१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चुरेमा ढुंगा तस्करको ‘रजगज’

शिव पुरी

रौतहट — एक दशक अघिसम्म चुरेको सिरबाट बग्ने चाँदी नदी ढुंगाको ठूलो खानी जस्तै देखिन्थ्यो । अहिले त्यो क्षेत्रमा ढुङ्गा पातलिँदै गएका छन् । खानी जस्तै देखिने नदीको ढुंगा रातारात संकलन गरी लगेपछि पातलिँदै गएको हो ।

गत वर्ष मकवानपुरको बकैया गाउँपालिकाको ठेक्का भन्दै रौतहट मकवानपुर सीमाक्षेत्रको मोरङ्गे नजिक चाँदी नदीबाट ठूलो परिणाममा ढुंगा लगे । वन र स्थानीय प्रशासनले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् । अहिले त्यस क्षेत्रमा अर्को समूह साइड हेर्न पुगेको छ ।


पूर्व–पश्चिम राजमार्गबाट झन्डै ९ किमि उत्तर चुरेक्षेत्रबाट ढुंगा तस्करी हुने क्रम रोकिएको छैन । प्रत्येक वर्ष असार–साउनमा बन्द भए पनि स्थानीयतहले ठेक्का लगाएपछि त्यसैको आडमा तस्करी हुने गरेको हो । दिनहुँ पचासौं टिप्पर गाडीले ढुंगा ओसारेको स्थानीय दिलबहादुर तामाङले बताए । ‘चुरेमै आएर ढुंगा लैजान थालेका छन्,’ उनले भने, ‘गाउँपालिकाको ठेक्का भनेर ठेकेदारले ढुंगा लग्यो ।’ चुरेमै तस्करले ढुंगा ओसार्न थालेपछि वनले कडाइ गरेको थियो । वनले रोक्दा रोक्दै पनि ठक्काका नामा झन्डै १५ हजार घनमिटर ढुंगा लैजान भ्याएको थियो ।


जथाभावी नदी दोहन, चुरे क्षेत्र अतिक्रमण र त्यस क्षेत्रको ढुंगा तस्करीमा स्थानीयको समेत सहभागिता देखिएको छ । यो क्रम पछिल्लो २ वर्षयता तिब्र भएको छ । केहीले नदीबाट ढंगा संकलन गरी बाटोमा राखेका छन् । चाँदीको सिरको ढुंगा मोरङ्गे, ईपिलिघारी, भोलनटार हुँदै बारा पुग्ने गरेको पाइएको छ ।


त्यस्तै धन्सार क्षेत्रबाट समेत ट्याक्टरमा ठूलो मात्रामा ढुंगा तस्करी हुँदै आएको छ । धन्सार खोलाबाट निकालिएको ढुंगा रातारात क्रसर उद्योगमा पुर्‍याइन्छ । तस्करीमा संलग्न कामदारहरू नदीको आडमा अस्थायी क्याम्प जस्तै बनाएर बस्छन् ।


नदी किनारमा शनिबार निकै चहलपहल थियो । स्थानीयका अनुसार ढुंगा लैजानका लागि ठाउँ छनोट गर्न उनीहरू क्रियाशील भएका हुन् । चुरे र खोला नदीको अनियन्त्रित दोहनका कारण पानीको स्रोतमात्र घटेको छैन, सिंचित जग्गा समेत बलुवाले पुरिएर खण्डहरमा परिणत हुँदै गएको छ ।


डिभिजन वन प्रमुख विनोद सिंह यसपटक चुरे क्षेत्रबाट ढुंगा निकाल्न नदिने बताउँछन् । ‘चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ संकलन, उत्खनन गर्न प्रतिबन्ध छ,’ उनले भने, ‘स्थानीयतहले हचुवाका भरमा ठेक्का लगाइदिँदा समस्या हुने गरेको छ ।’ उनले यसपटक चुरेमा कडा निगरानी राख्ने सुनाए ।


चुरे क्षेत्रको अवैध बस्तीले पनि समस्या निम्त्याएको वनको बुझाइ छ । दुई दशक अघिसम्म चुरे पहाडबाट आउने नदीको पानी तराई/मधेसमा उब्जनी बढाउने स्रोत मानिन्थ्यो । चुरेबाट बगेर आउने पाँगो माटोले यस क्षेत्रलाई उर्वर बनाउँथ्यो । पछिल्लो समय जताततै ढुंगा उत्खनन्, नदिमा खाडल, दोहनले पाँगो होइन, बालुवा र साना गिटि बग्छ । यसले तराई–मधेसमा हराभरा होइन उब्जनी कम र उजाड बनाएको पाईएको छ ।


