तस्करीका सामान बरामद

ओमप्रकाश ठाकुर

(सर्लाही) — भारतीय सीमासँग जोडिएका नाकाहरूबाट प्रहरीले चार दिनयता लाखौंको सामान बरामद गरेको छ । प्रहरीले निगरानी बढाएपछि सीमामा तस्करीका सामान बरामद हुन थालेको हो ।

जिल्लास्थित नेपाल भारतको सीमामा जाँचको जिम्मा पाएका सशस्त्र प्रहरीको १० नम्बर गणले असोज २ गते ग्रामीण भेगमा चल्ने ना३ख १९१२ नम्बरको यात्रुवाहक बसबाट ६० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको थियो । सीमामा निस्केको मोबाइल गस्ती टोलीले ब्रह्मपुरी गाउँपालिका–४ भेलहीमा जाँचका क्रममा यात्रुवाहक बसबाट किरानाका सामान, हार्डवेयरका सामान र कपडा भारतबाट भन्सार छली ल्याएको अवस्थामा बरामद गरी भन्सार बुझाएको छ ।


यस्तै असोज ३ गते नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना२च ५९७८ नम्बरको पिकअप भ्यानबाट सशस्त्र प्रहरीले ५० बोरा सूर्तिजन्य गुटखा बरामद गरेको छ । सुराकीका आधारमा कविलासी नगरपालिका–८ अगर्वाबाट प्रहरीले पिकअप भ्यानसहित गुटखा नियन्त्रणमा लिएको जनाएको छ ।


नेपाल सरकारको कानुनअनुसार गुटखामा लेवल नभएको पाइएकाले पक्राउ गरिएको सशस्त्र प्रहरीको भनाइ छ । शुक्रबार साँझ पक्राउ गरिएको गुटखासहित पिकअप भ्यान आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ ।


शनिबार अबेर राति सशस्त्र प्रहरीले नेपालबाट भरततर्फ लान थालेको २० थान सिमलको काठको गोलिया बरामद गरेको छ । जिल्लाको दक्षिण पश्चिम क्षेत्र अन्तर्गत रामनगरको बिर्ताटोल हुँदै टायर गाँडामा भारत लान थालेको काठको गोलिया प्रहरीले बरामद गरेको थियो । रातको समयमा स्थानीयको अवरोधका कारण टायरगाडा र तस्कर भने फरार भएको प्रहरीले बतायो ।


नियन्त्रणमा लिएको काठ आइतबार सेक्टर वन कार्यालय मुर्तियामा बुझाइएको छ । यस्तै आइतबार बिहान मात्र नेपालबाट भारततर्फ अवैधरूपमा लैजाँदै गरेको १२ वटा गाईगोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा नजिकको ब्रह्मपुरी गाउँपालिका–४ भेल्हीबाट प्रहरीको गस्ती टोलीले गाईगोरुलाई नियन्त्रणमा लिएको हो ।


प्रहरीलाई देख्ने बित्तिकै गाईगोरु तस्कर भने फरार बनेका थिए । अन्दाजी १ लाख मूल्य बराबरको गाईगोरुलाई जिल्ला भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए । ‘नेपाल भारत सीमामा निगरानी बढाएका छौं, निगरानी बढाएपछि चार दिनमा मात्र लाखौंको सामान बरामद गरेर आवश्यक कारबाहीका लागि पठाएका छौं,’ उनले भने, ‘खुला सीमाका कारण तस्करको रजगज छ, यसलाई निर्मूल पार्ने प्रयासमा छौं ।’


केही दिनअघि मात्र नेपाल भारत सीमाबाट प्रहरीले नम्बर नलेखिएको भारतीय नम्बरको ट्रयाक्टरमा १ सय ५० क्युफिट साल र टिकका चिरान काठ बोकेर भारततर्फ लाँदै गरेको अवस्थामा सर्लाही सदरमुकाम मलंगवा–५ भाँडसरको उर्लहिया दशगजा छेउबाट सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको थियो । ट्रयाक्टरमा लाँदै गरेको काठसहित भारतको सीतामढी जिल्ला चिलरा–२ का २८ वर्षीय चालक दशरथ रामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो ।


केही महिना अघिसम्म भारतबाट अवैधरूपमा सामान ल्याउने वा नेपालबाट अवैधरूपमा भारत निकासी हुने मालसमानमा प्रहरीकै साँठगाँठ रहने गरेको स्रोतको दाबी छ । तस्करहरूले नेपालबाट बालुवा, गाईगोरु र घरेलु मदिरा सर्लाहीको ग्रामीण भेग हुँदै भारत निकासी गर्दै आएका थिए भने भारतबाट तेल, चिनी, कपडा, हार्डवेयरका सामान र बिजुलीका सामान नेपाल भित्र्याउँदै आएका थिए । सामान्य घरायसी प्रयोगको सामानमा प्रहरीले रोकटोक र जाँच कडा पार्ने तर सेटिङमा आएको सामानको कुनै जाँच नै नहुने स्रोतले बतायो ।


प्रकाशित : आश्विन ६, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?