१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भेन्टिलेटर नहुँदा उपचारमा समस्या

पर्सा — नारायणी अस्पतालको आकस्मिक कक्षमा भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ । 

पर्सा, बारा तथा रौतहटदेखि सर्पदंशका बिरामी ल्याइने यो अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन । आकस्मिक कक्षका इन्चार्ज डा उदयनारायण सिंहका अनुसार अस्पतालमा गर्मी सिजनमा दैनिक ८ देखि १० सर्पदंशका बिरामी उपचारका लागि ल्याउने गरिएको छ । शरीरमा अत्यधिक विष प्रवाह भई अन्तिम अवस्थामा पुगिसकेका बिरामी एक दिन बिराएर दैनिक १–२ जना हुने गरेका छन् ।


यस्तो अन्तिम अवस्थामा रहेका बिरामीलाई उपचार गर्न भेन्टिलेटर अत्यावश्यक हुन्छ । ‘यस्ता सिकिस्त बिरामीलाइ श्वासप्रश्वासमा बढी समस्या हुने भएकाले भेन्टिलेटर उपकरण आवश्यक हुन्छ,’ उनले भने, ‘उपचारको समयमा भेन्टिलेटरको हामीलाई अभाव टड्कारो हुन्छ ।’


भेन्टिलेटर नभए पनि आफूहरूले जसोतसो बिरामीको उपचार गरिरहेको उनले बताए । जनसाधारणमा नारायणी अस्पतालमा जस्तो सुकै बिरामीको उपचार हुने र सर्पदंशको झनै प्रभावकारी उपचार हुने गर्छ भन्ने धारणा रहेको छ, तर अस्पतालकै आकस्मिक कक्ष भने सुविधाविहीन छ ।


भेन्टिलेटर उपकरण नहुँदा मात्रै आफूहरूले कतिपय सर्पदंशका गम्भीर बिरामीलाई रक्सौलको डंकन अस्पताल र वीरगन्जकै नेसनल मेडिकल कलेजमा रिफर गर्ने गरेको उनले बताए । ‘यस्तो अवस्थामा हामीले गम्भीर बिरामीलाई रिफर त गर्छौं,’ डा सिंह भन्छन्, ‘तर ती अस्पतालले विभिन्न कारण देखाइ त्यस्ता गम्भीर बिरामीलाई पुन: नारायणी अस्पतालमै फिर्ता पठाइ दिने गरेका छन्, यस्तो अवस्थामा हामी झनै अप्ठेरोमा पर्छौं ।’


सर्पदंशका बिरामी प्राय: ग्रामीण भेगका विपन्न र किसान पृष्ठभूमि परिवारका हुने गरेका छन् । खेत खलिहानमा काम गर्ने किसान, वनजंगलमा घाँस दाउरा काटन तथा वस्तु भाउ चराउन जानेहरू, दुलोमा हात हाल्ने बालबालिका सर्पदंशको बढी सिकार हुने गरेका छन् । एउटा भेन्टिलेटर उपकरणको मूल्य न्यूनतम ५ देखि अधिकतम १५ लाख रुपैयाँ पर्छ ।

प्रकाशित : आश्विन ४, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?