१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

स्नातकमा प्राविधिक विषय पढ्ने बढे

अजित तिवारी

जनकपुर — काठमाडौं र विराटनगरपछि स्नातक तहको शिक्षाका लागि जनकपुर पनि आकर्षणको केन्द्र बनेको छ । स्नातकको प्रायः सबै विषयमा विद्यार्थीको आकर्षण देखिएको छ । 

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयका सम्बन्धन प्राप्त जनकपुरका सरकारी र निजी क्याम्पसहरूले स्नातकमा हरेक वर्ष हजारभन्दा बढी विद्यार्थी भर्ना लिन्छन् । जनकपुरका सरकारी क्याम्पसभन्दा निजी कलेजले स्नातकको पढाइमा राम्रो नतिजा दिएका छन् ।


त्रिवि अन्तर्गतको जनकपुरको पुरानो क्याम्पस रारावमा भने स्नातकतहमा विद्यार्थी भर्ना बढी रहे पनि त्यहाँ नियमित पढाइ हुँदैन । स्नातक तहका केही प्राविधिक विषयमा भने जनकपुरमा शिक्षकको अभाव छ । मोडेल मल्पिटल कलेजले शिक्षककै अभावमा ६ वर्ष अघिसम्म स्नातक तहमा कक्षा सञ्चालन गरेको बीएससी सीएसआइटीको पढाइ अहिले रोकिएको छ ।


कलेजका प्रशासकीय प्रमुख प्रदीप लालले शिक्षकको अभावमा स्नातकको त्यो प्राविधिक विषय पढाउन नसकिएको बताए । ‘६ वर्षसम्म काठमाडौंबाट शिक्षक झिकाएर कक्षा सञ्चालन गरियो,’ लालले भने, ‘विद्यार्थीको आकर्षण रहे पनि काठमाडौंबाट शिक्षक मगाउँदा महँगो परेपछि विषय नै हटाउनुपर्‍यो ।’


स्नातक तहमा जनकपुरमा विज्ञान, व्यवस्थापन, शिक्षा र आर्ट फ्याक्लटिका सबैजसो विषयमा पढाइ हुन्छ । स्नातकमा माइक्रो बाइलोजीको पढाइ पनि यहाँ हुन्छ । मोडेल मल्टिपल कलेजमा बीबीएस, बीएससी, बीसीए र बीबीएको कक्षामा हरेक वर्ष २ सय ५० नयाँ विद्यार्थी भर्ना हुन्छन् । जनकपुरको राराब क्याम्पसमा पनि स्नातकको विषयमा भर्ना हुने विद्यार्थीको चाप अधिक छ ।


छिट्टै जागिर पाइने भएकाले बीबीएसमा विद्यार्थीका आकर्षण बढी देखिएको छ । निजी बैंक र उद्योगले पनि बीबीएस पढ्ने विद्यार्थीलाई जागिरको अवसर दिइरहेकाले आकर्षण बढेको लालले बताए । ‘बीबीएस पढ्ने विद्यार्थीलाई निजी बैंकले इन्टर्नसिपमा अवसर दिन्छन,’ उनले भने, ‘निजी उद्योगमा पनि फुड क्वालिडी कन्ट्रोलको काम धेरैले पाएका छन् ।’


जनकपुरमै मुख्यालय रहेको राजर्षी जनक विश्वविद्यालय पनि गत वर्षदेखि स्नातकको अध्ययन थालेको छ । विश्वविद्यालयले स्नातक तहमा बीबीए, बीसीए, बीएससी एमआइटी, बीएससी सीएसआईटी लगायतको विषयमा पढाइ थालेको छ । यस वर्षको विद्यार्थी भर्नाका लागि विश्वविद्यालयको कोटा खुला गरेको छ ।


विश्वविद्यालयका उपकुलपति डा. भरत झाका अनुसार विश्वविद्यालयमा पढाइको विशेष सुविधा र नियमित कक्षा हुने भएकाले विद्यार्थीको आकर्षण बढेको बताए । ‘स्नातकको प्राविधिक विषय अध्यापनका लागि तीनजना इन्जिनियर नै छन,’ उपकुलपति झाले भने ।


जनकपुरका प्राध्यापक डा. सुरेन्द्र लाभका अनुसार अब्बल विद्यार्थीको रोजाइ स्नातकमा अझै पनि जनकपुर बाहिरको सहर रहेको छ । स्नातक तहको आर्टमा पहिला जनकपुरमा विद्यार्थीको आकर्षण बढी थियो ।


केही वर्षयता आर्टमा विद्यार्थीको संख्या पातलिएको छ । बीबीए, आईटी र सिए पढ्न रुचाउने विद्यार्थीको संख्या बढेको छ । ‘पोलटिकल साइन्स, साइन्स लगायतको प्राविधिक पढाइमा विद्यार्थीको आकर्षण बढी छ,’ प्राध्यापक लाभले भने ।


जनकपुरमा स्नातक विषय पढ्न प्रदेश २ का ८ वटै जिल्लाबाट विद्यार्थी आउने गर्छन् । स्नातक विषय पढन एक वर्षमा १५ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?