कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तानातानमा कार्यकारी

अवधेशकुमार झा

सप्तरी — गत असार २९ गते गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डललाई थाहै नदिई छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरी कार्यालय आउन छोडे । 

असारको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउन छोडेपछि अध्यक्षसहितको टोली काठमाडौं पुगी सामान्य प्रशासन मन्त्रालयमा आफ्ना अधिकृतको खोजी गर्‍यो । बल्ल थाह भयो, अधिकृत चौधरीको अन्यत्र सरुवा भइसक्यो । ‘अहिले गाउँपालिका चलाउनै समस्या भएको छ,’ गाउँपालिका अध्यक्ष मण्डलले भने, ‘जति बेला मन लाग्यो त्यतिबेला सरुवा गराउने र गरिदिने परिपाटीले काम गर्न असजिलो भएको छ । छिन्नमस्ता गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।


सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादव हुन् । पछिल्लो २ वर्षमा अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा उनी प्रमुख भएर आएको दोस्रो पटक हो भने यो अवधिमा उनी आठ स्थानमा सरुवा भएका छन् । प्रदेश २ मा स्थानीय तहको निर्वाचनका बेला उनी सप्तरीको कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए ।


चुनावभन्दा केही दिनअघि उनी कञ्चनरूप नगरपालिकासँग टासिएकै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सरुवा गरिए । त्यहाँ केही दिन बस्न नपाउँदै उनको सरुवा राजगढ गाउँपालिकामा भयो । राजगढमा उनी काम नथाल्दै छिन्नमस्तामा सरुवा भए ।


छिन्नमस्तामा हाजिर हुन नपाउँदै उनलाई फेरि राजगढ गाउँपालिकामै कायम गरियो । राजगढ फर्केको केही दिनमा उनको सरुवा राजविराज नगरपालिकामा भयो । राजविराजमा उनी कामको सुरसार गर्दा फेरि राजगढ तानिए । केही महिनाअघि उनी फेरि अग्निसाइर कृष्णासवरण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटिए ।


‘लगातार सरुवा कसरी भयो यो मन्त्रालयको काम हो,’ प्रमुख प्रशासकिय अधिकृत यादवले भने, ‘तर तारन्तारको सरुवाले कतै स्थिर भएर काम गर्न सकिएन ।’ स्थानीय तहको निर्वाचनका बेला सप्तरीको राजविराजको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादव थिए । जनप्रतिनिधि चुनिएर आएको केही दिनपछि उनको सरुवा भयो । उनको स्थानमा धीरेन्द्रकुमार यादव आए । धीरेन्द्रको केही दिनमै सरुवा भएपछि चन्द्रबहादुर कार्की राजविराजको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आए ।


कार्की पनि ०७५ को असारमा मन्त्रालय गएपछि लेखापाल राजेशकुमार राज केही दिनसम्म निमित्त भएर काम चलाए । चार महिनाअघि श्यामकुमार सिंह राजविराजको नयाँ प्रमुख प्रशासकीय अधिकृत भएर आए । गत असारमा १३ दिनमात्र कार्यालयमा देखिएका सिंह असारको अन्त्यदेखि मन्त्रालयमा हाजिर भएका छन् । राजविराज नगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।


राजिवकुमार झा केही दिनअघि मात्र तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भए । ०७५ असारमा तिलाठी कोइलाडी गाउँपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झामाथि अख्तियारले मुद्दा दायर गरेपछि समाजिक शाखा हेर्ने राजुकुमार झाले निमित्त भएर काम चलाइरहेका छन् । अहिले राजिवकुमार झा त्यहाँ हाजिर भएका छन् ।


राजिव स्थानीय तहको निर्वाचनका बेला कञ्चनरूप नगरपालिकामा थिए । त्यहाँ एक महिना मात्र काम गरेपछि उनको सरुवा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा भयो । कृष्णासवरण गाउँपालिकाबाट फेरी उनलाई धनुषाको हंसपुर गाउँपालिकामा सरुवा गरियो । उनी त्यहाँ हाजिर हुन गएनन् । मन्त्रालयले उनलाई फेरि सप्तरीकै राजगढ गाउँपालिकामा पठायो । राजगढपछि अहिले उनी तिलाठी कोइलाडी गाउँपालिकामा हाजिर भएका छन् ।


रुपनी गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउँदा विनोद कोइराला प्रमुख प्रशासकीय अधिकृत थिए । जनप्रतिनिधि आएको तीन महिनामै उनको सरुवा भयो । रामसुन्दर थापा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आए । उनी पनि लामो समय टिक्न सकेनन् । उनको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा राजकुमार दास हाजिर भए ।


उनको कार्यकाल पनि लामो भएन । दासको सरुवापछि केही महिनाअघि ललनकुमार यादव रुपनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् । सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका गरी कुल १८ स्थानीय तह छन् । अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत लगालग सरुवा हुनुले कामकाज प्रभावित हुने गरेको छ ।


स्थानीय तहको प्रशासनिक प्रमुखका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृतहरूको तारन्तार सरुवाका पछाडि प्रमुख दुई कारण रहेका छन् । जनप्रतिनिधिले नरुचाउनु पहिलो कारण हो भने कर्मचारीले आफू अनुकुलको अवस्था कार्यालयमा नदेख्नु अर्को कारण हो ।


जनप्रतिनिधिहरू आफ्नो अनुकुलले प्रमुख प्रशासकीय अधिकृतले कार्यालय सञ्चालन गर्नुपर्ने पक्षमा रहेका हुन्छन् भने प्रमुख प्रशासकीय अधिकृतहरू नियम कानुनसँगै आफू अनुकुल कार्यालय चल्नुपर्ने अवस्थामा अडेका हुन्छन् । जसका कारण कर्मचारी र जनप्रतिनिधिबीचको तनाव समय समयमा छताछुल्ल हुने गरेको छ ।


‘न अध्यक्षसँग रवाना लिनुपर्छ न त कुनै बुझाउनु नै अध्यक्षलाई पर्छ, जति बेला मन लाग्यो कार्यालय छोडेर हिंडिदिने र मन्त्रालयले पनि सरुवा गरिदिने प्रवृत्ति हाबी भएको छ,’ रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भने यो प्रवृत्तिले स्थानीयतह चलाउन जनप्रतिनिधिलाई निक्कै सकस भएको छ । यादवले जनप्रतिनिधिहरू सबै समस्या आफ्नो टाउकोमा लिने गरेको भए तापनि आफू अनुकुल नदेख्ने बित्तिकै प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयमा गएर सरुवा गराउने गरेको बताए ।


अधिकांश स्थानीय तहमा कार्यकारी प्रमुखहरू चार महिनाभन्दा बढी टिक्दैनन् । केही स्थानीय तहमा भने लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत कायमै रहेकाहरू पनि छन् । सरकारले कर्मचारीको सरुवा सम्बन्धी स्पष्ट मापदण्ड बनाउनुपर्ने रूपनी गाउँपालिका अध्यक्ष हरेराम यादवको धारणा छ । यादवका अनुसार जतिबेला मन लाग्यो कार्यालय छोडेर हिंडने परिपाटीले अन्य कर्मचारीको मनोबल घट्नुका साथै स्थानीय तहको काम गर्ने स्पिडमा पनि ब्रेक लाग्ने गरेको छ ।

प्रकाशित : भाद्र २८, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?