समयअघि नै निर्माण

पर्सा — एसियाली विकास बैंकको सहयोगमा वीरगन्ज महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाको काम ६ महिनाअघि नै सक्ने दाबी ठेकेदार कम्पनीले गरेको छ । 

ठेकेदार कालिका कन्सट्रक्सनका वीरगन्ज परियोजना प्रमुख ठाकुरप्रसाद ढकालका अनुसार परियोजनाको काम हालसम्म करिब ४५ प्रतिशत सम्पन्न भएको छ । सम्भौताअनुसार परियोजनाको काम डिसेम्बर २०२० सम्म सम्पन्न गर्नु पर्नेछ । हालकै गतिमा काम भए यो परियोजना निर्धारित समयभन्दा करिब ६ महिनाअघि नै सम्पन्न हुनेछ ।


गत वर्ष मझौला एकीकृत सहरी परियोजनाले समेट्न नसकेका महानगरका भित्रि सडकलाई यो परियोजनामा प्राथमिकतामा राखिएको छ । तेजारथ टोल, शिरोमणि नगर, पिपरा चिनिमिल बाइपास आदि सडक यस पटक प्राथमिकतामा परेका छन् । महानगरका अधिकांश टोलमा डुबानको समस्या रहेको छ । डुबान अन्त्य गर्न प्रत्येक सडकसँगै नाला पनि निर्माण गरिएका छन् । अधिकांश स्थानमा भूमिगत नाला रहेका छन् ।


ढकालका अनुसार कुल १ अर्ब ९२ करोड २० लाख ८ हजार ६ सय ८० (भ्याट बाहेक) को यो परियोजनामा साढे ६ प्रतिशत वीरगन्ज महानगरको र बाँकी एसियाली विकास बैंकको लगानी रहेको छ । कालिका र चिनियाँ कम्पनी जेडटीएसजे परियोजनाको ठेकेदार हुन् । ठेक्कामा कालिकाको ८० र जेडटीएसजेको २० प्रतिशत हिस्सा रहेको छ । परियोजना अन्तर्गत हालसम्म बाइपास सडक ६ किमि तयार भइसकेको छ । प्रिपा लिंक ४ किमि र घन्टाघर लिंक ४ किमि सडकमध्ये करिब ७ किमि सडक तयार भइसकेको छ । नेसनल मेडिकल कलेज चोकदेखि सेन्ट जोन्स स्कुल हुँदै ब्रह्म चोक करिब अढाइ किमि तयार भइसकेको छ भने भिष्वा हुँदै आर्युवेद अस्पतालसम्म डेढ किमि सडक तयार भइसकेको छ । रेल्वे रोड अढाई किमि तयार भइसकेको छ ।

प्रकाशित : आश्विन २, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?