शैक्षिक हब बन्दै बर्दिवास

नगरपालिका भित्र ५२ सामुदायिक र ३० संस्थागत विद्यालय सञ्चालित छन् 
सुनीता बराल

(महोत्तरी) — महोत्तरीको बर्दिबास–३ स्थित जनता माध्यमिक विद्यालयबाट रोल्पाकी रमिला डाँगीले भर्खरै तीनवर्षे बाली विज्ञान विषयको डिप्लोमा पढाई सकेकी छिन्  । ‘पश्चिमको मान्छे मध्यतराईको बर्दिबासमा बसेर कसरी पढाइ पूरा गरुँला भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘राम्रो शैक्षिक वातावरण पाएँ  । नतिजा पनि राम्रो आयो ।’

शैक्षिक हब बन्दै बर्दिवास

महोत्तरीको बर्दिबास नगरपालिकाभित्र विभिन्न विधाको उच्च तहको पठनपाठन भइरहेको र थप विषयका कलेज स्थापनाको प्रक्रिया धमाधम अघि बढेसँगै बर्दिबास शैक्षिक हबका रूपमा विकास हुँदै गएको छ । देशका विभिन्न ठाउँबाट अहिले बर्दिबासमा अध्ययनका लागि विद्यार्थीहरू आउने क्रम बढेको छ । एसईई परीक्षाको नतिजा आएपछि थप पढाइका लागि अहिले बर्दिबास धेरैको गन्तव्य नै बन्ने गरेको छ । बर्दिबास नगरपालिकाभित्र जनता माविले कक्षा ९ बाटै प्राविधिकतर्फको पशु विज्ञान विषय १२ सम्म अध्ययन गराउँछ भने नगरभित्र विभिन्न सामुदायिकले नै कक्षा १० पास गरेपछि विभिन्न प्राविधिक पढाइ गर्न पाउने व्यवस्था मिलाएको छ ।

बर्दिबास जनता बहुमुखि क्याम्पस स्नातक तहसम्म कक्षा सञ्चालन भइरहेको थियो । सो कलेजमा यसै वर्षबाट स्नातकोत्तर तहको पठनपाठन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको जनता बहुमुखी क्याम्पसमा हाल शिक्षा सङ्कायमा स्नातकोत्तरसम्म र वाणिज्य सङ्कायमा स्नातक तहसम्मको पठनपाठन भइरहेको छ । बर्दिबास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुरु भएपछि महोत्तरीलगायत छिमेकी जिल्ला धनुषा र सर्लाहीका समेत उच्च शिक्षा पढ्न नपाएर घर व्यवहारमा थन्किएका छोरी/बुहारी र जागिर वा व्यवसायमा लागेका व्यक्तिलाई उच्च शिक्षा लिन राम्रो अवसर बनेको क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले बताए ।

यस्तै बर्दिबास ६ स्थित किसाननगरमा कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरको आङ्गिक कलेजको रूपमा प्राकृतिक स्रोध साधन कलेज सञ्चालित छ । कलेजमा देशभरिबाट ५४ छात्रछात्राले कृषि तथा वन विज्ञान सङ्काय विषयमा स्नातक तहको अध्ययन गरिरहेका छन् । महोत्तरीको बर्दिबास आएर प्राकृतिक स्रोत कलेजमा पढ्ने विद्यार्थीमा देशको पश्चिमी क्षेत्रका छात्रछात्राको सङ्ख्या बढी छ । सुदूरपश्चिम प्रदेशका मात्रै १० छात्रछात्रा रहेका कलेजमा अध्ययन गरिरहेका कलेज प्रशासनले जनाएको छ ।

बर्दिबासमै गत आर्थिक वर्ष ०७५/७६ मा बर्दिबास मेडिकल कलेजको कार्यालय स्थापना भएर सो कलेजको काम पनि अघि बढेको छ । बर्दिबास मेडिकल कलेजको कार्यालय स्थापना भएर अन्य काम अघि बढेपछि कलेजको आकर्षणले पनि घरजग्गा जोड्ने र व्यापार व्यवसायका लागि समेत बर्दिबास रोज्नेको सङ्ख्या बढ्दै गएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हादकुमार क्षत्रीले बताए ।

त्यस्तै बर्दिबास ११ स्थित खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय गत वर्ष नै सञ्चालनमा आएको हो । व्यावसायिक शिक्षा परिषद् (सीटीईभीटी) बाट सम्बन्धनप्राप्त डिप्लोमा (स्नातक) तहको पठनपाठन हुने शिक्षालयमा सर्भे (नापी, अमिनी), वन, सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र फुड एन्ड डेरी विषयमा स्नातक तहको पठनपाठन हुँदै छ । शिक्षालयमा प्राविधिक शिक्षा लिन देशका विभिन्न जिल्लाबाट विद्यार्थिको उपस्थिति रहेको छ ।

यसैगरी बर्दिबास–६ किसाननगरस्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा सीटीईभीटीकै सम्बन्धनमा सिभिल इन्जिनियरिङको पठनपाठन सुरु भएको दुई वर्ष नाघिसकेको छ । बर्दिबासकै देउराली माविमा वन विज्ञानको पढाइ सुरु भएको छ । देउराली माविले यसै वर्षबाट वन सीटीईभीटीबाट मान्यता लिएर वन विज्ञानको ३ वर्षे डिप्लोमा पढाइ सुरु गरेको प्राचार्य केदार कोइरालाले बताए । साथै विद्यालयले सर्भे विषयको पनि पढाइ सुरु गर्ने तयारी थालेको पनि कोइरालाले जानकारी दिए ।

यसैगरी बर्दिबास–२ स्थित बर्दिबास क्षेत्रकै पुरानो जनता माध्यमिक विद्यालयले अटो मोबाइल विषयको डिप्लोमा तह पठनपाठन यसै वर्षको मंसिरसम्म सुरु गरिने बताएको छ । यस वर्ष सरकारले नमुना विद्यालय घोषणा गरेको विद्यालयले नयाँ विषय छनोट गरेर पठनपाठन सुरु गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बताए ।

बर्दिबास नगरपालिकाभित्र सञ्चालित ५२ सामुदायिक विद्यालयमा ३ वटाले प्राविधिक विषयको पढाइ सुरु गरिसकेको र एक विद्यालय प्राविधिक कक्षा सञ्चालनको तयारीमा रहको नगरपालिका शिक्षा शाखाले जनाएको छ । बर्दिबासमा ३० संस्थागत विद्यालयअन्तर्गत २ वटाले कक्षा १२ र एक विद्यालयले कक्षा ११ को पठनपाठन सुरु गरिसकेका छन् ।

प्रकाशित : आश्विन ८, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?