१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ट्युबमा लुकाएर बजारमा मदिरा

रौतहट — प्रहरीले दिनहुँ अवैध मदिरा बरामद गर्न थालेपछि कारोबारीले नयाँ/नयाँ प्रविधि अपनाउन थालेका छन् । विभिन्न खाले सवारीको प्रयोग गर्दै आएका कारोबारीले पछिल्लो समय गाडीको ट्यूबभित्र मदिरा राखेर ओसार–पसार गर्न थालेको पाइएको छ । कारोबारीको नयाँ शैली देखेर प्रहरीसमेत अचम्ममा परेको छ ।

गुजरा नगरपालिकाको खतबैया टोलमा गाडीको ट्युबभित्र राखेर लैजाँदै गरेको ३५ लिटर अवैध मदिरा इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रूपेश साहको टोलीले बरामद गरेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भागेका थिए ।


उनीहरूले सुरुमा जर्किनमै बोक्थे । प्रहरीले थाहा पाई पक्रन थालेपछि बोराले बेरेर लैजान थाले । त्यो पनि समात्न थालेको भन्दै सवारी साधन नै बदल्ने थाले । बस, ट्रकमा ओसार–पसार गर्दै आएका उनीहरू रिक्सा, अटोरिक्सा र इरिक्सा प्रयोग गर्न थाले । प्रहरीले त्यो पनि पत्ता लगाई मदिरा बरामद गर्न थालेपछि अहिले मोटरसाइकल प्रयोग गर्न थालेका छन् ।


गाडीको ट्युबमा मदिरा राख्न सुरु गरेको प्रहरी नायब उपरीक्षक बबित कटवालले बताए । ‘अवैध मदिरा कारोबारीले सबै हतकण्डा अपनाउन थालेका छन्,’ उनले भने, ‘जतिसुकै कडाइ गर्दा पनि अवैध मदिरा ओसार–पसार गर्नेहरूमा चेतना आएको छैन ।’ गाडी पञ्चर भएको जस्तै गरी ट्युबभित्र मदिरा ओसार–पसार गर्न थालेपछि प्रहरीले यसमा पनि कडाइ गर्न थालेको छ ।


गाडीको ट्युब बोकेर हिँडेको जो कोहीलाई चेकजाँच गर्न प्रहरी लागिपरेको छ । इलाका प्रहरीले एक साताभित्र २ हजार लिटर अवैध मदिरा बरादम गरी नष्ट गरेको छ । जिल्लाभरि मदिरा कारोबारीविरुद्ध प्रहरी आक्रामक तरिकाले प्रस्तुत भए पनि यसको उत्पादन र कारोबारी निरुत्साही हुन सकेका छैनन् ।


ओसारपसारमा महिला सक्रिय

दुई साताअघि इलाका प्रहरी डुमरियाले घरेलु रक्सीसहित दुई महिलालाई पक्राउ गर्‍यो । उनीहरूले बजारमा बिक्री गर्न लैजान लागेको हाकाहाकी बताए । बसमा मदिरा लैजाने क्रममा प्रहरीले बरामद गर्न थालेपछि उनीहरूले पछिल्लो समय इरिक्सा र टेम्पो प्रयोग गर्न थालेका छन् । पक्राउ परेपछि पनि उनीहरू निर्धक्कसित प्रहरीलाई जानकारी दिन्छन् ।


चन्द्रपुर ४ का महिलालाई प्रहरीले निकै बेर केरकार गर्‍यो । उनीहरू पक्राउ परेको पहिलो पटक भने होइन । गरुडा, शिवनगर, बिर्ता, धमौरा लगायतका बजारमा चन्द्रनिगाहपुरबाट घरेलु मदिराको बिक्री वितरण हुन थालेको सूचनापछि प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बस, ट्रक, साना सवारीको जाँचमा कडाइ गरेका थिए ।


त्यसै क्रममा घरेलु मदिरासहित महिला पक्राउ परेका हुन् । रहरले होइन बाध्यताले मदिरा बिक्री गरेका हौं । पक्राउ परेका महिलाको जवाफ यस्तो थियो । उनीहरूलाई जरिवाना तिराई छाडिएको थियो । पक्राउ परेका महिलाको साथबाट दुई जर्किन मदिरा बरामद गरिएको थियो । ‘हाम्रो अभियान भनेको मदिरा रहित जिल्ला बनाउने हो,’ एसपी खत्रीले भने, ‘मानिसमा चेतनाको कमी छ । कानुन विपरीत गर्न नहुने कामहरू गर्न लागि पर्छन् ।’


बिहार लैजाने लागिएको बरामद

महोत्तरी– जलेश्वर नगरपालिकाको सीमावर्ति वडा नं ५ स्थित पर्सापतेलीबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एकजना नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक राजन लम्सालको नेतृत्वमा गएको गस्तीले दशगजा नजिकको छाप्रोमा लुकाई राखेको अवस्थामा ५८ कार्टुन सोफी मदिरा र कारोबारी राजिव सिंहलाई नियन्त्रणमा लिएको हो ।


सिरहाको सारदा डिस्टिलरीबाट उत्पादित मदिराको कूल परिमाण ५ सय २२ लिटर रहेको लम्सालले जनाए । निम्न आय भएका वर्गले सेवन गर्ने यो मदिरा भारतको बिहारतर्फ तस्करी गर्ने नियतले लुकाएर राखिएको थियो ।

प्रकाशित : भाद्र २९, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?