यार्डमै थन्किए सवारीसाधन

पर्सा — आयातकर्ताले जाँचपास गरी सवारीसाधन नलग्दा वीरगन्जस्थित आईसीपी तथा वीरगन्ज भन्सार परिसरमा ठूलो संख्यामा सवारीसाधन थन्किएका छन्  । जिप, कार, भ्यानजस्ता हलुका सवारीसाधन लामो समयदेखि भन्सार नाकामै थन्किएका हुन्  ।

जिप, कार, भ्यानजस्ता हलुका सवारीसाधन लामो समयदेखि भन्सार नाकामै थन्किएका हुन् । एकीकृत सुरक्षा जाँचचौकी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका वीरगन्ज प्रमुख हेमेन्द्रमोहन शाहीका अनुसार लामो समयदेखि आयातकर्ताले आफ्नो सवारीसाधन छुटाएर नलग्दा त्यस्ता सवारीसाधनको पार्किङ गर्न समस्या हुँदै गएको छ । उनले आईसीपी परिसरमा झन्डै एक हजार सात सय र वीरगन्ज भन्सार परिसरमा करिब ३ सय गरी बिभिन्नखाले सवारीसाधन थन्किएको बताए ।

‘हामीले आयातकर्तालाई पटक–पटक आफ्ना सवारी जाँचपास गराएर लग्न भनिरहेका छौं,’ शाहीले भने, ‘तर उनीहरू पार्किङ शुल्क घटाउनुपर्‍यो भनी दबाब दिइरहेका छन् ।’ आईसीपी परिसरमा प्रतिसवारीसाधन पार्किङ शुल्क मासिक १३ हजार देखि १४ हजार रुपैयाँ लाग्छ । वीरगन्ज भन्सार परिसरमा भने पार्किङ शुल्क नभई विलम्ब शुल्क लाग्ने गरेको छ । वीरगन्ज भन्सारमै मात्र विलम्ब शुल्कबापत आयातकर्तासँग करिब १ करोड ७५ लाख रुपैयाँ असुल गर्न बाँकी छ ।


महँगा सवारीसाधन हुने भएकाले भन्सार यार्डमै पनि कुनै भवितव्य वा चोरी, टुटफुट आदि हुँदा त्यसले समस्या उत्पन्न गर्न सक्ने भएकाले भन्सार प्रशासन यस्ता सवारीसाधन आयातकर्ताले सकेसम्म छिटो लगिदेऊन् भन्ने चाहन्छ । महँगो हुने र भन्सार, अन्तःशुल्क तथा मूल्यअभिवृद्धि कर आदि गरी राजस्वसमेत सवारीसाधनको मूल्यको २ सयदेखि २ सय ५० प्रतिशतसम्म बुझाउनुपर्ने भएकाले आयातकर्ताले एउटा कार जाँचपास गराइलग्न झन्डै १ करोड रुपैयाँ लाग्न जान्छ । हाल दुवैतर्फका भन्सार यार्डमा थन्किएका जिप, कार, भ्यानमा बढी टोयोटा र ईसीजू कम्पनीका छन् ।

भारतमा जीएसटी लागू भएपछि आयातकर्ताले सवारीसाधन खरिद गरिसकेपछि १ सय १५ दिनभित्र भारतको सीमा कटाई नेपालतर्फ ल्याइसक्नुपर्ने अनिवार्यता छ । नेपालका कतिपय आयातकर्ताले सीमापारि भारतीय सहर रक्सौलमा १ हजारदेखि १ हजार ५ सयवटासम्म सवारीसाधन पार्किङ गरी राखेका छन् । उनीहरूले रक्सौलको पार्किङ स्थलबाट १ सय १५ दिन पुग्नुअघि नै वीरगन्जको भन्सार यार्डमा ल्याएर आफ्ना सवारीसाधन राख्ने गरेका छन् । लक्जरियस सवारीसाधनको मुख्य बजार राजधानीनै रहेको र त्यहाँबाट गाडी बुकिङ भएपछि मात्र आयातकर्ताले भन्सारबाट जाँचपास गराएर लग्ने प्रवृत्ति रहेको छ ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतो भन्सार यार्डमा ल्याइएका यस्ता सवारीसाधन सामान्यतः ६० दिनभित्र जाँचपास गराई लग्नुपर्ने बताउँछन् । ६० दिनसम्म यसरी भन्सार यार्डमा सवारी पार्किङ गरेबापत कुनै शुल्क लाग्दैन । ६० दिनपछि अर्को ३० दिनसम्म प्रतिकिलो दैनिक ४० पैसाका दरले शुल्क लाग्छ । त्यसपछिको ३० देखि ६० दिनसम्म प्रतिकिलो ६० पैसाका दरले शुल्क लाग्छ । यो ६० दिनभित्र पनि सवारीसाधन जाँचपास गराई नलगे ६१ औं दिनपछि प्रतिदिन प्रतिकिलो ८० पैसाका दरले विलम्ब शुल्क लाग्ने उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?