कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महिला हिंसाबिरुद्ध सडक नाटक

ओमप्रकाश ठाकुर

सर्लाही — पूर्व–पश्चिम राजमार्गको छेउबाट हिड्दै गरेका छात्रालाई केही किशोरहरूले जिस्क्याए । छात्राहरू आफूलाई सुरक्षित गर्न आआफ्नै तरिका अपनाउँदै थिए । बाटो हिँड्नेहरू कोही छक्क परेर हेर्दै थिए कोही बचाउका लागि जाने सुर कस्न थालेका थिए ।

महिला हिंसाबिरुद्ध सडक नाटक

अचानक रहस्योद्घाटन भयो । छोराछोरीबीचको विभेद, बाल विवाह, महिनाबारीका बेला खेप्नु परेको सास्ती, महिला हिंसा लगायत न्यूनीकरणका लागि किशोर–किशोरीहरू सडक नाटक देखाउँदै थिए । विद्यालय जाँदै गरेका किशोरीको पीडा सुनेर लालबन्दीका स्थानीय भावविह्वल बने ।


नाटकको सुरुमै कलाकारको अक्रामक तरिकाको प्रस्तुतिले स्थानीयलाई गम्भीर बनाएको थियो । बाटोमा केटाहरूले दुःख दिएका त छँदै थिए कक्षामा शिक्षकले पनि छात्राको कुरालाई गम्भीरता पूर्वक नलिने गरेको दृश्यले स्थानीयको मन खिन्न बनायो । नाटकमा विद्यालय र शिक्षक छात्रामैत्री नभएको झझल्को दिएको थियो ।


छात्रालाई महिनाबारी भएका बेला विद्यालयमा भोग्नु परेको पीडा देखेर स्थानीयका आँखा रसाएका थिए । महिनाबारीको बेलामा शारीरिक र मानसिक पीडा भोगेको छात्रालाई शौचालयको व्यवस्था नहुँदा तथा भएको शौचालय समेत जीर्ण एवं ताला लगाइएका कारण खेप्नु परेको सास्तीको अभिनयले प्रदेश संसद बेची लुंगेली गम्भीर बनेकी थिइन् ।


उनको पनि विद्यालयमा छात्राहरूको पीडा देखेर गहभरि आँसु भरिएको थियो । ‘प्रदेश २ मा छोरीहरूको अवस्था दयनीय छ, विद्यालय महिला मैत्री नभएका बेला महिनाबारीकै कारण कतिपय छात्राले पढाई छोड्न बाध्य छन्,’ उनले भनिन्, ‘छात्रालाई विद्यालयमा टिकाई रहन ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल वितरण भइरहेको छ, यस्ता नाटकले पनि समाजको सोच बदल्नुको साथै छात्रालाई विद्यालयमा टिकाई रहन मद्दत पुग्नेछ ।’


कक्षाकोठामा पटक–पटक शौचालय जानका लागि शिक्षकसँग अनुमति माग्दा पनि शिक्षकले जान नदिएपछि छात्रा थप पीडामा परेकी थिइन् । पीडा सहन नसकेर छात्रा घरतर्फ दौडेकी थिइन् । कक्षाकोठाबाट बिना अनुमति बाहिरिएपछि शिक्षकले अभिभावकलाई गलत ढंगले व्याख्या गरेपछि बालिकाका लागि स्थिति थप असहज बन्यो ।


रिसको आवेगमा आएका बालिकाका बुवा र आमाबीच महाभारत सुरु भयो । बालिकाको चाल चलन खराब बनाएको आरोप आमा माथि लाग्यो । तर, बुवा आमाले समेत बालिकाको पीडा बुझ्नै सकेका थिएनन् । बालिका लाजका कारण घरमा केही पनि भन्न सक्ने अवस्थामा थिइनन् । जसका करण बुवाले बालिकाको कम उमेरमै विवाह गर्ने फैसलामा पुगे । यो सबै देखेर बालिकाले मुख खोल्ने निधो गरिन् । आमासहित साथीभाइ र गाउँका समाजको अगाडि महिनाबारीका बेला आफूले भोगेको पीडा सुनाइन् ।


प्रदेश २ का जिल्लाहरूमा बाल विवाह र महिनाबारीका बेला छात्राहरूलाई विद्यालय छोड्नुपर्ने बाध्यताका बारेमा सचेत हुन जनकपुरको लोक सञ्चार रंग मञ्चले सर्लाहीको लालबन्दी र बलराका विभिन्न बस्तीमा शुक्रबार र शनिबार ‘पढ्तै हमर बेटी’ नामक नाटक मञ्चन गरेको छ ।


नाटक देखेका स्थानीय महिला प्राकृतिक रूपमा महिलाले पाएको बरदान महिनाबारीको बेला भोग्नु परेको पीडा समाजका हरेक तह र तप्काका व्यक्तिले बुझुनुपर्नुे धारणा राखे । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई सहयोग पुग्ने गरी चेतनामुलक सडक नाटक देखाइएको नाटकका लेखक रमेशरञ्जन झाले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?