३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्तरोन्नति भएन छोटी भन्सार

पर्सा — भन्सार नियमावलीमा मूल भन्सारको रुपमा उल्लेख भएको १२ वर्ष बिते पनि जिल्लाको भिष्वा छोटी भन्सार मूल भन्सारमा परिणत हुन सकेको छैन । 

भन्सार नियमावली २०६४ को अनुसूची १२ को नियम ६२ को उपनियम १ को खण्ड (क) मा पर्साको भिष्वासहित भद्रपुर, सुठौली, पृथ्वीपुर, सती, दार्चुला, महेशपुर, ठाडी र गुलरिया समेत ९ भन्सारलाई छोटीबाट मूल भन्सारमा स्तरोन्नति गरिने उल्लेख छ ।


तर यीमध्ये भद्रपुर, सुठौली, सती, महेशपुर, ठाडी मूल भन्सारमा स्तरोन्नति भइसकेका छन् । भिष्वा सहित पृथ्वीपुर, दार्चुला र गुलरिया गरी ४ भन्सार भने छोटीमै सीमित छन् ।


वीरगन्ज भन्सार कार्यालय मातहत पर्सामा सिर्सिया, गाडप्रसौनी, भिष्वा र अमृतधारा ठोरी गरी ४ तथा बारामा मटिअर्वा र सिम्रौनगढ गरी आधा दर्जन छोटी भन्सार कार्यालय सञ्चालनमा रहेका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतो हाल भिष्वा र अमृतधारा छोटी भन्सारलाई हेर्ने गरी एक जना नासु सुरेन्द्र साहलाई खटाइएको बताउँछन् । भिष्वा मूल भन्सारमा स्तरोन्नति नहुनुमा सीमा पारी भारतीय भन्सार नहुनु र भिष्वा नाकाबाट पछिल्लो समय मालवस्तुको आयात नहुनु पनि अर्को कारण रहेको बताउँछन् ।


यस बाहेक छोटी भन्सारबाट ५ हजार रुपैयाँभन्दा बढीको माल वस्तु आयात गर्न नमिल्ने र तथा एउटै प्रज्ञापनपत्र पटक–पटक प्रयोग गरी दुरुपयोग समेत हुन सक्ने प्रशस्त सम्भावना रहेकाले बिस्तारै छोटी भन्सारलाई मूल भन्सारमै गाभ्ने नीति रहेको उनले भने ।


भिष्वा छोटी भन्सार प्रमुख साह भने फागुन २३ देखि भारतबाट भैंसी, पाडापाडी आयात गर्दा भारतीय पशु क्वारेन्टाइनको इजाजत अनिवार्य गरिएपछि भिष्वा नाकाबाट नियमित आयात हुने चौपायाको आयात पनि ठप्प भएको बताउँछन् । ‘अब भिष्वा नाकाबाट न त अन्न आयात हुन्छ न चौपाया भित्रिन्छ,’ साहले भने, ‘अहिले म पनि कामविहीन भएर बसेको छु ।’


साहले भिष्वा मात्र नभई जिल्लाकै सुदूर पश्चिममा रहेको अमृतधारा ठोरी छोटी भन्सार प्रमुखको पनि जिम्मेवारी पाएका छन् । तर ठोरी नाकाबाट पनि आयात ठप्पनै रहेको र राजस्व असूली शून्य रहेको उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?