बालउद्यान बनाई वन संरक्षण

शाहीमान राई

(जनकपुर) — राजमार्ग दक्षिण धनुषा सदरमुकाम जनकपुरदेखि उत्तर धनुषाधाम आसपासको वन क्षेत्र उजाड थियो । एकताका त्यस आसपासको घना जंगल फडानी गर्दै रूख, बोटबिरुवा कटान गर्न स्थानीयबासी प्रतिस्पर्धा नै गर्थे । वन कार्यालयका कर्मचारी उनीहरूको साक्षीबाहेक अरू केही गर्दैनथे । तर, केही वर्षदेखि अवस्था फेरिएको छ ।

यतिबेला धनुषाधाम नगरपालिका क्षेत्रमा ३ सय ६० हेक्टर क्षेत्रफलमा रहेको वनक्षेत्र हरियाली र घना बनेको छ । वन मास्न लागिपरेका वन कार्यालयका कर्मचारी, उपभोक्ता र सरकारी निकाय केही वर्षदेखि वन संरक्षणमा सक्रिय भएपछि रूख–बिरुवा बढेर हरियाली बन्न थालेको हो । उजाडिएको वन क्षेत्रमा वन कार्यालयले हरियाली नर्सरी, बालउद्यान, वनस्पति उद्यान बनाएको छ । वन फडानी र कटानबाट जोगिएका ठूलठूला रूखमा नम्बर सहितको स्टिकर टाँसिएको छ । अचेल वनमा बिना स्टिकरका रूख भेटिँदैनन् । करिब १ हजार रूखमा टाँसिएको स्टिकरको नम्बर जीपीएस प्रणालीमा जडान गरिएको छ । जीपीएस प्रणालीको नम्बर स्टिकर टाँसिएको रूख काटिएको सूचना थाहा पाउने व्यवस्था समेत मिलाएको धनुषाधामस्थित वन कार्यालयका अधिकृत शंकरनारायण झाले बताए । ‘१ हजार रूखमा नम्बरसहित स्टिकर जीपीएस प्रणालीमा पोइन्टिङ गरिएको छ, जसबाट रूख काटेको सजिलै थाहा पाउन सकिन्छ,’ वन कार्यालय प्रमुख झाले भने, ‘वनक्षेत्रमा ७० हजार रूखमा नम्बरसहितको स्टिकर टाँसिएको छ ।’


तराईको चारकोसे झाडी मासेर विभिन्न ठाउँमा बनेका सहर र बस्ती धेरै छन् । धनुषाधाम आसपासको क्षेत्रमा पनि वन क्षेत्र मासेर बनेका वस्तीमा ठूलठूला पक्की घर बनेका छन् । धनुषाधाम आसपासको क्षेत्रमा वन फडानी, रूख कटान गरी चोरी निकासी गरेर अर्थोपार्जन गर्नेहरूको कथा छुट्टै छ । राजनीतिक शक्तिको आडमा बोलवालाहरूले स्थानीय सामन्त, जमिन्दार र सरकारी कर्मचारी मिलेर मनपरि वन फडानी गर्ने, रूख कटान गरेर अर्थोपार्जनको माध्यम नै बनाएका थिए ।


राणाशासन कालमा राजा र राणाहरूले आसेपासे, अरौटेभरौटे, चाकडीवाजलाई बिर्ता स्वरूप सयौं बिघा जङ्गल फडानी गरेर बसोबास गर्न आदेश दिन्थे । तिनीहरूले मनपरी वन फडानी गरेर हजारौं बिघा जमिन कब्जा गरे । तिनै व्यक्तिले सामन्त, जमिन्दार भएर तराईका जनतामाथि शासन गरेको स्थानीय बासिन्दाको भनाइ छ । २००७ सालअघि फडानी भइरहेका बेला एउटा ठूलै अनिष्ट घटना भएपछि वन फडानी रोकिएको स्थानीय बासिन्दाको कथन छ । तर २००७ सालपछि धनुषाबाट राजनीतिक शक्तिमा उदाएका हेमबहादुर मल्ल मन्त्री भएपछि तराईको अधिकांश वन मासिएको स्थानीयबासी रामपदार्थ यादव बताउँछन् । उनका अनुसार २००७ सालपछि वन फडानी गरेर बसाइएको बस्तीको नाम नै खोरिया गाउँ छ । जनकपुर–धनुषाधाम १८ किमि राजमार्ग दक्षिणतिर धनुषाधाम नगरपालिका वडा नं २, ३ र ७ खोरिया गाउँ छ । खोरिया गाउँ जंगल फाँडेर निर्मित बस्ती हो । खोरिया गाउँ वन फडानी गरेर बनेको करिब तीन सय घर परिवारको बस्ती छ ।


