१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कमला नगरपालिका खुला दिसामुक्त

शाहिमान राई

जनकपुर — धनुषाको सुदुरपूर्वी गाउँ कमला नगरपालिका नगरपालिका खुला दिसामुक्त घोषणा गरिएको छ । सरकारले सन २०१७ मा मुलुकभर खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखे पनि तराईको अधिकांश जिल्लामा सर्वसाधारणले समयमा शौचालय निर्माण नगरेकाले दिसामुक्त घोषणा गर्न ढिलाइ भएको हो । 

कमला नगरपालिका खुला दिसामुक्त

सदरमुकाम जनकपुरदेखि २५ किमि पूर्व कमला नदी किनारको विकट गाउँ कमला नगरपालिका ८ वटा वडाका ९५ प्रतिशत बासिन्दाले शौचालय निर्माण गरिसकेकाले नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो । धनाढ्य, जमिन्दार, शिक्षित व्यक्तिको घरमा मात्र शौचालय बनाउने चलन रहेको धनुषाका १८ वटा स्थानीय तहमध्ये १५ वटाले खुला दिसामुक्त घोषणा गरिसकेका छन् ।


धनुषाको अधिकांश जनघनत्व भएको सदरमुकाम जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका र हंसपुर नगरपालिकाले अझै पनि खुला दिसामुक्त घोषणा गरेका छैनन् । तराईको अधिकांश बासिन्दा सडक किनारा, खेतबारी, नदी, खोलाको बगरमा खुला रूपमा दिसापिसाब गर्ने चलनको अन्त्य गर्दै सरकारको लक्ष्य अनुरूप घरघरमा शौचालय निर्माण गरेपछि खुला दिसामुक्त घोषणा गरिएको हो । तर धनुषाको दक्षिणवर्ती गाउँका सडक आसपास, नदी किनारा आसपासको क्षेत्रमा खुला ठाउँमा दिसा पिसाब गर्ने चलन भने अझै परिवर्तन हुन सकेको छैन ।


कमला नगरपालिकाको ९ वटा वडाका ७ हजार २ सय ३४ घरपरिवारमध्ये करिब ६ हजार ८ सय घरपरिवारले शौचालय निर्माण गरेकाले खुला दिसामुक्त घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले बताए । कमला नगरपालिकाको वडा नं २ र ३ माझी झिटकैया, १ र ९ दुवरकोट हटलेटवा, वडा ४ को बलाहा साघरा, वडा ५ को लक्कर, ६ को हरिने र सिंयाहिमडानमा ३८ हजार ८ सय ४४ जनसंख्या छ ।


कमला नगरपालिकामा ग्लोबल स्यानिटेसन फन्डको सहयोगमा समाज उत्थान युवा केन्द्र, नेपाल रेडक्रस सोसाइटी र एसएनभी

नेपालको सहयोगमा जनचेतना अभियान नेपाल गैरसरकारी संस्थाको सहजीकरणमा घरघरमा शौचालय निर्माण अभियान सञ्चालन गरिएको थियो ।


जिल्ला खानेपानी सरसफाइ तथा स्वस्थ्य समन्वय समिति अन्तर्गत नगर र गाउँस्तरीय सञ्जालमार्फत् विद्यालय, स्वास्थ्य संस्था, वडा, स्वास्थ्य स्वयंसेविका, शिक्षक, कर्मचारी, बुद्धिजीवी, सहजकर्ता, सरेकारवाला सबैको सक्रियतामा नगरलाई खुला दिसामुक्त घोषणा गर्न सफल भएको अधिकृत यादवले बताए ।

प्रकाशित : भाद्र २४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?