३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उखु खेतमा भट्टी

सुरक्षाकर्मीको आँखा छल्न बाँसका झ्याङ र उखु घारीमा मदिरा उत्पादन  
रवीन्द्र उप्रेती

(महोत्तरी) — मदिरा उत्पादन र ओसारपसारविरुद्ध प्रहरीले विशेष अभियान चलाएर नियन्त्रण गर्न सुरु गरेपछि तस्करले शैली र स्वरूप फेर्दै लगेका छन् । भारतको विहारमा मदिरा प्रतिबन्ध लागेपछि सीमावर्ती नेपाली भूभागबाट तस्करी हुन थालेको छ ।

उखु खेतमा भट्टी

सुरक्षा निकायले कडा गरेपछि कारोबारीले नयाँ जुक्ति लगाउन थालेका छन् ।


मदिरा उत्पादकले विहारका ग्राहकलाई लक्षित गरी सञ्चालन गरेका २ दर्जनभन्दा बढी भट्टी प्रहरीले नष्ट गरेको थियो । सुरक्षाकर्मीको आँखा छल्न सुनसान चौरका बाँसका झ्याङमुनि र उखुघारीका बीचमा समेत मदिरा भट्टी सञ्चालन गर्न थालेको प्रहरीले जनाएको छ । केही दिनअघि मात्र गौशाला प्रहरीले औरही नगरपालिकाको बाँस घारीमा सञ्चालन गरिएको भट्टी र त्यहाँ तयार ठूलो परिमाणको मदिरा र कच्चा पदार्थ नष्ट गरेको थियो । सीमा क्षेत्रका समसी, रामगोपालपुर, मटिहानी, जलेश्वरलागायतका ठाउँबाट पनि यस्ता भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

शंकास्पद अवस्थामा जलेश्वरबाट भिट्टामोडतर्फ जाँदै गरेको डीएल ३ सीडी २२८७ नम्बरको भ्यानलाई पिछा गर्दै गएको प्रहरीले २४ कार्टुन मदिरा नियन्त्रणमा लिएको थियो । त्यसअघि प्रहरीले गाग्रो, बाल्टिन र पानी राख्ने जर्किनमा भरेर मदिरा तस्करी हुने गरेको थियो । बाढीजस्ता प्राकृतिक विपद्लाई समेत तस्करले उपयोगमा ल्याएको पाइएको छ । गत वर्ष आएको बाढीमा बगाएर मदिराका कार्टुन दशगजा कटाएको थियो ।

मदिरा उत्पादन र ओसारपसारविरुद्ध प्रहरीले विशेष अभियान नै चलाएर नियन्त्रण गर्न सुरु गरेपछि तस्करीको शैली र स्वरूप फेरिएको छ । न्यूनतम २ सय ५० ग्रामको सिसाको बोतलदेखि ५ लिटरका जर्किनमा पाइने मदिरा अब सय एमएलको प्लास्टिक साना बोतलमा तस्करी हुन थालेका छन् ।

प्रहरीले धिरापुर, पर्सापतेली र जलेश्वर जिरोमाइलको बाटो हुँदै भारततर्फ जान लागेको अवस्थामा सोमबार यस्ता ५ सय बोतल मदिरा नियन्त्रणमा लिएपछि तस्करीको नयाँ स्वरूप खुलेको छ । प्रहरी निरीक्षक केदार बस्नेतका अनुसार बरामद भएकामा उमंग २ सय बोतल, विङो १ सय र गौरव ब्रान्डका २ सय बोतल सोफी मदिरा छन् ।

साना बोतल लुकाउन र सीमा पार गराउन सजिलो भएकाले तस्करकै परामर्शमा उत्पादकले ठूला बोतलको साटो प्लास्टिकको साना बोतल प्रयोगमा ल्याएको प्रहरीले जनाएको छ । साना बोतललाई भुँडीमा बेल्ट अथवा पटुकीले बाँधी सीमा कटाउने गरेको सुराकीको आधारमा प्रहरीले सीमा क्षेत्रमा घेराबन्दी गरी उक्त मदिरा बरामद गरेको जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?