कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यान मुद्दामा मेयर–उपमेयर 

श्यामसुन्दर शशि

जनकपुर — ज्यानसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेयता हँसपुर नगरपालिकाका मेयर, उपमेयर तथा तीन वडाध्यक्ष तथा एक मनोनित सदस्यसहित ६ कार्यपालिका सदस्य सम्पर्कविहीन भएका छन् । नगरका बहुसंख्यक पदाधिकारी अनुपस्थित रहेका कारण नगरपालिकाको कामकाज ठप्प प्रायः भएको छ ।

हंसपुर नगरपालिका २ बघचौडाका ५० वर्षीय तपेश्वर मण्डलको मृत्यु प्रकरणमा मेयर रामज्ञान मण्डल, उपमेयर रेणुकुमारी झा, वडानम्बर २ का वडाध्यक्ष उदयकुमार साह, ३ का वडाध्यक्ष उदयकुमार सिंह, ४ का वडाध्यक्ष किसोरी यादव तथा मनोनित कार्यपालिका सदस्य श्याम राउतमाथि ज्यानसम्बन्धी उजुरी परेको हो ।


मेयर, उपमेयरसहित नगर पालिकाका ९ वडाध्यक्षमध्ये ३ वडाध्यक्ष सम्पर्कविहीन बनेपछि नगरपालिका तथा ती वडामार्फत प्रदान गर्दै आएको सेवा सुविधाबाट सेवाग्राही वञ्चित भएका छन् । नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य, कृषि, भूमि, सामाजिक सुरक्षा कार्यक्रम प्रभावित भएका छन् भने मातहातका शिक्षा, स्वास्थ्य, कृषि, पशुलगायतका सेवा कार्यालयमा कार्यरत कर्मचारीले दसैंको मुखमा पनि तलब भत्ता पाउने नपाउने आशंका व्याप्त भएको छ ।


‘दसैं आउन दुई साताभन्दा पनि थोरै समय बाँकी छ । नगरपालिकाका पदाधिकारी सम्पर्कविहीन छन् । दसैं अघि तलब भत्ता भुक्तानी हुन्छ कि हुँदैन, अझै पनि अन्योल छ ।’ बघचौडा उच्च माविका एक शिक्षकले गुनासो पोखे ।


गत आर्थिक वर्षमा भएका विकास निर्माणका अधिकांश योजनाको भुक्तानी अझै पनि हुन सकेको छैन । मेयर–उपमेयर बीचको विवादको कारण भुक्तानीबाट वञ्चित रहेका उपभोक्ता समितिका पदाधिकारी अचेल नगरपालिकाको चक्कर काट्न बाध्य छन् ।

यसका अतिरिक्त वडासमितिबाट प्रदान गरिँदै आएको जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, कृषि मोटर, स्वास्थ्य लगायतका सिफारिस हुन सकिरहेका छैन । खडेरी परेको कारण किसान सहुलियत दरको कृषि मोटर खरिद गर्न चाहन्छन् तर यसका लागि वार्डको सिफारिस चाहिन्छ । यसैगरी असाध्य रोगका बिरामी पनि सिफारिसबाट वञ्चित भएका छन् ।


‘कृषि मोटर लिन सिफारिस गरिदिने कोही भएन । यस वर्षको धान बाली नष्ट हुने भयो ।’ हंसपुर नगरपालिका ४ नरहियाका शैलेन्द्र यादवले भने । मेयर उपमेयर बीचको विवादको कारण सिंगै नगरपालिकालाई मर्कामा पार्नु उचित नभएको यादवको भनाइ छ । उनले भने, ‘जनप्रतिनिधि र सर्वदलीय बैठक बोलाएर समस्याको समाधान खोज्नु पर्छ । नभए सिंगै नगरको विकास निर्माण ठप्प हुनेछ ।’


राष्ट्रिय जनता पार्टीको टिकटमा निर्वाचित मेयर रामज्ञान मण्डल र उपमेयर रेणुकुमारी झा बीचको विवाद नयाँ होइन । मेयर मण्डलले दो श्रो नगर सभामा नगरपालिकाको केन्द्र सार्ने प्रस्ताव ल्याएदेखि नै दुवै जना बीचको विवाद सुरु भएको थियो । विवादकै क्रममा साउन २१ गते मेयर र उपमेयर समर्थक बीच झडप भएको थियो ।


झडप साम्य पार्न सुरक्षाकर्मीले केही राउन्ड हवाई फायर गर्नुका साथै लाठी चार्ज समेत गरेका थिए । यसै क्रममा हंसपुर २ बघचौडाका ५० वर्षीय तपेश्वर मण्डल सख्त घाइते भई जनकपुर अञ्चल अस्पताल भर्ना गराइएका थिए । उपचारकै क्रममा मण्डलको भदौ २१ गते मृत्यु भएको थियो ।


मण्डलको मृत्यु भएको अर्को दिन अर्थात् भदौ २२ गते उपमेयर रेणुदेवी झाको नेतृत्वमा आएका मृतकका छोरा राजकुमार मण्डल सहितका बघचौडावासीले मेयर रामज्ञान मण्डल, वडानम्बर ३ का वडाध्यक्ष उदयकुमार सिंह, कार्यपालिका सदस्य श्याम राउत तथा मेयरका सहयोगी लालबाबू राउतविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा किटानी जाहेरी दिएका थिए ।


तर, मेयर र उनका समर्थकविरुद्ध उजुरी दर्ता भएको चार दिन नबित्दै भदौ २६ गते मेयर समर्थकले उपमेयर रेणुकुमारी झा हंसपुरनगरपालिका २ का वडाध्यक्ष उदय साह तथा हंसपुर ४ का वडाध्यक्ष किसोरी यादवलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय धनुषामा पुनः ज्यानसम्बन्धी कसुर मुद्दामा उजुरी दिएका थिए । उजुरी परेयता उनीहरू सम्पर्कविहीन छन् ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दुवै उजुरी एउटै घटनासँग सम्बन्धित भएकाले एउटै फाइलमा राखी अनुसन्धान अगाडि बढाएको बताएका छन् । उनले भने, ‘प्रहरी अनुसन्धान जारी छ । भिसेरा रिपोर्ट आइसकेपछि अनुसन्धान प्रक्रृयालाई अझै सघन बनाइनेछ ।’

प्रकाशित : भाद्र ३१, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?