डीएनए परीक्षण गर्न खर्च अभाव

रौतहट — आर्थिक अभावले यहाँका एक अभिभावकले आफ्नै छोराको डीएनए परीक्षण गराउन पाएका छैनन् । हराएको छोरा १७ महिनापछि भेटिए पनि अभिभावकले पाएका छैनन् । प्रशासनले डीएनए परीक्षण गराएपछि मात्र जिम्मा लगाउने भनिए पनि खर्च अभावले लैजान नसकेका हुन् । बालकलाई लामो समयदेखि महिला तथा बालबालिका सेवाकेन्द्र गरुडामा राखिएको छ ।

चन्द्रपुर नगरपालिका १० पडरियाटोलका चन्देश्वर बैठाले आफ्नो ६ वर्षीय छोरा अविनाश बैठाको डीएनए परीक्षण गराउन खर्च अभाव भएको बताए । ‘काठमाडौं गएर परीक्षण गराउन २०/२५ हजार लाग्छ रे,’ उनले भने, ‘यत्रो रकम कहाँबाट जुटाउने । आफ्नै छोरा पाउन कष्ट बेहोर्नुपर्‍यो ।’ बैठा ट्याक्टर चालक हुन् । गरिब परिवारका उनी आर्थिक अभावकै कारण तनावमा छन् । हराएर फेला पारेको छोराको प्रमाण बोकेर जाँदा अर्को मानिस पनि मेरो हो भन्न आएपछि जिल्ला प्रशासनले डीएनए परीक्षण गराउन भनेको हो । महोत्तरी औरैही ६ का रामलोचन सोनारले अविनाश आफ्नो छोरा भनेर दाबी गर्न आएका थिए । प्रहरीले प्रमाण ल्याउन भनेपछि सोनार सम्पर्कमा छैनन् । उनी झूटो बोलेर हिँडेको आशंका गरिएको छ ।


एक साताअघि जिल्ला प्रशासन गौरमा भएको छलफलमा अविनशाले बुबालगायत सबै नातेदारलाई चिनेका थिए । तर आमा अञ्जली देवीलाई चिनेनन् । यही कारण प्रशासन झस्कियो । दुवैथरीको दाबी र बालकले आमा नचिनेपछि प्रशासन कसलाई जिम्मा लगाउने भन्ने अन्योलमा परेको हो । यही कारण डीएनए परीक्षण गराएर मात्र बालक जिम्मा लगाउन लागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । ‘बैठा परिवारलाई आर्थिक संकटका कारण डीएनएमा लाग्ने खर्च जुटाउन नसकेको भन्ने सुनेको छु,’ उनलेभने, ‘त्यसका लागि पहल हुँदै छ । चाँडै डीएनएका लागि काठमाडौं पठाउँछौं र समस्या समाधान गर्छौं ।’ २०७५ जेठ ३० गते बिहान ८ बजे घर नजिकको पसल छेउबाट अविनाश हराएका थिए । साझसम्म घर नआएपछि अभिभावकले खोजतलास सुरु गरेका थिए । त्यसपछि ३१ गते इलाका प्रहरी चन्द्रनिगाहपुर खोजतलासको निवेदन दिएका थिए । प्रहरीले व्यापक खोजे पनि फेला पारेको थिएन । अविनाश स्थानीय एभरग्रिन बोडिङ स्कुलको नर्सरी कक्षामा पढ्दै थिए ।


उनी हराएपछि कटहरिया ८ बगहीका राजकिशोर महतोले बालक फेला पारेको भन्दै एक महिनाअघि महिला सेल गरुडामा बुझाएका थिए । उनी अहिले पनि सेलकै संरक्षणमा बसेका छन् । महातोले मनस्थिति बिग्रिएको एक महिलाले छाडेर गएको प्रहरीलाई बताएका छन् । बैठा परिवार महतोको कुरा पत्याउन तयार छैनन् । महतोले केही समय अविनाशलाई घरमा राखेर २०७५ माघ २२ गते प्रहरीलाई जिम्मा लगाएका थिए । उनलाई लिन कोही अभिभावक नआएपछि महतोले नै घर लगेका थिए । घटनाको १६ महिनापछि बैठा परिवारले थाहा पाएका थिए । त्यसपछि महतोले फेरि महिला सेलमा बालक बुझाएका हुन् । बैठाका २ छोरी र २ छोरा छन् । अविनाश कान्छो छोरा हुन् । उनले छोरा पाउन जन्मदर्ता, वडा कार्यालयले गरेको नाता सिफारिस, विद्यालयलको सिफारिस तथा आफ्नो सन्तानसँग भएको फोटोसमेत पेस गरेका छन् । बुबा चन्देश्वरले आफ्नै छोरा लिन डीएनए परीक्षण गराउनुपर्दा दु:ख लागेको बताए ।

प्रकाशित : आश्विन १, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?