पानीको प्राकृतिक बहावमा हुने अवरोधलाई बाढीपहिरोको मूल कारक मानिन्छ । चुरे क्षेत्रका रूख, ढुंगा जथभावि निकाल्ने गरिएका कारण बाढी पहिरोको समस्या बढेको वन अधिकृत सिंहले सुनाए । चुरेबाट रूखबिरुवा, ढुंगा, ग्राभेल लगायत नदीजन्य पदार्थ उत्खनन् गर्दा सतह खुकुलो भएर वर्षाको पानीसँगै बालुवा तराई/मधेसका खोलामा थुप्रिएर सतह उठ्दै जान्छ ।


मधेसमा बाढी र डुबान जस्ता समस्या समाधानका लागि खोलामा होइन मूल चुरे क्षेत्रमै उपचार खोज्नुपर्ने पूर्व सभासद देवेन्द्र पटेलले बताए । ‘स्थानीयतले हचुवाका भरमा नदीजन्य वस्तुको ठेक्का लगाउँछ । त्यसैको आडमा तस्करले चुरे क्षेत्र प्रवेश गरी ढुंगा लैजान्छ,’ उनले भने, ‘सम्बन्धित निकायबाट तत्कालै यस्तो कार्य रोक्नुपर्छ । र चुरेको संरक्षणमा जोड दिनुपर्छ ।’ चुरेले नेपालको कुल क्षेत्रफलको १२ दशमलव ७८ प्रतिशत भूभाग ओगटेको वन कार्यालयले जनायो ।


धमाधम ठेक्का

अघिल्लो वर्ष जस्तै अहिले पनि चन्द्रपुरले ठेक्काको सूचना निकालेको छ । अहिले जिल्लाका विभिन्न नदी छेउका स्थानीयतहले नदीजन्य पदार्थको निकाश पैठारीको ठेक्का सूचना निकालका छन् । केहीले ठेक्का लगाइसकेका छन् । असोज १ गतेबाट ठेक्का अनुसार नदीजन्य वस्तुको निकाशी हुन्छ । त्यसैको आडमा ठेकेदारले जथाभावि उत्खनन गर्छन् ।


जिल्लाको चाँदी, वाग्मती, लालबकैया र लमाहा नदीमा निकासी पैठारीको ठेक्का लगाउने गरिन्छ । गत वर्ष चन्द्रपुर नगरपालिकाले चाँदी नदी उत्तर र वाग्मतीमा लगाएको ठेक्कामा ठेकेदारले मापदण्ड विपरीत खाडल बनाएपछि त्यसको सर्वत्र विरोध भएको थियो । ढुङ्गा निकासी गर्न नपाएपछि ठेकेदारले नगरपालिका विरुद्ध मुद्दा हाले ।


मुद्दा अहिले जिल्ला अदालत गौरमा चलिरहेको छ । राजमार्गबाट उत्तरतर्फ ठेक्का लगाउँदा विवादमा पर्ने गरेको हो । चुरेको आसपास स्थानीयतह वा कुनै निकायले ठेक्का लगाउन पाइँदैन ।


मधेस केन्द्रित दलका नेताले चुरे दोहनका कारण मधेस डुबानमा परेको भन्दै नियन्त्रणको मुद्दा उठाउन थालेका छन् । जथाभावि दोहनका कारण चाँदी नदीले धार परिवर्तन गरी बस्ती बगाएपछि चन्द्रपुर ५ को खैरा गाउँका सबै विस्थापित भएका छन् । चुरेक्षेत्रबाट निस्कने खहरेको संख्या बढ्दो छ । यसले मानवीय, भौतिक र खाद्यान्न संकट थप्ने निश्चित छ ।


चुरे विनाश रोकेर संरक्षणलाई प्राथमिकतामा नराखे सम्म खतराबाट जोगिन कठिन हुने वन अधिकृत सिंहको बुझाइ छ । वाग्मती र लालबकैया क्षेत्रमा पनि बढ्दो दोहनका कारण बाढी र डुबानले तराई मधेशलाई पीडामा पारेको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?