कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेयर र प्रमुख प्रशासकीय अधिकृत विवादले परिषद् भएन

शिव पुरी

(रौतहट) — मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच कुरा नमिल्दा यहाँको एक नगरपालिकाको परिषद हुन सकेको छैन  । यसले कर्मचारीको तलब समेत निकासा रोकिएको छ  ।

मेयर र प्रमुख प्रशासकीय अधिकृत विवादले परिषद् भएन

तलबकै कारण बुधबार नगरक्षेत्रका सबै विद्यालयहरू बन्द गरेर शिक्षक धर्नामा बसेका छन् । अहिले त्यस क्षेत्रको शैक्षिक अवस्था अस्तव्यस्त भएको छ ।

फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादव र प्रमुख प्रशासकीय अधिकृत रञ्जना साह बीचको विवादले अहिलेसम्म परिषद हुन नसकेको हो । नगरपालिकाको ३ करोड रकमको खर्चको विवरण मेयरले मागेपछि विवाद उत्कर्षमा पुगेको हो । यही विवादका कारण कर्मचारीको तलब निकास हुन सकेको छैन । यस क्षेत्रका ३२ वटा विद्यालयका झन्डै २ सय शिक्षक बुधबारबाट नगरपालिकामा धर्ना बसेका छन् । उनीहरू धर्नामा बसेपछि कार्यालयमा एक जना पनि कर्मचारी बसेका छैनन् । मेयर यादव र अधिकृत साह समेत कार्यालयमा छैनन् ।

दुवै बीचको विवादले परिषद हुन नसकेको र पर्व नजिकिँदै गर्दा तलब नपाएकाले मारमा परेको शिक्षक रञ्जन खरेलले बताए । ‘एउटा ३ करोडको हिसाब माग्ने अर्को दिन नसक्ने,’ उनले भने, ‘यस्तै विवादका कारण परिषद हुन सकेको छैन ।’ परिषद्कै कारण कोष तथा लेखा नियन्त्रकको कार्यालय गौरले रकम निकासा गरेको छैन । यही कारण तलब माग्दै शिक्षकहरू विद्यालय बन्द गरेर धर्नामा बसेपछि पठक–पाठन ठप्प छ । बिनासर्त खुवाउनु पर्ने तलब सरकारी रबैयाका कारण ढिला भएको शिक्षकको आरोप छ । दसैं लगायतका पर्व नजिकिँदै गर्दा एकजना पनि शिक्षकले तलब पाएका छैनन् । उनीहरूले ९ महिनादेखि तलब नपाएको गुनासो पोखे ।

चालु वर्ष ०७६/७७ का लागि परिषद् गराउन नसक्दा यो नगरपालिकाको बजेट निकासा हुन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार मसान्तभित्र परिषद् अनिवार्य सम्पन्न गरी प्रदेश र संघीय सरकारलाई जानकारी गराउने प्रावधान छ । तर ४ महिना बितिसक्दा पनि नगरपालिका भित्रको विवाद मिलाउन नसक्दा परिषद् हुन सकेको छैन ।

जनप्रतिनिधि र कर्मचारी बीच विवादले परिषद् हुन नसकेको पाइएको छ । अघिल्लो वर्ष पनि यो नगरपालिकामा मेयर र उपमेयर बीच ठूलै विवाद भएको थियो । त्यस बेला विकास निर्माणको काम ठप्प भएको भन्दै चौतर्फी दबाब परेपछि परिषद् भएको थियो । परिषद् ढिला भएपछि चालु वर्षभित्र नगरपालिकामा कुनै पनि विकास निर्माणका काम राम्ररी सम्पन्न हुने छाट देखिएको छैन ।

अहिले विकास निर्माण लगायतका काम ठप्प छन् । मेयर यादवले माग गरेको खर्चको विवरणका विषयमा अधिकृत साहले केही बताउन चाहिनन् । मेयर यादव पहिला कुन कुन शीर्षकमा यति ठूलो रकम खर्च भयो भन्ने यथार्थ विवरण नआएसम्म परिषद हुन नसक्ने अडानमा छन् । ‘पहिला हिसाब पारदर्शी हुनुपर्‍यो,’ उनले भने, ‘त्यसपछि मात्र नगरपालिकाको अन्य काम गर्न सहज हुन्छ । सबैलाई गौण राख्नु हुन्न ।’ अधिकृत साहकै कारण परिषद हुन नसकेको उनको आरोप छ । जिल्लाको १८ स्थानीयतहमध्ये विवादबीच आधा जसोले ढिला गरी परिषद् सम्पन्न गरेका थिए । मौलापुर बाहेकका नगरपालिकामा अहिले पनि बिवाद छ ।

नगरबासीहरू अधिकृत साह आफैं राजनीति गर्न लागेको आरोप लगाउँछन् । केही दिनअघि ठेक्का नै नलगाई बकैया खोलामा नियम मिचेर अधिकृत साहले आफ्ना आसेपासेलाई नदीजन्य वस्तुको निकाश गर्न पठाएकी थिइन् । स्थानीयले प्रशासनलाई खबर गरेपछि प्रहरीले झन्डै २ दर्जन ट्याक्टर नियन्त्रणमा लिइएको थियो । स्थानीयले अधिकृत साहलाई घेरेर नियम मिचेर जथाभावी गर्न लागेको भन्दै दुर्व्यवहारको प्रयास गरे ।

स्थानीयतहले ठेक्का नलगाई नदीबाट ढुंगा, गिटी, बालुवा निकाश गर्न पाइँदैन । अधिकृत साहले आफ्ना मानिसलाई निकाश गर्न दिएपछि स्थानीय आक्रोसित बनेका हुन् ।

प्रकाशित : आश्विन ९, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?