कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्यातिएका पुस्तक, बरन्डामा पढाइ

भरत जर्घामगर

सिरहा — पाठ्यपुस्तक, छात्रवृत्ति रकम विद्यालयले उपलब्ध गराउन नसक्दा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ४ धन्छवारस्थित आधारभूत विद्यालयको पठनपाठन नियमित हुन सकेको छैन । शैक्षिक सत्र सुरु भएको ५ महिना बित्न लाग्दासमेत विद्यालयले पाठ्यपुस्तक उपलब्ध नगराउँदा बालबालिका विद्यालय जान छाडेका छन् ।

च्यातिएका पुस्तक, बरन्डामा पढाइ

कक्षा १ देखि ५ सम्म पठनपाठन हुने विद्यालयमा १ सय ७७ विद्यार्थीको नामांकन छ । तीमध्ये १ सय २ बालबालिका दलित हरूवाचरुवा समुदायका अध्ययनरत छन् । तर, विद्यालयले पाठ्यपुस्तक उपलब्ध नगराउँदा विद्यार्थी नियमित पढ्न आउन छाड्को हुन । बुधबार पुराना च्यातिएका अपुरो किताबका भरमा जम्मा १२ जना विद्यार्थी विद्यालयमा भेटिए ।


विद्यालयमा प्रधानाध्यापक तारणीप्रसाद चौधरी कक्षा ४ र ५ का ७ जना विद्यार्थीलाई बरन्डामा पढाइरहेका थिए । छेउकै बरन्डाम बालविकासका सहयोगी कार्यकर्ता देवकुमारी चौधरी कक्षा ३ का ३ जना बालबालिकालाई पढन अह्राइरहेकी थिइन् । कक्षा १ र २ का २ जना बालबालिकालाई सहयोगी कार्यकर्ता बिना यादवले सिकाई रहेकी थिइन् । कक्षा ४ का नरेशकुमार दास पुस्तक बिनै कापीमा लेखिरहेका थिए । कक्षा ४ की प्रियंका दाससँग पुस्तक त छ तर च्यातिएको पुरानो । उनले पुरानो च्यातिएको किताबबाट पढ्न मन नलाग्ने सुनाइन् ।


शिक्षा ऐन नवौं संशोधनले तराई–मधेसमा एउटा कक्षामा ५० विद्यार्थी तोकेको छ । तर, आधारभूत विद्यालय धन्छवारमा यो ऐनले छुँदैन ।


विद्यालयमा यही अनुपातमा विद्यार्थी अध्ययनका लागि आउँछन् भने कुनै दिन विद्यार्थी नै विद्यालयमा हुँदैन । विद्यार्थी उपस्थिति नहुँनुको कारणबारे विद्यालयका प्रधानाध्यापक चौधरी पाठ्यपुस्तक उपलब्ध नभएकैं कारण यस्तो भएको प्रष्ट्याउँछन् ।


‘पाठ्यपुस्तक खरिदका लागि गाउँपालिकाको शिक्षा शाखाको खातामा ३४ हजार २ सय ८१ रुपैयाँ छ,’ प्रअ चौधरीले भने, ‘विद्यालय व्यवस्थापन समिति चयनमा विवादका कारण खाता सञ्चालन हुननसक्दा रकम निकासा हुन सकेको छैन । रकम निकासा नभएपछि पुरानो पुस्तकले काम चलाउँदै आएका छौं । विद्यार्थी पुस्तक नभएपछि पढ्नै आउँदैनन् ।’


उनले विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गर्न नपाउँदा विद्यार्थी उपस्थितिमा कमी आएको बताए । तर, अभिभावकहरू विद्यालयमा शिक्षक नियमितरूपमा नआउने गरेकै कारण बालबालिका विद्यालय नजाने गरेको बताउँछन् । ‘विद्यालयमा शिक्षक नियमितरूपमा पढाउन आउँदैनन्,’ अभिभावक रवि साहले भने ‘५ महिना बित्न लाग्दासमेत बालबालिकाले पुस्तक पाएका छैनन्, छात्रवृत्ति बाँडिएको छैन ।’


