३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नाकामा छैन, चाडपर्वको चहलपहल

पर्सा — दसैं, तिहार, छठ जस्ता पर्व नजिकिए पनि वीरगन्जका दुवै ठूला भन्सारमा अघिल्ला वर्षहरू जस्तो चहलपहल छैन । यी नाकाबाट चाडपर्व लक्षित मालवस्तुको आयात अझै पनि बढेको छैन ।

वीरगन्ज/आईसीपी भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतो पछिल्लो केही दिन यता सवारी साधनको आयात केही बढे जस्तो देखिए पनि त्यो पनि उत्साहजन नरहेको बताउँछन् । दिपावलीका लागि चीन लगायतका मुलुकबाट आयात हुने झिलीमिली बत्ती पनि भित्रिएको छैन ।


खाद्यान्न र लत्ताकपडाको आयात पनि सामान्य दिनमा हुने जत्तिक्कै भइरहेको छ । समग्रमै व्यापार घटेको र ईसीटीएस प्रणाली लागु भएपछि आयातकर्ताले आयातका लागि सिर्सिया सुक्खा बन्दरगाह नाकालाई प्राथमिकतामा राख्न थालेकाले पनि वीरगन्ज/आईसीपी भन्सार नाकाबाटा आयात घटेको हुन सक्ने महतो अनुमान गर्छन् । मालबाहक ट्रक लरीभन्दा रेलबाट आयात गर्दा करिब ८० देखि ९० हजार रुपैयाँ भाडा सस्तो पर्न जाने भएकाले पनि आयातकर्ताको आकर्षण सुक्खा बन्दरगाह तर्फ भएको हुन सक्ने उनले बताए ।


चाड पर्व नजिकिएपछि खुद्रा वस्तुको आयात पनि उल्लेख्य हुनु पर्नेमा दैनिक १० देखि १२ वटा कन्साइन्मेन्टबाट मात्र खुद्रा वस्तु आयात भइरहेको उनले बताए ।


यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत विकास साहले यो भन्सार नाकामा पनि चाड पर्वको चहलपहल नरहेको बताए । ‘यस वर्ष पोहोरको चाड पर्वको बेला जस्तो चहलपहल पनि हुन सकेको छैन,’ उनले भने, ‘खै किन हो हामीले पनि बुझ्न सकेका छैनौं ।’ दिपावलीका लागि आउने चिनिया बत्तीको आयात अझै हुन नसकेको उनले बताए ।


प्रकाशित : आश्विन ६, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?