१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कपडा बैंकले विपन्न लाभान्वित

शंकर आचार्य

(पर्सा) — वीरगन्ज १० का २८ वर्षीय गणेश साह पेसाले रिक्सा चालक हुन्  । कमजोर आर्थिक अवस्थाका कारण उनी आफ्नो र परिवारका अन्य सदस्यलाई नयाँ लत्ताकपडा किन्न सक्दैनन्  । तर, पछिल्लो समय उनको समस्या टरेको छ । वीरगन्जका विभिन्न स्थानमा सञ्चालन भएका कपडा बैंकमा उनी रोजीरोजी कपडा लिन पाउँछन् । त्यो पनि निःशुल्क । ‘हामी जस्ता विपन्नलाई कपडा बैंक बरदान भएको छ,’ उनले भने, ‘यो अत्यन्त सह्रानीय काम हो ।’

गणेश जस्ता थुप्रै महानगरबासी यहाँ सञ्चालित कपडा बैंकबाट लाभान्वित हुँदैछन् । ‘जोसँग बढी छ, दिएर जानुस्, जोसँग छैन, लिएर जानुस्’ । यो नारा अचेल वीरगन्ज महानगरमा निक्कै चर्चामा छ । विभिन्न संघसंस्थाले सञ्चालन गरेका कपडा बैंकमा यस्ता नारा लेखिएका हुन्छन् । बैंकमा कपडा दिन र लिन आउने दुवै थरी हुन्छन् । जसको घरमा कपडा बढी र प्रयोग विहीन अवस्थामा हुन्छन् उनीहरूले खुसीखुसी यस्ता बैंकमा आएर कपडा दान गरेर जान्छन् । कपडा नहुने विपन्न वर्ग बैंकमा आएर मन परेका कपडा त्यहीं लगाएर पनि जान्छन् ।

महानगरमा एक महिना ३ वटा संघसंस्थाले यस्तो बैंक सञ्चालन गरेका छन् । ग्रिन सिटी सामुदायिक आदर्शनगर, व्यवस्थित वीरगन्ज अभियान र उमेन्स क्रिएसनले महानगरमा पहिलो कपडा बैंक सञ्चालनमा ल्याएका छन् ।ग्रिन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले ‘सबको हात सबको साथ’ नारासहित महानगरका विपन्न तथा असहायलाई लक्षित गरी सञ्चालन गरिएको कपडा बैंकबाट लक्षित र्व्ग लाभान्वित भएको बताए । उनले यो बैंकलाई निरन्तरता दिइने बताए । व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्कीले ‘हुने खाने र हुँदा खाने’ बीचको खाडल पुर्न यो पहल गरिएको बताए । मुलुकका अन्य सहरमा पनि यस्तो बैंक सञ्चालनमा रहे पनि वीरगन्जमा भने बढी सफल भएको उनी दाबी गर्छन् ।

उमेन्स क्रिएसनकी अध्यक्ष नूतन सरावगीले महानगरका सम्पन्नका घरमा थुप्रै कपडा प्रयोग नगरी राखिने तर विपन्न वर्गले अर्थ अभावमा कपडा खरिद गर्न नसक्ने समस्याको आफूहरूले अन्त्य गरेको बताइन् । बैंकमा महानगरबासीले आआफ्नो घरमा प्रयोगमा नआएको पुराना तथा समाजसेवीहरूले नयाँ कपडा समेत खरिद गरेर दिएको सरावगी बताउँछिन् ।वीरगन्ज कपडा बैंक मूल समारोह समितिले पनि एक महिना यता कपडा बैंक सञ्चालनमा ल्याएको छ । अर्को कपडा बैंक लिंक रोडमा सञ्चालित छ । बैंकका संयोजक वृजेश्वर चौधरीले छोटो समयमा बैंकले गतिलो सेवा दिएको दाबी गर्छन् । बैंकमा दैनिक कपडा दिन र लिन आउनेहरू ठूलो संख्यामा रहेको उनले बताए ।

हिउँद याम आउन लागेकाले यो अभियानलाई हिउँदसम्मै निरन्तरता दिइने उनले बताए । कपडा नहुँदा गरिबले गर्मी छल्न सक्छन्, तर जाडो छल्न नसक्ने भएकाले जाडो याममा यस्तो बैंकको महत्त्व झन् बढी हुने उनले बताए ।मिम वीरगन्ज र वनशक्ति युवा क्लबले पनि यस्तो बैंक सञ्चालनमा ल्याएको छ । सामाजिक अभियन्ता प्रकाश थारू कपडा बैंकबाट विशेष गरी विपन्न तथा मजदुर वर्ग लाभान्वित भइरहेको बताउँछन् ।

प्रकाशित : आश्विन १०, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?