धनुषाको राष्ट्रिय वनको करिब ३ सय ६० हेक्टर जमिनमध्ये १८ हेक्टर सिमसार क्षेत्र छ । राजमार्गदेखि दस किमि दक्षिण चारैतिर बस्ती छ । धरमपुर, मंगलपुर, धनुषा, गोविन्दपुर, तेजनगर, किसानपुर, क्षेत्रमा करिब ९ सय बिघा जमिनमा बस्ती छ । पछिल्लो समय सरकारले धनुषा जिल्लामा रहेको एक मात्र राष्ट्रिय वन संरक्षणका निम्ति संरक्षित वन घोषणा गरेपछि वन क्षेत्र विस्तार हुन थालेको हो । तराईको स्रोतका रूपमा रहेको चुरे पर्वत क्षेत्रको दोहन, कटान र संरक्षणको अभावले समथर मधेसको फाँटिलो जमिन क्षयीकरण रोक्न सरकारले २०७३ जेठ १७ देखि संरक्षित वनका रूपमा घोषणा गरेपछि राष्ट्रिय वन क्षेत्रको स्वरूप बदलिएको वन अधिकृत शंकरनारायण झाले बताए । संरक्षित वन घोषणा गरेपछि चरिचरण निषेधित क्षेत्र घोषणा गरिएको छ । संरक्षित वन क्षेत्रमा उपभोक्ताले रूख काटन छाडेका छन् । विगतमा गाई भैंसी, खसी बाख्रा चराउने गरे पनि संरक्षित वन घोषणा भएपछि स्थानीयबासीले खुला चरिचरण गर्न छाडेका छन् । सरकारले अनियमित कटान र चरिचरण क्षेत्र निषेध घोषणा गेपछि कसैले रूख काटने साहस गर्दैनन् । ‘स्थानीय उपभोक्ताले पुराना रूखहरू मौका छोपेर चोरेर काटने गरेका थिए, अहिले पूर्णरूपमा नियन्त्रण गरिएको छ,’ अधिकृत झाले भने, ‘मधेसमा वन संरक्षण गर्न अप्ठयारो भन्दै आए पनि समन्वयकारी भूमिका निर्वाह गरेपछि वन संरक्षण सम्भव भयो ।’


सरकारले २०६९ फागुन १४ गते राष्ट्रिय वनका रूपमा संरक्षित वन व्यवस्थापन योजना स्वीकृत गरेपछि धनुषाधाम नगरपालिकाको प्रभाव क्षेत्र राष्ट्रिय वनका रूपमा संरक्षण गर्न थालिएको छ । धनुषामा जिल्ला वन कार्यालयले सहजीकरण, समन्वय गर्दै व्यवस्थान गर्दै आएको छ ।


दक्षिणमा धनुषाधाम, पश्चिममा लालगढदेखि बाहुनमारासम्म पूर्वमा सिन्धुली धनुषा र महोत्तरीको सिमाना हुँदै बगेर आउने रातुखोला, धनुषामा जलाधखोला, बालुवाखोला, वाणगंगा खोला, सिराहा र धनुषाको सिमाना कमला नदी जलाधार क्षेत्र वनको सिमाना पर्छ । धनुषामा जिल्लाको सबै वन क्षेत्रको सुरक्षार्थ १९ जना सशस्त्र वन रक्षक, वन रक्षक ४ जना र इलाका वन कार्यालय अन्तर्गत ३६ जना वन रक्षक कार्यरत छन् । धनुषाधाम संरक्षित वन प्रदेश नं २ को एक मात्र संरक्षित वन क्षेत्र हो । धनुषाको २७ हजार हेक्टर वन क्षेत्रले ओगटेको छ । धनुषामा ४१ वटासामुदायिक वन उपभोक्ता समूह क्रियाशील छन् ।


प्रकाशित : आश्विन ४, २०७६ ११:२७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चिसो भुईमा सुत्छन् बाढीपीडित

शाहीमान राई

इनर्वा, धनुषा — जनकनन्दनी गाउँपालिका–१ इनर्वाकी ७५ वर्षीया भागवदेवी सदा बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएकी छन् । इनर्वाकी ७८ वर्षीया राजकुमारी सदा पनि छिमेकी कै शरणमा छिन् । उनीहरुजस्तै सोही गाउँकी ७५ बर्षिया आरतीदेवी गिरी, ५५ बर्षिया जुलवीदेवी सहनी, ५० वर्षीया सीता सदा, ४० वर्षीया निरुदेवी दास, ४९ वर्षीया काउलीदेवी कामत लगायत धनुषाका बाढीपीडित छिमेकीको शरणमा छन् ।

‘बाढीले छाप्रो बगाइदियो, खाने अन्न छैन, पकाउने भाँडाकुँडा छैन, ओढ्ने लुगा छैन, कसरी जिउने हामी गरिब मान्छे ?,’ भागवदेवीले दुःखेको पोखिन्, ‘घरको चिनोबानो छैन, सरकारले राहत दिनुपर्‍यो, घर बनाइदिनुपर्‍यो, हाम्रो माग यही छ हजुर ।’

भारतीय सिमावर्ती गाउँ इनर्वास्थित दशगजा आसपासको क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदाय बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । साँघुरो जमिनमा बनाएको छाप्रो घर, बनिबुत्तो गरेर जोहो गरेको खाद्यान्न, अन्नपानी, चामल, नुल, तेल, तरकारी, लुगाकपडासहित जीविकोपार्जनका निम्ति पालेका गाई–भैंसी, खसी–बाख्रा, कुखुरा र खेतीपाती समेत बगाएपछि विचल्लीमा परेका छन् ।

वर्षा र बाढीले डुवानमा परेको जमिन केहीदिनदेखि ओभानो हुँदै गएपछि सरकारी तथा गैरसरकारी संघसंस्थाबाट राहत स्वरुप पाएको एकथान पाल टाँगेर आफ्नै थातथलोमा बस्न थालेका छन् ।

राहत पाएको दाल, चामल, चाउचाउ, चिउरा, प्लाष्टिकका थालभाँडा, कम्बल ओढेर रात काट्न बाध्य छन् ।

जिल्लाका अधिकांश बाढीपीडित परिवार चिसो भूईंमा सुत्न बाध्य छन् । भूईंमा सुत्न बृद्धबृद्धा, बालबालिका र सुत्केरीलाई निकै कठिनाई भएको बाढीपीडित परिवारले बताए ।


प्रकाशित : श्रावण ११, २०७६ ११:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×