३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्यालयको जग्गा हिनामिना

महोत्तरी — महोत्तरीको बर्दिवास नगरपालिका २ स्थित जनता माविका पूर्वप्रधानाध्यापकले विद्यालयको जग्गा बिक्री गरेको खुलेको छ । विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै उनको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

विद्यालयका प्रअ नारायणप्रसाद उपाध्याय र व्यवस्थापन समितिले गरेको अनियमितता छानबिनका लागि विद्यालय व्यवस्थापन समितिले अख्तियारलाई गुहारेको हो । समितिले विद्यालयको जग्गा अनधिकृतरूपमा बिक्री गर्नुका साथै फर्जी विल भर्पाइ तथा अधिकारको दुरुपयोग गरी भ्रष्टचार गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बताए ।


विद्यालयको जग्गामा लाग्ने बजार ठेक्का वापतको रकम ठेकेदार गोविन्द पौडेलले श्रीमती सीतादेवी पौडेलको नाममा रहेको २५ नम्बर बहादुरगन्ज ४ (ङ) को किता नम्बर १०० र १०३ बाट किताकाट गरी प्रअ लीलाविक्रम थापाको नाममा जलेश्वर मालपोत कार्यालयबाट पास गरिएको र सो १ कठ्ठा १० धुर जमिन विद्यालयको नाममा नल्याई पुन थापाको नामबाट उपाध्याको नाममा ल्याई विस ०६९ असोज ७ गते बिक्री गरेको पाइएको छ ।


आव ०७३/७४ र ०७४/७५ को लेखा परीक्षण प्रतिवेदनअनुसार प्रअ उपाध्याय र पूर्वअध्यक्ष डिकबहादुर खपाङ्गीको मिलेमतोमा आर्थिक अनियमितता तथा विद्यालयको नाममा रहेको जमिन बिक्री गरेको खुलेको हो । सो जग्गा महोत्तरीको साविक खखना गाविसका वडा नम्बर २ बस्ने ध्रुव नारायण राय, बीणा देवी यादव र चञ्चला कुमारीको नाममा रजिस्ट्रेसन पास गरिएको छ । बजार मूल्य ३० लाख रुपैयाँ प्रति कठ्ठा रहेको जग्गा ८ लाख ५० हजारमा बिक्री गरिएको अध्यक्ष महतोले बताए ।


तत्कालीन समयमा विद्यालयको बैंक खातामा ३४ लाख भए पनि २०६६ असोज २७ गते बसेको व्यवस्थापन समितिको बैठकले जग्गाको उपयुक्त मूल्य पाएमा दुई महिनाभित्र बिक्री गर्ने निर्णय गरेको छ । तर के प्रयोजनका लागि जग्गा बिक्री गर्ने कारण खुलाइएको छैन ।


विद्यालयको जमिन प्रअको नाममा राखिनु र जमिन बिक्रीवापत आएको रकम खर्च नदेखाउनुले प्रअले आर्थिक अनियमितता गरेको समितिको ठहर छ । जमिन बिक्री वापतको रकम विद्यालयको खातामा दाखिला भए पनि सो रकम केही दिनभित्रै खाताबाट निकालिएको र खर्च गरिएको कारण नखुलेको समितिले जनाएको छ ।


लेखा प्रतिवेदनको आधारमा तत्कालीन प्रअ उपाध्यायले ३९ लाख ८२ हजार रुपैयाँ आर्थिक हिनामिना गर्नुका साथै सो रकम तिर्नुपर्ने देखिएको विद्यालयका प्रअ दिलिप तिवारीले बताए । वर्तमान समिति विद्यालयमा निर्वाचित भएर आएपछि पूर्वप्रअ उपाध्याय सोही विद्यालयमा दरबन्दी रहे पनि अर्को विद्यालयमा काजमा हिँडेका छन् ।


विद्यालयले रकम तिर्न पटकपटक पत्राचार गरेको र नगरपालिका शिक्षा शाखाले समेत ताकेता गर्दा पनि पूर्वप्रअ उपाध्याय सम्पर्कमा नआएको र अडिट रिपोर्ट नै खारेज गर्न माग गरेपछि विद्यालय अख्तियार पुगेको प्रअ तिवारीले बताए ।


विद्यालयको खर्चमा विभिन्न ब्रान्डको रक्सीको समेत बिलभरपाई भेटिएको तिवारीले जानकारी दिए । शिक्षक दरबन्दी मिलान भन्दै मोटो रकमको बिलभर्पाइ नराखी खर्च गरेर अनियमितता गरेको पनि तिवारीले बताए ।


विद्यालयको नाममा रहेको सम्पत्तिको संरक्षण गर्न आफ्नो अधीनमा नभएका जग्गाहरू खाली गराउने अझियान चलाएको छ । विद्यालयको नाममा रहेको २० बिघा १० कठ्ठा जग्गा ५० औँ वर्षदेखि व्यतिले भोगचलन गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २८, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?