कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईसीपीमा प्यासेन्जर टर्मिनलको तयारी

पर्सा — वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा प्यासेन्जर टर्मिनल समेत सञ्चालन गर्ने तयारी गरिँदै छ । आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका प्रमुख हेमेन्द्रमोहन शाहीले हाल प्रयोगमा आइरहेको वीरगन्ज भन्सार नाका हुँदै गुड्ने सबै खाले चार पांग्रे यात्रु बाहक सवारीको दुईतर्फी आवागमनको गृहकार्य भइरहेको बताए । 

आईसीपीमा प्यासेन्जर टर्मिनलको तयारी

‘तत्काललाई यात्रुले सवारी साधनबाट ओर्लनु नपर्ने गरी सुविधा मिलाइँदै छ,’ शाहीले भने, ‘भारतीय काउन्टर पार्ट पनि यसका लागि तयार छ, असोजबाट सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं ।’ सीमा पारी भारतमा पनि नेपाल तर्फकै जस्तो भारतीय आईसीपी सञ्चालनमा रहेको छ । यसले गर्दा यात्रुबाहक सवारीको आवागमनमा कुनै समस्या हुने छैन ।


तीन पांग्रे टेम्पो, रिक्सा, टांगा बाहेकका चारपांग्रे सवारीसाधनको आवामगन आईसीपी नाकाबाट गर्न सकिनेछ । यसका लागि यसै महिना वीरगन्जको होटेल भिष्वामा नेपाल र भारतका सरोकारवाला निकायका प्रमुखहरूको बैठक समेत सम्पन्न भएको उनले बताए । बैठकमा नेपाल र भारतका भन्सार अधिकारी, अध्यागमन कार्यालय प्रमुखहरू समेत सहभागी थिए । बैठकमा असोजभित्रै आईसीपीबाट यात्रु टर्मिनल सञ्चालनमा ल्याउनेमा सरोकारवाला दुवै मुलुकका निकाय प्रमुखहरू सहमत रहेको र त्यसका लागि आआफ्नै तहबाट गृहकार्य जारी राख्ने प्रतिबद्धता समेत जनाइएको उनले बताए ।


हाल वीरगन्ज–रक्सौल नाकाबाट दुई पांग्रेदेखि चार पांग्रेसम्मका सवारीसाधन आवागमन भइरहेको छ । यात्रुबाहक सवारीसाधनको अत्यधिक चापले उक्त नाकामा भिडभाड घट्न सकेको छैन । जसले गर्दा भारतीय सवारी साधन इन्ट्री गरेर मात्र नेपाल प्रवेश गर्न पाउने नियमको पनि पूर्णत कार्यान्वयन हुन सकिरहेको छैन ।


चारपांग्रे यात्रुबाहक सवारीको आवागमन मात्रै आईसीपीबाट हुँदा वीरगन्ज–रक्सौल नाकाको भिडभाड र चाप करिब ८० प्रतिशतले घट्न जान्छ । यो नाकाबाट दैनिक ३ सयदेखि ५ सय चारपांग्रे यात्रुबाहक सवारीसाधन एक अर्का मुलुकमा आवागमन गर्छन् ।


वीरगन्ज/आईसीपी भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले हाललाई आईसीपीबाट पैदल लाइन नदिने र यात्रु बाहक सवारीलाई मात्र लाइन दिने मौखिक सहमति मात्र भएको बताए । आईसीपीमा यात्रु बाहक सवारीका लागि छुट्टै डेडिकेटेड लाइन नहुँदा सुरुमा समस्या हुन सक्ने उनले बताए ।


मुलुकको पहिलो यो आईसीपी अघिल्लो २०७५ चैतको ते श्रो सातादेखि सञ्चालनमा आएको हो । यो भन्सार नाका सञ्चालनमा आएपछि वीरगन्ज नाकामा हुँदै आएको परम्परागत जाम र भिडभाडको समस्या धेरै हदसम्म कम भएको छ । हाल आईसीपी भन्सार नाका ६० र वीरगन्ज भन्सार नाका ४० प्रतिशत हाराहारीमा प्रयोग हुँदै आएको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?