कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पौरखले गाडी मालिक

अवधेशकुमार झा

(राजविराज) — सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ८ तोपाका राजाराम मण्डल १६ वर्षको हुँदा भारतीय ट्रक चालक गौतम गुरुजीका सहचालक बनेका थिए । त्यतिबेला महिनाको १ सय रुपैयाँ कमाउँथे । सहचालक भएर ट्रकमा जाँदा कहिलेकाहीं लेबरको पनि काम गर्थे, गाडी बिग्रँदा सामान्य मेकानिकको पनि काम गर्थे । चार वर्षसम्म निरन्तर उनी सहचालक र लेवर भएर काम गरे । 

गौतमले उनलाई ट्रक चलाउन सिकाए । उनी कयौं साहुजीका ट्रक ड्राइभर बने । मुलुकका अधिकांश सडकमा यात्रा गरेका उनी कुशल चालकका रूपमा दरिए । कलिलै उमेरमा गाडी लाइनमा छिरेका राजारामको सपना १२–१३ वर्षअघि पूरा भयो । सहचालकबाट चालक हुँदै उनी अहिले साहुजी भएका छन् । उनको आफनै ट्रक छ । उनी चालक होइनन्, साहुजी बनेका छन् । चालक अर्कैलाई राखेका छन् ।


‘१६ वर्षकै उमेरदेखि निक्कै मिहिनेत गरें, महिनाको सय रुपैयाँबाट जागिर सुरु गरें, त्यो निक्कै दु:खको अवस्था थियो,’ उनले भने, ‘कति दिनसम्म अरूकै गाडी चलाइरहनु आफ्नै एउटा गाडी किनेको भए हुन्थ्यो भन्ने सोच आयो । गाडी चालकको कमाइबाट पारिवारिक खर्च काटेर भएको बचत र केही ऋण गरेर गाडी लिएँ । खुसी छु ।’ अहिले उनी ५५ वर्षका भए ।


राजारामकै घरभन्दा २ सय मिटर दक्षिण उनकै बालसखा ५७ वर्षीय हनुमान यादवको पनि १५ वर्षकै उमेरदेखि गाडीलाइनमा छिरेका हुन् । लामो समय सहचालकको काम गरेपछि चालक बने । अहिले हनुमानको पनि एउटा ट्रक छ । उनी आफैं चलाउँछन् । ‘लामो समय यही क्षेत्रमा काम गरें, अब अरू क्षेत्रमा मन लाग्दैन,’ हनुमानले भने, ‘सधैं अरूकै गाडी चलाइयो, जेनतेन गरिएको बचत र पैंचो सापट तथा ऋण गरी एउटा ट्रक किनेको छु, अहिले आफैं चलाउछु, आफ्नो ट्रक चलाउनुको बेग्लै मज्जा छ ।’


हनुमानकै कान्छो भाइ रामलाल यादव, ४२ वर्षका छन् । १७ वर्षअघि उनले सहचालकको काम सुरु गरेका थिए । गाडी सफा गर्नु, गाडीमा कुनै समस्या भएर मिस्त्री लगाएर वा आफैंले ठिक गर्नु उनको जिम्मेवारी थियो । उनले चालकको सहायक भएर ३ वर्ष सम्म काम गरे । १४ वर्षअघि उनी पनि आफ्ना गुरुजीबाट सिक्दै चालक बने । लामो समय विभिन्न साहुजीका ट्रक चलाउँदै चार वर्षअघि उनले आफ्नै एउटा ट्रक किने । उनी पनि आफैं चलाउँछन् । ‘मेहनत र लगनको परिणाम हो,’ रामलालले भने, ‘सहचालक छिर्दै गर्दा आफनो ट्रक किन्ने सोच थियो, मिहिनेत गरें, सफलता हात लाग्यो ।’


हनुमान र रामलालका भतिजा महेन्द्र किसोर यादव तथा राजारामका काकाका छोरा हरिनारायण मण्डल पनि सहचालकबाट काम सुरु गरेका हुन् । महेन्द्र र हरिनारायण पनि केही वर्ष सहचालकमा काम गरे । जुन गाडीमा सहचालकको काम गरे त्यही गाडी सिक्दै चालक बने । अहिले उनीहरूसँग पनि आफ्नै ट्रक छन् ।


राजाराम, हनुमान, रामलाल, महेन्द्रकिसोर र हरिनारायण मात्र होइन, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा गाउँमा यिनीहरू जस्ता प्रशस्त छन् । जो पहिला सहचालक वा लेवरबाट गाडी लाइनमा छिरे, चालक बने र अहिले आफै ट्रक मालिक भएका छन् । ‘रामचलितर यादव, शिवु साह, शिवु खंग, कारी खंग लगायतका अन्य थुप्रै यस्ता व्यक्ति छन् जो सहचालकबाट काम सुरु गरेर अहिले आफैं साहुजी भएका छन्,’ राजारामले भने । गाउँमा भएका सबैजनाको ट्रक एकै पटक पुग्दा स्थानीय चोकमा राख्ने ठाउ हुँदैन । ट्रक धनीहरू आफ्नो घर अगाडि ट्रक राख्छन् ।


यो गाउँमा मात्र अहिले करिब ४० जनाको हाराहारीमा सवारी चालक छन् । ट्रयाक्टर जोड्ने हो भने चालकको संख्या निक्कै बढ्ने ट्रक मालिक हनुमान यादवले बताए । ‘पहिला रोजगारका धेरै अवसरहरू थिएनन्,’ हनुमानले भने, ‘ट्रक लाइन चल्तीको लाइन थियो, अलिकति पनि बुद्धि भएकाहरू सहचालक लेवरबाट काम सुरु गरे, चालक बने, बचत गर्न सक्नेहरू अहिले आफै ट्रक समेत किनिसकेका छौं ।’ ‘हाम्रो लागि ट्रक किन्नु सफलताको कथाजस्तै हो,’ उनले थपे, ‘एउटा सहचालकले पछि गएर ट्रक किन्न सक्छ भन्ने कल्पना समेत गर्न सकिदैन्थ्यो, तर मेहनत र लगनले काम गरियो भने सफलता टाढा छैन् भन्ने लागेको छ ।’


तोपामा मात्र होइन, एक किमि उत्तरको कजौली गाउँको अवस्था पनि यस्तै छ । ६० वसन्त पार गरिसकेका रामअयोधी मण्डल युवावस्थामा सहचालकबाटै काम सुरु गरेका थिए । उनी पनि चालक हुँदै ट्रक मालिक भएका छन् । घर कजौली भए पनि केही वर्षयता उनी तोपामै बस्दै आएका छन् । छिमेकी गाउँ कजौलीमा पनि रामअयोधी मात्र होइन, सहचालकबाट काम सुरु गरेर चालक हुँदै गाडी साहुजी भएका उदाहरण प्रशस्त छन् ।


‘हामी जीवनको सफलताको एउटा खुडकिलो त पार गर्‍यौं तर अहिले यो व्यवसायमा सोचे जति फाइदा छैन,’ राजारामले भने, ‘पहिला कम सवारी साधन र ढुवानीको काम बढी थियो । त्यसले गर्दा कमाई राम्रो हुन्थ्यो तर अहिले सवारी साधनको संख्या पनि थपिँदै गएको छ, विभिन्न किसिमका करहरू पनि थपिँदै गएका छन्, जसले सोचे अनुरूपको फाइदा भइरहेको छैन ।’


प्रकाशित : आश्विन ५, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?