जीर्ण जेलमा कोचाकोच

सुनिता बराल

(बर्दिवास, महोत्तरी) — न्यायिक र अर्द्धन्यायिक निकायमा मुद्दा छिनोफानोमा ढिलाइ हुँदा महोत्तरीको जलेश्वर कारागारमा धान्नै नसक्ने गरी थुनुवाको चाप बढेको छ । महोत्तरी, धनुषा र सर्लाही जिल्लाका न्यायिक तथा अर्द्धन्यायिक निकायले पुर्पक्षका लागि थुनामा पठाउने व्यक्तिको चापलाई धान्न नसक्दा जलेश्वर कारागार अस्तव्यस्त बनेको हो ।

जीर्ण जेलमा कोचाकोच

जम्मा १ सय ३५ जना कैदी तथा थुनुवा राख्ने क्षमताको कारागारमा अहिले ५ सय २ जना पुगेको कार्यालय प्रमुख कन्हैयाकुमार मिश्रले बताए । ‘दिनहुँ अभियोगी थपिने क्रम जारी छ,’ उनले भने, ‘पुराना मुद्दाको किनारामा समय लागेपछि थुनुवाको चाप बढ्दै गएको हो ।’


मुद्दा फैसला भएर कैद भुक्तान गरिरहेका १ सय ४३ जना, पुर्पक्षका लागि थुनामा रहेका ३ सय ३२ जना र चार आश्रित बालबालिकालाई अहिले कारागारमा व्यवस्थापन गर्न निकै समस्या भएको जेलर मिश्रले बताए ।


महोत्तरी कारागारमा ५ सयभन्दा बढी कैदी तथा थुनुवा अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो । यसअघि ३ सय ५० को हाराहारीमा रहेका कैदी तथा थुनुवाको संख्यामा यस वर्ष वृद्धि भएर ५ सय नाघेको कारागार प्रशासनले जनाएको छ । जसमा ८० प्रतिशत थुनुवा धनुषा जिल्लाका छन् ।


क्षमताभन्दा झन्डै चार गुणा बढी कैदी/थुनुवा राख्दा खाना पकाउन, सुत्न, बस्न, र आराम गर्न ठाउँ अभाव भएको कारागारका मुल कैदी श्यामसुन्दर यादवले बताए । शौचालय र धारा पनि सीमित हुँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौं पालो कुर्नु पर्ने र सुत्न–बस्न नै ठाउँ नपाउँदा आफूहरूलाई समस्यो भइरहेको कैदी/थुनुवाहरूको गुनासो छ ।


सुत्नु, ट्वाइलेट जान, नुहाउन, लुगा धुन, खाना खान घण्टौं लाइनमा लाग्नुपर्ने दैनिकी भएको एक कैदीले दुखेसो गरे । कारागारमा कैदी/थुनुवाको चापले दैनिक जीवन असहज बन्दा कैदी/थुनुवा बिरामी हुने क्रम पनि बढेको कारागारले जनाएको छ । जिउभरि खटिरा आउने, जिउ चिलाउने, लुतोलगायत छालाको समस्याबाहेक श्वासप्रश्वाास सम्बन्धी समस्या दम, खोकी र झाडापखला जस्ता माहामरीजन्य रोग कारागारभित्रको स्वास्थ्य समस्या रहेको कारागारका स्वास्थ्यकर्मी नै स्वीकार गर्छन् । केही समयअघि मात्रै १ सयभन्दा बढी कैदी भाइरल ज्वरोबाट बिरामी परेका जलेश्वर कारागारका डाक्टर गौरी साहले बताए ।


कारागारमा कैदी/थुनुवाका लागि जाडो र गर्मी मौसममा गरी दुईपटक राज्यले मौसमअनुसारको लुगा दिइने कानुनी व्यवस्था भए पनि जलेश्वर कारागारबाट ठिक समयमा सो सुविधा नपाएको कैदी/थुनुवाहरू बताउँछन् । यता कार्यालयका सूचना अधिकारी मक्सुदन महासेठले थुनुवाको न्यूनतम आवश्यकता पनि पूरा गर्न नसकिएको स्वीकार गरे ।


कारागारमा दिनहुँ कैदी थपिँदै जाने भएकाले थुनुवा थपिएको अनुपातमा मौसम अनुसारका लुगा र उपचार खर्च भने ठिक समयमा नआउदा दिन नसकिएको महासेठले बताए ।

प्रकाशित : आश्विन ६, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?