कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कालोपत्रेको माग गर्दै चक्काजाम

पानी पर्दा हिलो र घाम लाग्दा धूलोले आजित भएका स्थानीयले दैनिक आधाघण्टा वृद्धि गर्दै चक्काजामको चेतावनी 

(सर्लाही) — असार अन्तिम साता भएको अविरल वर्षामा पूर्व–पश्चिम राजमार्ग भत्किएर क्षतविक्षत भए पनि कालोपत्रे नगरेको भन्दै सर्लाहीको नयाँ रोडबासीले विरोध गर्दै बिहीबार चक्काजाम गरेका छन् । कालोपत्रे नहुँदा प्रत्येक दिन धुलो खानुपरेकाले राजमार्गमा चक्काजाम गर्नु पर्ने बाध्यता आइलागेको स्थानीयको भनाइ छ । 

कालोपत्रेको माग गर्दै चक्काजाम

चौबीसै घण्टा व्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा ठूला–ठूला खाडल भएको महिनौं बितिसक्दा समेत सम्बन्धित निकायले कालोपत्रे गर्ने काममा तदारुकता नदेखाएकाले चक्काजाम गर्नुपरेको स्थानीयको भनाइ छ । ‘सडक क्षतविक्षत भएकाले घाम लाग्दा सयौं सवारी साधनले उडाउने धुलोले हैरान छौं, दुर्घटनाको सम्भावना पनि उतिकै छ,’ नयाँरोड बजारस्थित पूर्व–पश्चिम राजमार्ग किनारमै किराना पसल राखेका स्थानीय रामहरि प्रसार्इंले भने, ‘पानी परेपछि भत्केको ठाउँमा पोखरी बन्छ, अहिलेसम्म ठूलो दुर्घटना टर्दै आएको छ, ठुलो दुर्घटना नहोस् भन्नका लागि पनि हामीले चक्काजाम गरेका हौं ।’ पानी परेका बेला खाडल नदेखिने भएकाले दैनिक आधा दर्जन साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रसाईंले जानकारी दिए ।


सडकको दुरावस्था देखेर चक्काजाममा परेका यात्रुले समेत चक्काजामको स्वागत गरेका थिए । बिहीबार बिहान पहिलो दिन आधाघण्टा मात्र चक्काजाम गरिएको र अब सडक मर्मत सम्भार नहुञ्जेल दैनिक आधाघण्टाको दरले बढाउँदै चक्काजाम गरिने नयाँरोडबासीको चेतावनी थियो । पूर्व–पश्चिम राजमार्गका अन्य स्थानमा भएका स–साना खाल्डाखुल्डी केही महिनाअघि मर्मत गरिए पनि ठूला–ठूला खाडल सहित क्षतविक्षत नयाँरोड बजारस्थित झन्डै १०० मिटर क्षेत्र भने मर्मत गरिएको छैन ।


राजमार्गमै बनेको खाल्डाखुल्डीका कारण साना सवारी साधन दिनहुँ दुर्घटनामा परिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । खाल्डाखुल्डीकै कारण रातको समयमा दुर्घटनाको जोखिम बढी हुने ट्राफिक प्रहरीको भनाइ छ ।


राजमार्गमा बनेको खाल्डो पुरेर कालोपत्रेका लागि टेन्डरको सूचना प्रकाशित भइसकेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले बताए । उनले केही समयपछि ठेकेदारमार्फत राजमार्गमा कालोपत्रे गरिने जानकारी दिए । डिभिजन सडक कार्यालयले स्थानीयकै कारण पूर्व–पश्चिम राजमार्गस्थित नयाँरोडमा कालोपत्रे भत्किएको जनाएको छ । ‘राजमार्गको अन्य स्थानमा कालोपत्रे भत्किएको छैन, स्थानीयले पनि ल्याएर फालिदिन्छन्, जसले गर्दा त्यहाँको कालोपत्रे अन्य स्थानमा भन्दा चाँडो भत्केको छ,’ उनले भने, ‘असार अन्तिम साताको वर्षाले पनि थप क्षति पुगेको छ ।’ कालोपत्रे गर्नका लागि ठेक्कै प्रकृयामा जानु पर्ने भएकाले साउनमा ग्राभेल हालेर तत्कालका लागि खाडल पुरिएको दारोगा प्रसादले बताए । उनले चाँडै नै राजमार्गमा बनेको खाल्डोमा कालोपत्रे हुने जानकारी दिए ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?