१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वास्थ्य चौकीमा औषधि अभाव

भूषण यादव

वीरगन्ज — सरकारले बिरामीका लागि स्वास्थ्य चौकीमा ३९ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको छ । तर, स्वास्थ्य चौकीमा चाहेका बेला औषधि प्राप्त नभएको गुनासो बढ्दो छ । 

गाउँपालिकाका स्वास्थ्यचौकी मात्र नभई महानगरपालिका मातहत रहेका स्वास्थ्य चौकीमा समेत बिरामीलाई औषधि उपलब्ध हुन सकेको छैन । पकाहामैनपुर गाउँपालिका ४ लहावरथकरी स्वास्थ्य चौकीमा जीवनजलको समेत अभाव छ । स्वास्थ्यचौकीका अहेव विकास श्रेष्ठले गाउँपालिकाबाट आएको औषधि पर्याप्त नभएको सुनाए ।


‘गत जेठ २१ मा एक सयवटा जीवनजल आएको थियो,’ उनले भने, ‘यत्रो जनसंख्या भएको क्षेत्रमा गर्मीको मौसममा त्यो जीवनजल कति दिन चल्छ ।’ गर्मीको मौसममा झाडा पखालाका बिरामी स्वास्थ्यचौकी आउँदा खाली हात पठाउनु परेको उनले खुलाए । सम्बन्धित स्रोतका अनुसार गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि माग फारम आए पनि कर्मचारीले स्वास्थ्यचौकीमा भएकै औषधि माग फारममा भर्न लगाउँछन् ।


‘दाद, भाइरल ज्वरो, झाडापखाला, कान रोगी बढी आउने गरेका छन्,’ अहेव श्रेष्ठले भने, ‘चाहिने जति औषधि पाउन सकिएको छैन ।’ उनका अनुसार औषधि दिन नसक्दा स्थानीयको गाली सुन्नु परेको छ । बिरामीको चाप बढी छ । गाउँपालिकाबाट खासै मात्रामा औषधि उपलब्ध हुन सकेको छैन ।


स्थानीयका अनुसार स्वास्थ्यचौकीमा औषधि नपाउँदा बिरामी सीमावर्ती भारतीय बजारमा उपचारका लागि जाने गरेका छन् । ‘औषधि आउन त आउँछ,’ एक कर्मचारीले भने, ‘तर, जुन आउँछ, त्यो पर्याप्त हुन्न ।’


स्वास्थ्य चौकी प्रमुख उमेश सहनी बिना जानकारी बिदामा बस्दा पनि स्थानीयलाई समस्या हुने गरेको छ । पकाहाँमैनपुर गाउँपालिका स्वास्थ्य प्रमुख मनीष सिंहले स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको लापरबाहीले औषधि वितरण हुन नसकेको बताए । ‘जीवनजल लगायतका औषधि गाउँपालिकामा आइसकेको छ,’ उनले भने, ‘उता (चौकी) बाट माग आएमा हामी पठाउँछौं ।’ स्वास्थ्य चौकी प्रमुख कहिले काहीं बिना जानकारी नै बिदा बस्ने गरेको उनले स्विकारे ।


लहावरथकरीका भोला साह गत जेठमा मोटरसाइकल पछाडि बसेर बजार गइरहेको अवस्थामा उनको लुंगी पछाडिको चक्कामा अल्झिँदा उनी सडक मै लडेका थिए । ‘मोटरसाइकलबाट लड्दा दाहिने कुहिनोमा चोट लाग्यो,’ उनले घाउ देखाउँदै भने, ‘मलहम पट्टी गरिदिनुस् भन्दा औषधि छैन भनेर फर्काए ।’


त्यसपछि भारतीय बजारमा गएर उपचार गराएको उनले सुनाए । अर्का स्थानीय पृथ्वीचन्द्र प्रसादले सरकारले घोषणा गरेका सबै सेवा स्वास्थ्य चौकीबाट कहिल्यै पनि नपाएको गुनासो गरे । ‘आइरन चक्की पनि छैन भन्छन्, कहिले काहीं टाँका लगाउने सामान हुँदैन,’ उनले भने, ‘घाउ सफा गर्ने कपास पनि सकिरहेको हुन्छ ।’ लहावरथकरी स्वास्थ्य चौकी भवन पनि जीर्ण बनेको छ । स्वास्थ्यकर्मीका अनुसार सामान्य वर्षातमा पानी चुहिन्छ । झ्यालमा चुकुल छैन । भवनका पर्खाल चर्किएका छन् ।


महानगरमै छैन औषधि

महानगरपालिका मातहात १६ वटा स्वास्थ्य चौकी छन् । त्यसमध्ये सुगौली, भवानीपुर, अलौ, हरपतगन्ज स्वास्थ्यचौकीमा आइरन, दाद, एन्टिब्योटिक लगायतका अधिकांश निःशुल्क पाइने औषधिको अभाव रहेको छ । पुरानो १९ वडा बाहेक सबैमा स्वास्थ्य चौकी छन् । चालु आर्थिक वर्षमा हालसम्म महानगरपालिकाले औषधि वितरण नगरेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?