भुक्तानी नपाएको, खोलाबाट ढुंगा/गिट्टी नपाएको लगायतका समस्या देखाएर काम नभएकाले ठेक्काको म्याद थप्ने आशयको पत्र पठाउने गरेको छ । ‘हुलाकी सडकको क्यारेज वे (गाडी चल्ने भाग) मा कहि पनि बिजुलीको पोल छैन्,’ ती प्राविधिक भन्छन्, ‘मुआब्जाको विवाद पनि बहुअर्वामा मात्र हो, तर, पनि निर्माण कार्यले गति लिन सकेको छैन् ।’


निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको आयोजना व्यवस्थापक जोस्वा अब्राहमले निर्माण सामग्री अभावको कारण ढिलाइ भएको बताए । ‘सब–वेश निर्माणका लागि चाहिने सामग्री नै अभाव छ,’ कान्तिपुरसँग उनले भने, ‘वेश निर्माण नगरी अरू काम गर्नै सकिन्न । भुक्तानीको समस्या र किलोमिटर क्षेत्रमा मुआब्जा विवाद पनि कायमै छ ।’ हुलाकी सडक निर्माणका लागि भण्डारण गरिएका ढुंगा/गिट्टी ठेकेदार कम्पनीका प्रतिनिधिले ‘अफ सिजन’ मा दोब्बर मूल्यमा बिक्री गरेको स्थानीयले आरोप लगाएका छन् ।


वीरगन्ज ठोरी हुलाकी सडक खण्डको वीरगन्जको प्रतिमा चौकदेखि बहुअर्वाभाटासम्मको १० किलोमिटर सडक पहिलेदेखि नै पिच गरिएको छ । जसमध्ये प्रतिमा चौकदेखि रामगढवा पुलसम्म महानगरपालिकाले निर्माण गरेको पक्की पिच छ ।


‘त्यो पिच मापदण्डअनुसार भएकाले त्यस क्षेत्रमा आयोजनाले पिच गर्दैन,’ एक भारतीय कन्सल्ट्यान्टले भने, ‘पुल अगाडिको दुई सय मिटर पिच तोडेर पक्की पिच निर्माण हुन्छ ।’ रामगढवा पुलदेखि बहुअरी चोकसम्मको पिच गुणस्तरीय रहेकाले त्यसमाथि पिच निर्माण गरी दायाँ/बायाँ २ मिटरको सोल्डर बनाउन ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।


बहुअरी देखि अलौँ(आईसीपी जाने मोड) सम्मको एक किलोमिटर चार सय मिटर सडक स्तरोन्नति यस आयोजनाबाट हटाइएको छ । ‘उक्त सडक खण्ड अन्य योजनामा परेकाले हुलाकी सडक स्तरोन्नति आयोजनाबाट हटाइएको हो,’ नाम उल्लेख नगर्ने सर्तमा ती प्राविधिकले भने, ‘त्यसबाट बचेको पैसाले माग भएको स्थानमा कल्भर्ट निर्माण गरिनेछ ।’ यसैगरी सुक्खा बन्दरगाहदेखि तिलावे पुलसम्म र तिलावे पुलदेखि बहुअर्वाभाटासम्म पक्की पिच भए पनि त्यस्सको गुणस्तर मापदण्डबमोजिम नमिलेकाले त्यसलाई उप्काएर पुनः पक्की पिच गरिनेछ ।


प्रकाशित : आश्विन १३, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?