कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राजस्व लक्ष्य फेरि पुगेन

(पर्सा) — राजस्व संकलनको दृष्टिले मुख्य ५ भन्सारको सूचीमा पर्ने वीरगन्जका दुवै भन्सार कार्यालयले भदौ महिनामा मासिक राजस्व असुलीको लक्ष्य भेट्टाउन सकेनन् । वीरगन्ज/आईसीपी तथा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय राजस्व असुली लक्ष्य भेट्टाउन असफल भएका हुन् ।

वीरगन्ज भन्सार कार्यालयले भदौ महिनामा १८ अर्ब ९१ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा जम्मा १४ अर्ब ७९ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सक्यो । यो लक्ष्यको केवल ७८ प्रतिशत मात्र हो ।


कार्यालयका सूचना अधिकृत मनीष महतो राजस्वमा योगदान गर्ने प्रमुख वस्तु नयाँ सवारी साधनको आयात घट्नु यसको मुख्य कारण रहेको बताउँछन् । ‘नयाँ सवारी साधनको आयात करिब १५ प्रतिशतले घट्न गएको छ,’ उनले भने, ‘त्यसबाहेक राजस्वमा योगदान गर्ने अर्को मुख्य वस्तु इन्धनको मूल्य घट्दा पनि त्यसले राजस्वमा प्रभाव पर्न गएको छ, इन्धनको आयात त बढेको छ, तर यसको मूल्य घट्दा त्यसले राजस्व तुलनात्मक रूपमा कम उठेको छ ।’


यसबाहेक औद्योगिक कच्चा पदार्थ तथा फलाम उद्योगका कच्चा पदार्थहरू एमएस विलेट, एचआरसिट आदिको आयात पनि घटेको छ । तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तु नाका परिवर्तन गरेर सिर्सिया सुक्खा बन्दरगाह तर्फ जानु तथा गत आवको तुलनामा राजस्व असुली लक्ष्य पनि २७ प्रतिशतको हाराहारीले वृद्धि हुनु पनि राजस्व असुली लक्ष्य भेट्टाउन नसक्नुका अन्य कारण रहेको महतो बताउँछन् ।


यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि भदौ महिनामा राजस्व असुली लक्ष्य भेट्टाउन सकेन । उसले पनि लक्ष्यको केवल ८० दशमलव ५१ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो । भदौ महिनामा ४ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ३ अर्ब ३८ करोड रुपैयाँ मात्र संकलन गर्न सकेको छ ।


कार्यालयका सूचना अधिकृत विकास साह भदौ महिनामा बिसिएन र बिआरएन रेलको आवागमन घटेकाले त्यसको प्रभाव राजस्व असुलीमा पर्न गएको बताउँछन् । त्यसबाहेक बर्सेनि यसै सिजनमा राजस्वमा योगदान गर्ने मुख्य वस्तु चिनी, इनर्जी ड्रिङक आदिको आयात घटेकाले पनि राजस्व असूली घटेको हो । चालु आवका लागि यो भन्सारले ४१ अर्ब ८८ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ । साउन महिनामा ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व असूलीको लक्ष्य पाएको यो भन्सारले शत प्रतिशत लक्ष्य भेट्टाएको थियो ।


प्रकाशित : आश्विन २, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?