उनी दलित हरूवा चरुवा समुदायका बालबालिका पढ्ने गरेकाले प्रअ र शिक्षकले अभिभावकलाई हेपेर विद्यालयको पठनपाठनमा ध्यान नदिँदा आफ्ना बालबालिकाको भविष्यमाथि भएको दुःखेसो पोखे । साहकै भनाइ अनुसार पनि बुधबार शिक्षक विश्वम्भर शर्मा अनुपस्थित थिए ।


१ सय ७७ बालबालिकाको पठनपाठनका लागि विद्यालयमा दरबन्दीमा प्रअ चौधरी, प्राशि तृतीय विश्वम्भर शर्मा र बालविकास तर्फ सहयोगी कार्यकर्ता शिव कुमारी सिंह, विना यादव, देव कुमारी र कार्यालय सहयोगी रामकुमार यादव कार्यरत छन् । साहका अनुसार मंसिर १९ अभिभावकको भेलाले हरिप्रसाद सदाय, अर्जुन मण्डल, जलाशीदेवी सदाय र बविता कुमारी दासलाई चयन गरिसकेको छ । चयन भएकामध्ये गाउँपालिका कार्यालयले हरिप्रसाद सदायलाई व्यवस्थापन समितिको अध्यक्ष तोक्यो ।


गाउँपालिकाले त्यत्तिखेर पुस २७ गते दुई सदस्यमा छेदीलाल राम र सियावती सदायलाई मनोनित गर्‍यो । तर प्रधानाध्यापक चौधरीसहित ४ नम्बर वडा कार्यालयले नियमपूर्वक गठन नभएको भन्दै त्यसलाई अस्वीकार गरेपछि विद्यालयको खातापाता सञ्चालन हुन नसकेको साहले बताए ।


‘जुंगाको लडाइँले बालबालिकाको भविष्य बिगार्न पाइँदैन,’ सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत कञ्चनकी अभिभावक कौशिलादेवी दासले भनिन्, ‘गाउँपालिका र वडा कार्यालयसँगै विद्यालयका प्रअसमेत पढाउन छाडेर राजनीतिमा उत्रिएपछि बालबालिकाको पढाइमा बाधा पुगेको छ, हाम्रा बालबालिकाको भविष्यमाथि खेलवाड भएको छ ।’


अभिभावक र जिल्ला हरूवा चरुवा अधिकार मञ्चले बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने दोषीलाई शिक्षा ऐन अनुसार कारबाहीको माग गर्दै लक्ष्मीपुर पतारी गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् ।


गाउँपालिकासहित ४ नम्बर वडा कार्यालय, विद्यालय, जिल्ला शिक्षा समन्वय इकाइ सिरहा, प्रहरी कार्यालय, प्रदेश २ जनकपुरस्थित शिक्षा विभाग कार्यालयमा विद्यालयमा रहेको द्वन्द्व व्यवस्थापन गरी नियमितरूपमा पठन–पाठन सञ्चालन गर्न, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ यथाशिघ्र गठन गर्न, पाठ्यपुस्तक, छात्रवृत्ति वितरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।


ज्ञापनपत्र बुझ्दै लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले विद्यालयका प्रअ तारणीप्रसाद चौधरीले पाठ्यपुस्तकका लागि रकम माग नगरेको, विद्यालयको खाता समेत सञ्चालन नगरेकाले प्रअ चौधरीको तलब गाउँपालिकाले रोक्का गरेको जानकारी दिए । उनले विद्यालयका नियमित पठन–पाठन सुचारुका लागि गाउँपालिकाले पहल गर्न पछि नपर्ने बताए ।

प्रकाशित : भाद्र २८, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?