१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घर–जग्गाको लगत संकलन

शंकर आचार्य

पर्सा — व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज–पथलैया सडक कार्यालयले वीरगन्ज–पथलैया सडकको दुवैतर्फ घर र जग्गाको लगत लिन सुरु गरेको छ । 

वीरगन्ज महानगरको मुख्य सडक विस्तारको जिम्मेवारी पाएको यो कार्यालयले जिल्ला प्रशासन पर्सा, सम्बन्धित वडा कार्यालय तथा वीरगन्ज महानगरपालिकाको कार्यालयसँग समेत समन्वय गरिरहेको कार्यालयका सूचना अधिकृत इन्जिनियर अशोक यादवले बताए । यस काममा नापी र मालपोत कार्यालयको पनि सहयोग लिइनेछ । त्रिभुवन राजपथको दायाँबाट रहेका घरको लागत संकलन भएपछि मार्किङ गरिनेछ ।


यसअघि कार्यालयले छठ पर्वसम्म राजपथको दायाँबायाँ आफ्ना घरटहरा लगायतका संरचना हटाउन सार्वजनिक सूचना जारी गरिसकेको छ । यादवले छठ पर्वसम्म सम्बन्धित घर जग्गा धनीले सडकको २५ मिटर दायाँबायाँ आफ्ना संरचना नहटाएपछि कार्यालय आफैले छठपर्वको भोलिपल्टदेखि त्यस्ता संरचना भत्काउन थाल्ने बताए ।


बाराको जितपुर र परवानीपुर बजारमा सडक बिस्तार गरिएकै शैलीमा वीरगन्जमा पनि सडक बिस्तार गरिने इन्जिनियर यादवले बताए । त्यहाँ स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा सर्वोच्चले सडक छेउका घर धनीको घरको लागत खडा गरेर निर्माणलाई जारी राख्ने आदेश दिएपछि सडक बिस्तारको काम निरन्तर चलेको उनले बताए । भविष्यमा सर्वोच्चले घरको हकमा क्षतिपुर्ति दिने आदेश पनि दिनसक्ने भएकाले यसरी लगत राख्नु उचित भएको उनले बताए ।


वीरगन्ज–पथलैया व्यापारिक मार्ग तथा परवानीपुर गण्डक सडक निर्माणको क्रममा राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर सडक यसअघि नै बिस्तार भइसकेको छ । हाल त्यस सडक खण्डमा क्रमश ः ६ तथा ४ लेन सडक निर्माणाधीन छन् ।


हाल, आर्थिक नियमावलीमा भएको परिवर्तनअनुसार कुनै पनि ठेक्का लगाउनुअघि साइटको अवरोध हटाएर मात्र ठेक्का लगाउनुपर्ने हुन्छ । त्यस कारण वीरगन्जको हकमा पनि सडकको दुवैतर्फका २५/२५ मिटरमा पर्ने घर भत्काएर मात्र सडक बिस्तारको ठेक्का लगाइनेछ ।


यसअघि सडक विभागबाट खटिएका कर्मचारीले करिब डेढ महिनाअघि वीरगन्ज महानगरको मुख्य सडकको दायाँबायाँ चिह्न लगाएका थिए । त्यति बेला कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका दुई राजमार्गको दायाँबायाँ सडक २५/२५ मिटर बिस्तार गर्ने १५ दिने सूचना यसअघि प्रकाशित गरेको थियो । त्यसअनुरूप वीरगन्जमा पर्ने त्रिभुवन राजपथको गण्डकदेखि वीरगन्ज भन्सारसम्मको राजमार्गको दुवैतर्फ चिह्न लगाएको थियो ।


५ वर्षअघि सडक बिस्तारको चर्चा चलेसँगै घरधनीहरूले सडक बिस्तार रोक्न संघर्ष समेत गरेका थिए । हाल पनि घरधनीले संघर्ष समिति गठन गरेका छन् । वीरगन्ज महानगरपालिकाको नगरसभाले गत वर्ष महानगरको मुख्य सडक १५/१५ मिटर बिस्तारका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले यस अघि नै कुनै पनि हालतमा सडक विभागको सूचना र आदेश कार्यान्वयन नगरिने बताइसकेका छन् ।


कांग्रेस पर्साले पनि महानगरको मुख्य बजार क्षेत्रमा सडक बिस्तारको योजना स्वीकार्य नहुने र आवश्यक परे बजारका घर तथा जग्गा धनीहरूसँग संघर्ष गर्न तयार रहेको घोषणा गरिसकेको छ । मुख्य सडक बाहेकका अन्य महानगरबासीमध्ये अधिकांश सडक बिस्तारको पक्षमा रहँदै आएका छन् ।


त्रिभुवन राजपथ पथलैया, सिमरा, जितपुर, परवानीपुर हुँदै गण्डक, पावरहाउस चोक भएर महानगरभित्र प्रवेश गर्छ । हाल महानगरको मुख्य सडकका रूपमा प्रयोग हुँदै आएको यो राजपथ घण्टाघर, माइस्थान चोक, आदर्शनगर चोक, अलखिया चोक, छपकैया हुँदै रक्सौल सीमामा पुगेर अन्त्य भएको छ ।


पावरहाउस चोकदेखि घण्टाघरसम्म त्रिभुवन राजपथको समानान्तर पश्चिमतर्फ महानगरपालिकाको कार्यालय अर्को २ लेन सडक निर्माण गरेको छ । तर घण्टाघरदेखि दक्षिणतर्फ त्रिभुवन राजपथ भने अझै पनि २ लेनमै सीमित छ ।

प्रकाशित : भाद्र २४, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?