जितियामा लैंगिक समानता

छोरा हुने मात्रै व्रत बस्ने परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने अभियानको थालनी
रवीन्द्र उप्रेती

(महोत्तरी) — तराई–मधेशका महिला जितिया मनाउन निराहार व्रत बसेका छन् । व्रतालुले शनिबार सूर्योदयपूर्व दिवंगत पितृको स्मरण एवं आराधना गरी घिरौलाको पातमा चढाएको दही–च्युरा, फलफूललगायतका प्रसाद सपरिवार ग्रहणपछि जितिया सुरु गरे । 

जितियामा लैंगिक समानता

छोरा हुने आमाले मात्र यो व्रत गर्ने परम्परा छ । यही कारण लैङ्गिक समानताका हिमायतीले यसलाई ‘विभेदकारी’ रहेको आलोचनासमेत गरेको पाइएको छ । तर, केही समययता जितिया पर्वको परम्परागत मान्यतामा परिवर्तनका आभास पाउन थालिएको छ । व्रतालु आमाहरू अब केवल ‘छोरा’ को लागि मात्र नभई सन्तान अर्थात छोराछोरी दुवैको आरोग्य तथा दीर्घायुका लागि यो जितिया मनाउने गरेको बताउन थालेका छन् ।


गौशाला नपा ९ भरतपुरकी ईश्वरी देवी यादवले जितिया पर्व मनाउन थालेको करिब १० वर्ष भयो । जितिया सुरु गर्दा उनका छोरा थिएनन् । छोरी भएदेखि नै आफूले जितियाको व्रत लिन सुरु गरेको बताइन् । अहिले उनका एक छोरा र दुई छोरी छन् । ‘छोरा मात्र किन ? छोरी मेरो सन्तान हैन ?’ उनले प्रतिप्रश्न गरिन्, ‘म आफ्ना तीनवटै छोराछोरीको सुख, शान्ति र दीर्घायुका लागि जितिया गर्दै आएकी छु ।’ उनकी छिमेकी मिथलेशदेवीका पनि एक छोरीसहित ४ सन्तान छन् । जितिया गर्न थालेको लामो समय भयो । उनी पनि सबै छोराछोरीको दीर्घायु र समृद्धिका लागि यो वर्त बस्ने गरेको बताउँछिन् । ‘एउटी आमाले छोरीलाई अलग्याएर छोराको मात्र भलाई होस् भनेर कसरी धर्मकर्म गर्न सक्छे ?’ उनले पनि प्रश्न राखिन्, ‘म यो पर्व मेरा सबै सन्तानको भलो होस् भनेर गर्दै आएकी छु ।’ महोत्तरी गाउँपालिका ४ रतवाराकी कलसियादेवी यसअगि आफ्ना ३ छोराको भलाइको कामना गर्दै जितिया व्रत बसे पनि यसपटक भने छोरीका सन्तान न भएकाले उसको कोख भरियोस् भन्ने कामना गर्दै जितियामा निराहार बसेको बताउँछिन् । ‘छोराका लागि त गर्दै आएकी थिएँ, यसपालि छोरीका लागि पनि जितिया गरेकी हुँ,’ उनले भनिन्, ‘भगवान्ले मेरो छोरीको दु:ख पनि सुनिदिने विश्वासमा छु ।’


सामाजिक अभियन्ता वैधनाथ चौधरीकाअनुसार धर्म संस्कृतिमा देखा परेको यो परिवर्तन सकारात्मक हो । ‘धर्मले विभेद होइन समानताको सन्देश दिएको छ,’ उनले भने, ‘परम्परा तोड्दै छोराछोरी सबैको दीर्घायु र प्रगतिको कामनासहित निराहार बसेका व्रतालु महिला आमा मात्र नभएर परिवर्तनका संवाहक पनि हुन् ।’


प्रकाशित : आश्विन ५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?