१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नगरपालिका कार्यालय तोडफोड

शिव पुरी

रौतहट — शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीले शुक्रबार कटहरिया नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । विद्यार्थीले त्यहाँ रहेको प्रहरी कार्यालयको सवारी साधनमा समेत क्षति पुर्‍याएका छन् । घटनाका बेला बिहान बजारको स्थिति तनावपूर्ण थियो ।

कार्यपालिकाको बिहीबार बसेको बैठकले नगर अन्तर्गत जनता मावि कटहरियाका सहायक प्रधानाध्यापक सचेन्द्रप्रसाद यादव लगायत ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् । यादववलाई मावि भषेडवा सुरुवा गरिएको थियो ।


तोडफोडबाट कार्यालयको ६ वटा ल्यापटप, ६ वटा डेक्सटप कम्प्युटर, १ सय ८५ वटा झोला, कार्यालयको सीसी टीभी क्यामेरा र झ्यालमा क्षति पुगेको प्रहरीले जनायो । उनीहरूले नगरपालिकाको केही कागजात च्यातेर फालिदिएका छन् । कार्यालय बन्द रहे पनि उनीहरू फोडेरभित्र पसेका थिए । विद्यार्थीको समूहले प्रहरी कार्यालय परिसरमा रहेको ना३६प ४४१७, लु२२प ७३४७ र बिआर ६४२७ नम्बरको मोटरसाइकलमा क्षति पुर्‍याएका छन् ।


फर्किने बेला प्रहरीको सवारीमा ढुंगाुमढा गरी क्षति पुर्‍याएका हुन् । घटना लगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटना सुनियोजित र केही शिक्षकको उक्साहटमा लागेर विद्यार्थीले तोडफोड गरेको आरोप लगाइएको छ । मेयर सियाराम कुशवाहाले तोडफोडको घटनाले आफू दुःखी भएको बताए । ‘घटना कसरी हुन गयो भन्ने विषयमा पत्ता लगाउँदै छौं,’ उनले भने, ‘शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्छ । यस्तो घटना दोहोरिनु हुँदैन ।’ घटनापछि सरोकारवाला बसेर प्रहरी कार्यालयमा छलफलबाट टुग्याउने तयारीमा जुटेका थिए । स्थानीयतहले आफ्नो नगरक्षेत्रभित्रको विद्यालयको रेखदेख र कर्मचारीको सरुवा गर्न पाउँछ । नगरपालिकाको शिक्षा शाखाले सरुवाको अधिकार पाएको हुन्छ । स्थानीयतहको चुनाव अघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले जिल्लाभरिका शिक्षकको सरुवा गर्थ्यो ।


शिक्षक अझै धर्नामा

दसैका बेला तलब नपाएको भन्दै फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरू शुक्रबार पनि नगरपालिकामा धर्ना दिई बसेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको मनमोटावले त्यस क्षेत्रका शिक्षकले अहिलेसम्म तबल पाएका छैनन् । उनीहरू तीन दिनदेखि नगरपालिकामा धर्ना दिई बसेका छन् । बुधबारदेखि नगरक्षेत्रका सबै विद्यालयहरू बन्द गरेर शिक्षक धर्नामा बसेका हुन् । अहिले त्यस क्षेत्रको शैक्षिक अवस्था अस्तव्यस्त भएको छ ।


फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादव र प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहबीचको विवादले कर्मचारीले तलब नपाएका हुन् । नगरपालिकाको ३ करोड रकमको खर्चको विवरण मेयरले मागेपछि विवाद उत्कर्षमा पुगेको हो । यही विवादका कारण कर्मचारीको तलब निकास हुन सकेको छैन । यस क्षेत्रका ३२ वटा विद्यालयका झन्डै २ सय शिक्षक बुधबारबाट नगरपालिकामा धर्ना बसेका छन् । दसै नजिकिँदै गर्दा शिक्षकले तलब नपाएर मारमा परेको शिक्षक रञ्जन खरेलले बताए ।


‘नगरपालिकाको विवादले शिक्षकलाई किन अप्ठेरोमा पार्ने,’ उनले भने, ‘तलब निकाशा नभएसम्म धर्ना जारि रहन्छ ।’ परिषद् नभएकै कारण कोष तथा लेखा नियन्त्रकको कार्यालय गौरले रकम निकाशा गरेको छैन । यही कारण तलब माग्दै शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेपछि पठक–पाठन ठप्प छ । बिनासर्त खुवाउनु पर्ने तलब सरकारी रबैयाका कारण ढिला भएको शिक्षकको आरोप छ । दसैं लगायतका पर्व नजिकिँदै गर्दा शिक्षकहरूले ९ महिनाको तलब पाएका छैनन् ।

प्रकाशित : आश्विन ११, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?