‘नेपालीको न्यानो स्वागत कहिल्यै बिर्सने छैन’

शंकर आचार्य

पर्सा — ४० औं विश्व पर्यटन दिवसको अवसरमा वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरेका फ्रान्सेली पर्यटकलाई भव्य स्वागत गरिएको छ । शुक्रबार बिहान करिब साढे ९ बजे शंकराचार्य नेपाल प्रवेशद्वारमा पहिलो पर्यटकका रूपमा आइपुगेका फ्रान्सेली युवा पर्यटक २३ वर्षीय ओलिभर दि लेभवर्टलाई स्वागत गरिएको हो ।

‘नेपालीको न्यानो स्वागत कहिल्यै बिर्सने छैन’

वीरगन्ज महानगरपालिकाको कार्यालय, होटल तथा पर्यटन व्यवसायी संघ, पर्यटक प्रहरी लगायतका सरोकारवालाले उनलाई फुलमाला, खादासहित स्वागत गरेका हुन् ।


आकस्मिक रूपमा न्यानो स्वागत पाएपछि लेभवर्टले अत्यन्त खुसी लागेको बताए । ‘नेपालमा यसरी भव्य र न्यानो स्वागत पाइएला भनेर सोचेको पनि थिइन, नेपाल र नेपालीबारे राम्रा कुरा सुनेको थिएँ, अहिले प्रत्यक्ष अनुभव भयो, म यो स्वागत र आफ्नोपन कहिल्यै बिर्सने छैन,’ उनले भने, ‘म स्वदेश फर्केर आफना आफन्त, इष्टमित्रलाई जीवनमा कम्तीमा एकपटक नेपाल भ्रमण गर्न अवश्य प्रेरित गर्नेछु ।’


अध्ययनको सिलसिलामा आफू १ वर्षदेखि भारतमा रहँदै आएको र यसै क्रममा पहिलो पटक नेपाल प्रवेश गरेको उनले बताए । १५ दिने नेपाल यात्राको क्रममा आफू काठमाडौं बस्नुका साथै लाङटाङमा ट्रेकिङमा जाने योजना बनाएर आएको बताए । ‘मैले हालसम्म विश्वका २० भन्दा बढी देशको भ्रमण गरिसकेको छुँ,’ उनले भने, ‘नेपाल जस्तो स्वागत सत्कार कतै पाएको थिइन, म अत्यन्त प्रभावित भएको छुँ ।’


यसअघि लेभवर्टलाई वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगी, उपमेयर शान्ति कार्की, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त, भिजिट मधेस कार्यक्रमका संयोजक ओमप्रकाश सर्राफ लगायतकाले स्वागत गरेका थिए ।


संघले लेभवर्टलाई अध्यागमन कार्यालयमा भिसा आवेदन प्रकृयाका लागि सहजीकरण गर्नुका साथै निःशुल्क खाजा तथा खाना समेत खुवाएको थियो । नेपाल प्रवेशद्वारबाट फर्कने क्रममा लेभवर्ट संघको र्‍यालीमा सहभागी समेत भए ।

प्रकाशित : आश्विन ११, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?