हराउँदै रैथाने धान

उत्पादन बढी र किराको प्रकोप कम हुने भएकाले किसानहरू हाइब्रिडतिर आकर्षित
शिव पुरी

रौतहट — अन्नभण्डार रहेको तराई–मधेसमा पछिल्लो समय रैथाने धान हराउँदै गएको छ । किसानहरू हाइब्रिडतिर आकर्षित हुन थालेपछि रैथाने लोप हुँदै गएको हो । 

किसानले उत्पादनत्व हेरी धानको बिउ फेरेपछि रैथाने लोप जस्तै भएको छ । पुरानो धानको भात खान मीठो भए पनि रोगले उत्पादन कम हुने देखिएपछि किसान बढी उत्पादन हुने धान खोज्न थालेका हुन् ।


किसानले लगाउन छाडे पनि सरकारले यस्ता धानलाई संरक्षण गर्न लागेको कृषि ज्ञानकेन्द्र गौरले जनायो । पछिल्लो समय भारत र चीनबाट हाइब्रिड धानको बिउ मगाउन थालिएको छ । यस्ता धानको उत्पादन बढी हुने भएकाले यसप्रति आकर्षित भएका हुन् ।


नेपालमा पाइने ५२ जातका धानमध्ये झन्डै ४५ जात लोप भएका छन् । पछिल्लो समय हाइब्रिडतिर किसानको लगाव बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र झाले बताए । ‘रैथाने धान पनि नलगाएका होइनन्,’ उनले भने, ‘पछिल्लो एक दशकयता थोरै लगाउँछन् । ।’ रोगले धान फसल कम हुन थालेपछि किसानले लगाउन छाडेको पाइएको छ ।


बाँस पाते, कनकजिरा, रतुवा, सुगन्ध, पहाडी अनदि, मधेसी मसिनो, एक्लो पहेंले, साँवा, रामधान लगायत ५२ जातका धानमध्ये किसानले सावित्री, रामधान, राधा ४, सावाधान, अर्दिनाथ १, र सुख्खा २, ४ मात्र लगाउन थालेको केन्द्रले जनायो । बाँकीका रैथाने लोप जस्तै भएको छ । सबैभन्दा बढी मन्सुली, कतर्नि, सावित्री धान लगाउने गरेका छन् ।


रैथाने धानमा रोग लाग्न थालेपछि किसानले लगाउनै छाडेको स्थानीय प्रह्लाद थापाले बताए । ‘फसल पनि कम हुँदै गयो । विभिन्न खाले रोग लाग्न छाडेन,’ उनले भने, ‘हाइब्रिडतिर सबैको ध्यान जान थाल्यो ।’


बर्सेनि खडेरीको मार

गत वर्ष रोपाईं सकेको दुई महिनापछि पानी पर्न नसकेर जिल्लाभरिका किसानले खडेरीको सामना गर्नु पर्‍यो । यसपटक उस्तै अवस्था देखिएको छ । जिल्लाका किसानहरू खडेरीले धान सुक्न थालेपछि चिन्तित छन् ।


गढीमाईस्थित समनपुर, सुन्दरपुर, हथिऔल, मदनपुर लगायतका गाउँका किसानको सबैभन्दा बढी धानबाली सुक्न थालेको छ । नहर छेउमै खेतहुनेहरूले समेत पम्पसेटको सहयोगले पानी पटाउन थालेका छन् । जिल्लाको दक्षिणी भेगमा आकाशे पानीको भर पर्नुपर्ने किसानलाई समस्या छ । यसपटक समयमा पानी नपर्दा किसानले ढिला गरी धान रोपेका थिए ।


असारको १५ सम्ममा रोपाईं सक्नुपर्नेमा पानीकै कारण ढिला भएको हो । ज्ञान केन्द्रका प्रमुख झाले अहिले किसानलाई पानीको धेरै आवस्यकता रहेको बताए ।


‘धान हुर्केर बाला लाग्ने समयमा पानी नभई हुँदैन,’ उनले भने, ‘पछिल्लो समय आकाशे पानीकै कारण किसानले खडेरीको सामना गर्नु परेको छ ।’ खडेरीका कारण किसानको धान खेत चिराचिरा पर्न थालेको छ ।’

प्रकाशित : भाद्र २९, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?