१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मनपरी खोला खोस्रिँदै 

सुनिता बराल

बर्दिबास — सरकारले असारदेखि भदौसम्म ३ महिना नदीजन्य सामग्री निकाल्न रोक लगाए पनि महोत्तरीमा मनपरि खोला खोस्रिन रोकिएको छैन । पूर्वपश्चिम राजमार्गदेखि दक्षिणी क्षेत्रमा सञ्चालित क्रसर उद्योगहरूले अवैधरूपमा खोला उत्खनन् जारी राखेका छन् । 

मनपरी खोला खोस्रिँदै 

क्रसर उद्योगहरूले खोलाबाट ३ फिटभन्दा बढी खाल्डो बनाएर नदीजन्य पदार्थ निकाल्न नपाइने सरकारी नियमको उल्लघन गर्दै ७ फिटदेखि नदीउकास जग्गामा २५ फिटसम्मका गहिरा खाल्डा बनाएर नदीजन्य पदार्थ निकाल्दा महोत्तरीको बर्दिवास, औरही, भंगाहा, गौशाला र जलेश्वरसहित १० स्थानीय तहका ४० भन्दा बढी बस्ती जोखिममा परेका छन् ।


बिहीबार नदीमा अवैध उत्खनन गरिरहेका ६ ठूला यान्त्रिक उपकरण (जेसिभि, ट्रिपर) महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । भंगहा नगरपालिका–५ बडहरी नदीमा उत्खनन् गरिरहेका पाँच ट्रिपर र एक जेसीभीसहित छ यान्त्रिक उपकरण प्रहरीले नियन्त्रणमा लिएको हो ।


भदौ महिनासम्म खोलामा उत्खनन गर्न नपाउने सरकारी नियमविरुद्ध कुनै इजाजत बेगर नयाँ बनिरहेको पुलबाट ५ सय मिटरभित्रै उत्खनन् गरिरहेको क्रसरका उपकरण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । जिल्लाकै गौशाला–५ स्थित मराहा खोलाबाट पनि १ जेसीभी र २ ट्याक्टर नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिए ।


भंगहा नगरपालिका–४ को ३ किमि दूरीभित्र मात्रै रातु नदीको किनारमा १९ वटा क्रसर उद्योग सञ्चालनमा छन् । यिनै क्रसर सञ्चालकले गाउँबस्ती जोखिममा पार्दै जथाभावी उत्खनन् गरिरहेको स्थानीय बताउँछन् ।


यसअघि नै त्यहाँका स्थानीयले अवैध उत्खनन् गरिरहेका यान्त्रिक उपकरण नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएको भए पनि नगर कार्यपालिकाको कार्यालय भंगाहाले केही जरिवाना लिएर छाड्ने गरेकाले क्रसर उद्योगको मनोमानी झन बढ्ने भएपछि उत्खनन् नियन्त्रणमा आउन नसकेको र जिल्लाको दक्षिणी भू–भाग नै उच्च जोखिममा परेको भंगहा ५ का लक्ष्मण महतोले बताए ।


क्रसर उद्योगलाई नियमन गर्ने स्थानीय तहका जनप्रतिनिधि नै जिल्लामा सञ्चालित क्रसर उद्योगमा लगानी गरेको छ । जनप्रतिनिधि आफै मालिक भएपछि अवैध उत्खनन् हुँदा पनि कारबाही भइरहेको छैन ।


भंगाहको बडहरी खोलाबाट अवैध उत्खनन् गरिरहेका उपकरण स्थानीयले नियन्त्रणमा लिएर बुझाउँदा पनि नगरपालिकाले सामान्य जरिवाना लिएर छाडेकोमा स्थानीय आक्रोसित बनेका छन् ।


महोत्तरी र धनुषाको सीमा भएर बग्ने रातु नदी भंगहाको बडहरी, गौशालाको मरहालगायतका नदीमा स्थानीय तहले ठेक्का सम्झौता गरी उत्खनन् गरेको भए पनि सरकारी मापदण्ड विपरीत खोला खनेको स्थानीय बताउँछन् ।


आफ्नो नगरले लगाएको ठेक्कामा आईईईको रिपोर्ट अनुसार उत्खनन् नभएको गुनासो आएपछि ठेकेदारलाई यसअघि नै नदीजन्य सामग्री निकाल्न नगरले रोक लगाइसकेको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले बताए ।


वर्षाको समयमा नदीमा समेत पस्न नपाउने उपकरण आफूले खोलामा प्रवेश गर्नै नदिएको उनको दाबी छ । प्रहरीले नियन्त्रणमा लिएका उपकरण व्यक्तिगत उपकरण हुन सक्ने मेयर साहले बताए । तर, प्रहरीले रमण क्रसर उद्योगको उपकरण नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?