गण्डकमा थोरै पानी

पर्सा — भारतले गण्डक नहरमा कम पानी दिएपछि नहरको १२ नम्बर ब्लकसम्म मात्र पानी पुगेको छ । यस वर्ष धान बालीका लागि बाराको सिम्रौनगढ क्षेत्रको अरुवा खोला आसपाससम्म मात्र पानी पुगेको नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहले जानकारी दिए । 

गण्डकमा थोरै पानी

‘भारतले हाल नहरमा ६ सय क्युसेक पानी दिएको छ,’ उनले भने, ‘यति पानीले त्यसभन्दा अगाडि पानी जान सक्दैन, कम पानी आएकाले यस वर्ष धान सिजनमा नहरबाट योजनाबद्ध रूपमा पानी वितरण गर्न सकिएन ।’ यस वर्ष धान सिजनका लागि बारा जिल्लाको पुछारसम्मै पानी पुर्‍याउने लक्ष्य रहेको तर पानी नै कम आएकाले त्यो सम्भव हुन नसकेको उनले बताए । भारतीय पक्षले भारतमै नहरको संरचना कमजोर रहेकाले धेरै पानी छोड्दा नहर भत्कने सम्भावना रहेको बताउँदै नहरमा कम पानी दिइरहेको साहले बताए ।

भारतीय पक्षसँग यस सम्बन्धमा छलफल गर्न कार्यालय प्रमुख राजेन्द्रप्रसाद साह तथा आफूसमेतको टाली यसै साताको अन्त्यतिर भारत जान लागेको साहले बताए । ‘हामी आफैं भारतीय पक्षसँग छलफल गर्न भारतको रामनगरस्थित दोन कनाल कार्यालय जान लागेका छौं,’ उनले भने, ‘हाम्रो लक्ष्य भारतबाट ७ सय क्युसेकसम्म पानी ल्याउने हो, त्यति भए बाराको पुछारसम्मै पानी पुर्‍याउन सकिन्छ ।’

नेपाल र भारतबीचको गण्डक सम्झौताअनुसार नहरमा भारतले नेपालतर्फ ८ सय ५० क्युसेक पानी छाड्नुपर्ने हो । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले पानी छोड्ने गर्छ । भारतसँगको सम्झौताअनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ ।

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा मिसिने नहरलाई पूर्वी नहर भनिन्छ ।

प्रकाशित : भाद्र २५, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?